कोरोनाले गाँस खोजेका मजदूर
टाङकी संगीता राई ललितपुरको महालक्ष्मीस्थान चोकमा बिहान ८ बजे आइपुग्छिन् ।
सबेरै उठेर खाना पकाएर छोराछोरीलाई खुवाएपछि महालक्ष्मीस्थान चोकमा आएर कुर्ने उनको दैनिकी हो ।
उनी चोकमा काम पाइने आशमा आउँछिन् । दैनिक चोकमा २ देखि ३ सय जना जम्मा हुन्छन्, उनी पनि त्यही भीडमा मिसिन्छिन् । बिहान ८ बजेदेखि १० बजेसम्म बस्छिन् ।
कोही ठेकदार वा साहु आएको खण्डमा काम पाउँछिन्, होइन भने निराश भएर फर्किनुको विकल्प छैन ।
उनी दैनिक ज्यालादारीमा घरमा रङ लगाउने बालुवा/इँट्टा बोक्ने काम गरेर जीवन चलाउँदै आएकी छन् ।
खोटाङबाट ४ वर्ष अगाडि काठमाडौं आएकी संगीताको चोकमा आएर काम खोज्नु र ज्याला गरेर पेट पाल्नु दैनिकी नै हो ।
काम पाएको खण्डमा एक दिनमा ७ सय रुपैयाँ कमाउँछिन् । हप्ता दिनसम्म काम नपाएको खण्डमा ७ सय रुपैयाँले हप्ताभर टार्नुपर्छ ।
कहिलेकाहीँ महिना दिनसम्म पनि काम पाइन्छ त्यो बेलामा उनी ढुक्क हुन्छिन् । खाना खाएर महिनामा २१ हजार रुपैयाँ कमाउँछिन्, त्यसैले घरभाडा तिर्छिन् ।
छोराछोरीको स्कूलको शुल्क तिर्छिन् । कमाइ नहुने महिनामा भने सापटी लिएर चलाउनुपर्छ ।
कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै सरकारले गरेको बन्दाबन्दी यता उनी ऋणमा छिन् ।
पहिलो ३ महिना त कामै चलेन ऋण लिएर छोराछोरीको भोको पेट भरिन् ।
‘लकडाउनको ३ महिना ऋण लिएर चलाएँ, पेट पाल्नै पर्यो,’ संगीताले लोकान्तरसँग भनिन्, ‘त्यसपछि अलिअलि काम पाएँ, तर खान मात्रै ठिक्क भो ऋण तिर्न सकेको छैन ।’
अहिले महिनामा सरदर १२/१४ दिन काम पाउँछिन्, तर त्यसले खान त पुग्छ, कोठाभाडा तिर्न र लत्ताकपडा किन्न भने पुग्दैन ।
दशैं आउन लागेको छ तर उनीसँग गोजीमा सय रुपैयाँ पनि छैन । दशैंका लागि केही कमाउन सकिन्छ कि भनेर चोकमा भौँतारिँदै छिन्, उनी ।