भूकम्पको पाँच वर्षपछि मौलिक स्वरूपमा तयार भएकाे ऐतिहासिक रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले विशेष कार्यक्रमकाबिच रानीपोखरीको उद्घाटन गरेकी हुन्।
२०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीको शिलान्यासबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन्। लामो समयको अलमल र विवादपछि रानीपोखरीलाई प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण गरिएको छ।
बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ। त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो।
पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ। मुख्य गजुर १२३ किलोग्राम तौलको तामाले बनेको हो। गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ।
सो ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले महानगरपालिकामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन। अन्ततः पुनर्निर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।
प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रका नाममा यो पोखरी बनाएका हुन्। पोखरीको निर्माण करिब पाँच वर्षभित्र अर्थात् नेपाल सम्वत् ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो। नेपाल सम्वत् ७९० (विसं १७२७/इसं १६७०) मा शिलापत्र राखिएको थियो।
पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन्। प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ। उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ।