पाकिस्तानमा विपक्षीविरूद्ध इमरान सरकार आक्रामक, मरियमको श्रीमान पक्राउ

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानमा विपक्षी दलविरूद्ध सरकार कडा भएको छ। पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजको श्रीमान क्याप्टेन सफदर अवानलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। 

मरियमले आइतबार सरकार विरोधी र्‍यालीमा भाषण गरेकी थिइन। यसको केही घण्टापछि नै उनको श्रीमान होटलबाट पक्राउ परेका हुन्। 

उनले सोमबार ट्वीट गर्दै भनिन्, ‘हामी कराचीको जुन होटलमा बसेका थियौं, पुलिसले ढोका फोडेर लिएर गयो।’

मरियम नवाजले पछिल्लो समय सरकार र सेनाविरूद्ध लगातार बोलिरहेकी छिन्। उनी आइतबार कराचीमा ११ पार्टीले आयोजना गरेको पब्लिक डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को र्‍यालीमा समावेश भएकी थिइन। 

मरियम, उनको श्रीमान तथा पार्टीका दुई सय कार्यकर्ताविरूद्ध सरकारी प्रतिनिधिले कराचीको ब्रिगेड पुलिस स्टेशनमा उजुरी दर्ता गराएका थिए। 

उनीहरूविरूद्ध जिन्नाको मजारको पवित्रताविरूद्ध काम गरेको आरोप छ। अवान पक्राउ पर्नुको कारण यही उजुरी हुन सक्ने बताइएको छ। तर, उनको पक्राउ किन भयो, हालसम्म स्पष्ट भएको छैन। 

मरियमका श्रीमान सेवानिवृत्त क्याप्टेन हुन्। उनले मजारबाट फर्किने क्रममा ‘भोटको इज्जत गर’ भन्ने नारा लगाएका थिए। उनले मानिसलाई आफूसँग जोडिन अपील गरेका थिए। उनको बयानलाई लिएर विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले आलोचना गरेका थिए।
 

प्रकाशित मिति: : 2020-10-19 14:30:00

प्रतिकृया दिनुहोस्