भीमफेदी–कुलेखानीमा १८ अर्बको ‘पोष्टबहादुर बोगटी सुरुङमार्ग’ बन्दै

अनलाइनखबर

काठमाडाैं

२२ भदौ, काठमाडौं । बाग्मती प्रदेश सरकार भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउन कस्सिएको छ । यो सुरुङमार्गको नाम माओवादी नेताको सम्झनामा ‘पोस्टबहादुर बोगटी सुरुङ मार्ग’ राखिएको छ ।

मध्यपहाडी लोकमार्ग (मदन भण्डारी राजमार्ग) अन्तर्गत बनाउन लागिएको यो सुरुङमार्गका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्ने प्रक्रिया अघि बढेको छ । 

प्रदेश सरकारले यो आयोजनाका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्न लागेको छ । यसका लागि १२ वटा अन्तर्राष्ट्रिय परामर्शदाताले आशयपत्र पेश गरेको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल बताउँछन् ।

अब ६ वटा कम्पनीलाई सर्ट लिस्टमा राखेर परामर्शदाता छनोटका लागि आर्थिक प्रस्ताव माग्ने योजना छ । फुयाँलका अनुसार यो सुरुङमार्ग बनाउन प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा कार्यदल पनि बनाएको छ । यो आयोजनामा संघीय सरकारले सहलगानी गर्ने भनिएको छ ।

सुरुङमार्ग बनाउन र चलाउन प्राविधिक, आर्थिक र कानुनी पक्षको अध्ययन गरी प्रतिवेदन तयार गर्न सो कार्यदललाई भनिएको छ । भदौ ९ मा गठन भएको ६ सदस्यीय कार्यदलले प्रतिवेदन दिन भने बाँकी छ । ‘सुरुङमार्गका बारेमा उठेका कानूनी प्रश्नको निरुपण गर्ने गरी सो कार्यदलले सुझाव दिन्छ, त्यसैअनुसार हामी अघि बढ्छौं,’ मन्त्री फुयाँलले भने ।

प्रकाशित मिति: : 2020-10-08 14:13:01

प्रतिकृया दिनुहोस्