किसानलाई फेरि धोका

नागरिक दैनिक

काठमाडाैं

गत वर्ष गरिमा जातकोधानले ठगिएका किसानलाई यसपालि पनि  धान खेतीमै धोका भएको छ। फसल दिनमा उष्कृष्ट मानिने बहुगुणी–२ धानको बीउ लगाएका किसानले सोचेजस्तो फसल भित्र्याउन पाएका छैनन्।

अरु धानभन्दा ढिला पाक्ने भनिएको बहुगुणी–२ अहिलेसम्म फसल नलागेको भन्दै किसान चिन्तित बनेका छन्। ‘यसपालि बहुगुणी–२ जातको धान खेतमा रोपेको थिएँ,’ गौरीगंगा नगरपालिका–८, लिक्माका चेतराज जोशीले भने,‘अहिलेसम्म बाला लागेन, कहीँकहीँ लागेको बालामा पनि चामलको दाना छैन।’ नगरपालिकाको कृषि शाखा र वडा कार्यालयले अनुदानमा दिएको बहुगुणी–२ धानको बीउले यसपटक धोका पाएको उनले गुनासो पोखे। ‘यसपालि धानबाट धोका पाइयो,’ उनले भने,‘राम्रै फल्छ भनेर वडा कार्यालयले अनुदानमा बीऊ दियो, समयमै व्याड पनि राखेँ र समयमै रोपेँ पनि, तर फल्दै फलेन।’  

उनीजस्तै गौरीगंगा–९, शंकरपुरकी निर्मला पाध्यायले बहुगुणी–२ बाट धोका पाएको बताइन्। ‘साढे १२ कट्ठा जमिनमा बहुगुणी रोपेकी थिएँ,’ उनले भनिन्,‘धान त फल्यो, तर गेडा नै लागेन।’ यसपालि उत्पादनमा ३५ प्रतिशतले ह्रास आएको उनले बताइन्। ‘गाउँमा अधिकांशको बहुगुणी–२ ले फसल कम दिएको बताउँदै उनले थपिन्,‘राम्रै फल्छ भनेर बहुगुणी लगाए पनि यसपालि पनि धोका पाइयो।’ शंकरपुरकै भानबहादुर ठगुन्नाको दुई बिघा जमिनमा लगाएको बहुगुणी–२ ले अहिलेसम्म फसल दिएको छैन। ‘दुई बिघा जमिनमा बहुगुणी–२ रोपेको थिएँ, त्यसमध्ये पाँच कट्ठामा भने केही फल्यो, बाँकी गेडा नलागेरै धान सुकिसक्यो।’  

प्रकाशित मिति: : 2020-10-18 12:35:00

प्रतिकृया दिनुहोस्