नेकपाका सांसदद्वय जनार्दन शर्मा र भीम रावलले कोरोना भाइरसको महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता कट्टा गर्न आग्रह गरेका छन्।
उनीहरुले ट्वीटरमार्फत यस्ताे आग्रह गरेका हुन्।
सांसद शर्माले उक्त रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन्।
शर्माले ट्विटरमा लेखेका छन्, 'कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं।'
उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्नेजानकारी दिएका छन्।
उनले लेखेका छन्, 'दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।'
यसअघि नेकपाका नेता भीम रावलले पनि आफूले प्राप्त गरेको दसैं भत्ता वापतको रकम फिर्ता गर्ने घोषणा गरिसकेका छन्।
ट्वीटरमार्फत् उनले संसद सचिवालयले सांसदको पारिश्रमिकका रूपमा जम्मा भएको रकमबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्नका लागि आफूले समर्थन जनाएको लेखेका छन्।
संघीय संसद सचिवालयले प्रत्येक सांसद र संसदका पदाधिकारी तथा सांसदका स्वकीय सचिवहरूलाई प्राप्त गर्दै आएको एक महिनाको पारिश्रमिक जत्तिकै रकम दसैं भत्तावापत बैंक खातामा जम्मा गरेको थियो।
उनले लेखेका छन्, 'खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्। सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।'
सांसदहरूलाई २०७६ सालदेखि दसैं भत्ताको व्यवस्था गरिएको हो। त्यसपहिला उक्त व्यवस्था थिएन। मन्त्रिपरिषद्ले निर्णय गरेर सांसदहरूलाई दसैं भत्ता दिन लागिएको हो।
साेही निर्णय अनुसार संघीय संसद सचिवालयबाट सांसदहरूले दसैं भत्तावापत एक महिनाको पारिश्रमिक बराबर रकम प्राप्त गरेका हुन्। सांसदले प्रत्येक महिना ६४ हजार ७० रुपैयाँ प्राप्त गर्छन्। प्रत्येक सांसदलाई अधिकृत सरहको सुविधा पाउनेगरी एक जना स्वकीय सचिव राख्न पाउने सुविधा छ। सांसदका स्वकीय सचिवलाई पनि दसैं भत्ता दिइएको छ।