६० दिनको म्याद दिएर निक्षेप लिन बोलाएको ओरेयण्टलले झुक्यायो

रातोपाटी

काठमाडाैं

गत साउन १६ गते निक्षेप डुबेकालाई रकम फिर्ता लिनका लागि दाबी गर्न ओरेयण्टल सहकारीका सञ्चालक सुधीर बस्नेतको नाममा एक सूचना जारी भयो । सूचनामा रकम फिर्ता लिनका लागि दावी पेश गर्न साउन २९ देखि लागू हुनेगरी ६० दिनको समय दिइएको थियो । 

तर, निक्षेप फिर्ता दिनका लागि न उसले कुनै सम्पर्क कार्यालयको ठेगाना दियो न त नम्बर नै । बरु एउटा वेभसाइट खडा गरेर अनलाइन मार्फत दाबी गर्न भन्यो । कतिपय निक्षेपकर्ता अनलाइनमार्फत निक्षेप दाबी गर्न नसक्ने अवस्थाका थिए । केहीले दाबी गरेपनि त्यहाँबाट फिर्ता लिन बोलावट आएन । 

२०७४ सालमा ‘समस्याग्रस्त’ सहकारी भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारीलाई आफ्नो निगरानीमा राखेको थियो । तर, आजैको मिति (असोज २५) देखि ओरेयण्टल सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निगरानी स्थगित गरेको छ । समितिले एक सूचना जारी गर्दै ओयिरयन्टल सहकारीको कामकारबाही अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

समितिका अध्यक्ष कुमार पोखरेलका अनुसार ओरेयण्टलको सम्पति भन्दा दायित्व बढी छ । उसको दायित्व १६ अर्ब १ करोड ४५ लाख छ तर समितिले रोक्का राखेको उसको सम्पत्ति करिब ५ करोड रहेको  मूल्याङ्कन छ ।

प्रकाशित मिति: : 2020-10-11 10:03:00

प्रतिकृया दिनुहोस्