दमाईहरू सेतो पहिरनमा सजिएर दमाहा, नरसिंगा लगायतका बाजा बजाउँदै थिए। खजन्ती आफ्नो बन्दोबस्तीका सामानहरू तयार पार्दै थिए। जन्तीको सम्पूर्ण व्यवस्थापन मिलाउने नाइकेलाई खजन्ती भनिन्छ अछामतिर। जन्तीलाई आवश्यक पर्ने आर्थिक लगायत सबै बन्दोबस्ती मिलाउनुपर्ने हुनाले खजन्ती अरुभन्दा अलिक बढी नै व्यस्त देखिन्थे। डोला बोक्ने टोली, दाइजो बोक्ने टोली सबै तयार थिए। जेठो छोरोको बिहे भएकोले सामान्यतया डोलामा जाने चलन भए पनि दुलाहाका लागि घोडा तयार थियो। बजाई जन्तीको तामझामका बीच दुलाहा काठमाडौंबाट साथीहरूले पठाइदिएको सेतो सर्ट र सेतै पाइन्टमा चिटिक्क सजिएको थियो। अछामतिर जन्ती दुई प्रकारको हुने गर्छ - सराउलो (सरल) र बजाई (बाजागाजा सहितको)। जन्ती अछाम साँफेबगर भन्दा एक घण्टा दक्षिण लुंग्रा भन्ने गाउँमा जाँदै थियो।
२०४३ साल फागुन ९ गते बिहेको तामझाम चलिरहँदा भरत कुँवर भर्खर आठ कक्षामा पढ्दै थिए। उमेरले पन्ध्र टेक्दै। अरु साथीसंगीहरूको दाँजोमा कुँवरको बिहे ढिलो हुँदै थियो। छोरेट्टा–छोरेट्टी उमेर समूहको अन्तिम प्रहरसम्म बिहे नहुनु अछामको समाजमा ढिलै मानिन्थ्यो उतिखेर। छोरेट्टा–छोरेट्टी अर्थात् धुलो माटोसँग खेल्ने दिन सकिएको उमेर (१०–१५ बीच)। बिहे हुने केटी कुँवर भन्दा तीन वर्ष कान्छी थिइन्, बाह्र वर्षकी। भरत कुँवर र भगवतीको बिहे हुँदै थियो। तात्कालीन सामाजिक रितका हिसाबले कुँवरको बिहे ढिलो भइरहेको थियो। अछामको सामाजिक रित त्यस्तै थियो। पन्ध्र वर्षभित्र छोरा होस् वा छोरी सामाजिक कर्म सक्काउनु पर्छ भन्ने सोच हुन्थ्यो। परम्परागत र पुरातन सामाजिक संरचनाले छोरीलाई छाउ बस्नुअघि नै अन्माउनु पर्छ भन्ने संस्कार बोकेको थियो। यसो गर्दा धर्म हुन्छ भन्ने विश्वास।