बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको ‘काष्ठमण्डप’ मन्दिरको नामबाटै काठमाडौंको न्वारान गरिएको हो।
लक्ष्मीनरसिंह राजा प्रताप मल्लका पिता हुन्।
बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिइ एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेका थिए।
कल्पतरुले सालको एक रुख दिएपछि यसैकाे काठ प्रयोग गरी मूर्तिविहीन मरुसतः बनाइएकाे बताइने गरिन्छ।
पछि यसैलाई काष्ठमण्डपको रुपमा चिनन थालेको हो। मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो।
केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोज अनुसार यो सातौँ शताब्दीको भएको इतिहासकारले बताएका छन्।
तर, ऐतिहासिक दस्तावेजमा भने काष्ठमण्डपको जीर्णोद्धार लक्ष्मीनरसिंहले गर्नुभन्दा करिब ६ सय वर्षअघि निर्माण गरिसकेको उल्लेख छ।
उक्त दस्ताबेजलाई आधार मन्ने हो भने काष्ठमण्डप हजारदेखि १२ सय वर्षको लामो इतिहास बोकेको छ।
सातौं सताब्दी इतिहास बोकेको काष्ठमण्डपलाई ७२ बैशाख १२ को बिनाशकारी भूकम्पले ध्वस्त पारेको थियो।
भूकम्पले इतिहास नै मेटिनेगरी ध्वस्त बनाएपछि काष्ठमण्डपलाई पुरानै शैलीमा पुनर्निर्माण गरिदैछ।
१९ करोड ८८ लाखमा बन्न लागेको मन्दिरको ७५ प्रतिशत काम सकिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए।
बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘तीन वर्ष भित्र निमार्ण कार्य सम्पन्न गर्ने गरि महानगरले हामीलाई जिम्मा दिएको हो। अहिलेसम्म ७५ प्रतिशत काम सकियो, अरु बाँकी काम पनि समयमै सकिन्छ।’
उनका अनुसार कोरोना भाइरसका कारण एक महिना काम रोकिएपछि पुन: सामाजिक दुरी कायम गरी काम थालिएको छ।
अहिले काष्ठमण्डपलाई पुरानै शैलिमा फर्काउन भत्तपुरका कालिगड लगाइएको उनले जानकारी दिए।
‘मन्दिर भत्कनुअघि जस्तो थियो अहिलेपनि त्यस्तै बन्ने छ। बर्दिया र पर्सासम्मको जंगलबाट काठ ल्याएर काष्ठमण्डपको पुनर्निर्माण गरिदैछ,’ शाक्यले भने।