बाल्यकालमा दशैं आउनु भनेको खुशीको इन्द्रेणी आउनु जस्तै लाग्थ्यो । त्यो बेला विदेश जानु भनेको लाहुर अर्थात् भारत जानु थियो ।
भारतबाट टिनको बाकस बोकेर, नयाँ कपडा लगाएर तथा रेडियो घन्काउँदै आफन्त तथा छिमेकी आएको देख्दा लाग्थ्यो – आहा ! म पनि त्यस्तै हुन पाए त !
लाहुरबाट यो आयो, काठमाडौंबाट यो आयो, बटौली (बुटवल) बाट यो आयो .. भन्ने खबर गाउँका मुख्य खबर हुन्थे । मलाई लाहुर अर्थात् भारतबाट आएका आफन्तको घरमा गएर उनीहरूलाई सुन्ने तीब्र इच्छा लाग्थ्यो । हिन्दी र नेपाली मिसाएर भारतको वर्णन सुन्दा धेरैपटक भागेर लाहुर जाउँ कि भन्ने मनमा आइरहन्थ्यो ।
दशैंको बेला मौसम पनि अत्यन्तै सुन्दर हुन्थ्यो । आकाशमा तालचराहरू हुलहुलमा उडिरहेका हुन्थे । बुवाले भन्नुहुन्थ्यो – ती तालचरा रुसको साइबेरियाबाट जाडो छल्न यता आएका हुन् ।
दशैं संघारमा आउने बेलामा गाउँमा बाटो खन्ने चलन थियो । मलाई बाटो खन्न निकै रहर लाग्थ्यो । कोदालो बोकेर म मान्यजनसँग बाटो खन्न जान्थें । बाटोमा खाल्डा पुर्ने, ढुंगा मिलाउने तथा छेउकुना मिलाउने काम हुन्थ्यो । बाटो खन्ने दिन र समयको जानकारी अघिल्लो दिन कटालेले हाक हालेर थाहा हुन्थ्यो – साहेब हो, भोलि बिहान १० बजे बाटो खन्न सबै जना कलापोख्रा जम्मा हुनुहोस् साहेब हो !