सहप्राध्यापक डा. दुर्गाबहादुर घर्ती त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्नु हुन्छ । वीरेन्द्रनगर सुर्खेतमा जन्मिएका घर्तीले ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ शीर्षकमा २०६० सालमा विद्यावारिधि गरेका हुन् । विशेषगरी समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका उनका ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ २०६६, विजय मल्लका उपन्यास सन्दर्भ र विमर्श २०६७, साहित्य पठनका विविध आयाम २०६८ पुस्तकाकार कृतिहरू हुन् । गरिमा, समकालीन साहित्य, प्रज्ञा, वाङमय लगायत पत्रपत्रिकामा थुप्रै समालोचनात्मक लेखहरु प्रकाशित छन् । विजय मल्ल स्मृति ग्रन्थ लगायतका कृति सम्पादन पनि गरेका छन् । नेपाली साहित्यमा मनोविज्ञानबारे समालोचक दुर्गाबहादुर घर्तीसँग रातोपाटी संवाददाताले गरेको कुराकानीको सार सङ्क्षेप ।
–साहित्यमा मनोविज्ञान भनेको के रहेछ ? बुझिने भाषामा बताइदिनुस न ?
मनोविज्ञान भनेको मान्छेका मनको अध्ययन गर्ने शास्त्र हो । साहित्यमा मनोविज्ञानका अन्य सम्प्रदायभन्दा मनोविश्लेषणको प्रभाव अधिक छ । साहित्यमा मनोविज्ञान भनेको साहित्यिक कृतिका आधारमा त्यसका लेखक, पाठक र पाठभित्रका पात्रको मनोविज्ञानको अध्ययन हो । यसको मतलब साहित्यमा मनोवैज्ञानिक अध्ययन लेखककेन्द्री, पाठककेन्द्री र पाठकेन्द्री हुन्छ । लेखककेन्द्री अध्ययनमा पाठका आधारमा लेखकको मानसिकताको विश्लेषण गरिन्छ । पाठकेन्द्री अध्ययनमा पात्रका अनुभूति, चिन्न र व्यवहारका आधारमा तिनका मानसिकताको विश्लेषण गरिन्छ । पाठककेन्द्री अध्ययनमा साहित्यको अध्ययनले पाठकका मानसिकतामा के कस्तो प्रभाव पार्छ, तिनमा के कस्तो प्रतिक्रिया उत्पन्न गर्छ भन्ने कुराको विश्लेषण गरिन्छ ।