नेपालमा दशैंलाई अन्नको पर्व, मातृ शक्तिको सम्मान, उत्पादन र सुरक्षाका साधनहरुको व्यवस्थापन तथा रामायणका मुख्य पात्र श्रीरामको विजय गाथासँग सम्बन्धित बनाएर हरेक वर्ष आश्विन शुक्ल पक्ष दशमी तिथिमा धुमधामसँग मनाइन्छ । नेपालका राजाहरूले हिन्दु धर्मलाई राज धर्म बनाएका र तदनुरुप दशैंंलाई हिन्दु पर्वका रुपमा मनाउन थालेका हुनाले यसलाई इतर धर्मावलम्बीहरुले विरोध गर्ने चलन पनि भएको पाइन्छ ।
उपरोक्त सवै पक्षको विश्लेषण गरेर यसको ऐतिहासिकता पत्ता लगाउनु पर्ने देखिन्छ । वास्तवमा नेपाली इतिहासविद्हरुका निम्ति यो धेरै महत्त्वपूर्ण अभिभारा हो । तर यतातिर उनीहरुको ध्यान जान सकेको देखिन्न । यो दशैं पर्वमा धेरै सन्दर्भहरू जोडिएको देखिन्छ । ती सबैका छुट्टाछुट्टै उद्गम र विकासको इतिहास रहेको देखिन्छ । सबै पक्ष महत्त्वपूर्ण देखिएपनि यसमा सबभन्दा महत्त्वपूर्ण मैले अन्न पूजालाई ठानेको छु । त्यसपछि हातहतियार र दुर्गा पूजा महत्त्वपूर्ण देखिन्छ । रामायण र रामको गाथामा हिन्दु धर्मालम्वीहरुको जतिसुकै भावना जोड्ने कोशिस गरिए पनि त्यसको ऐतिहासिकता पुष्टि हुन आजसम्म पनि सकेको छैन ।
आर्य र हिन्दुलाई एउटै ठान्ने कतिपय व्यक्तिहरु पाइन्छन् । आर्य अहिले मानव जातिभित्रको एक मुख्य महा जाति हो । यो जाति अहिले संसारभरि फैलिएको छ । यसको नाम पहिले काशी अनि खासी र खस हुँदै भारतीय उप महाद्वीपमा प्रवेश गरेपछि आर्य नामाकरण भएको मानिन्छ । सिन्ध घाँटीमा बसोबास गर्ने आर्य समूदायलाई सिन्धु भनिन्थ्यो । इरानी भाषामा ‘स’ को उच्चारण नभएको हुनाले त्यहाँका मानिसहरुले सिन्धुलाई हिन्दु नामाकरण गरे । कालान्तरमा सबैले हिन्दु नै भन्न थाले । खासगरी सिन्धु नदी पार गरि पूर्वमा बसोवास गर्ने सबै आर्यहरु हिन्दु भए । इशाको सातौँ शताब्दीमा आद्य शंकराचार्यले सनातन धर्मको नाम परिवर्तन गराई हिन्दु धर्म नामाकरण गराए । घुमन्ते खस जाती इशापूर्व दुई शताब्दी पहिले कृषि उत्पादनमा प्रवेश गरेपछि आर्य नामाकरण भएको मानिन्छ । आर्य संस्कृत शब्द हो । यसको अर्थ हो, हलो जोतेर कृषि उत्पादन गर्ने सम्मानित व्यक्ति । पछि उनीहरुले आर्य शब्दको परिभाषा सर्वश्रेष्ठ भन्ने गरे ।