काठमाडौं। कोभिड–१९ को महामारीले सिर्जना गरेको विषम् परिस्थितिमा अध्ययन अध्यापन नियमित गराउनका लागि अपनाइएको अनलाइन कक्षाबाट विद्यार्थी र ‘वर्क फ्रम होम’मा संलग्न अन्य पेसाका व्यक्तिहरूलाई आँखासम्बन्धी प्रभावहरू बढ्दै गएको देखिन्छ। अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले मान्यता दिइसकेको अवस्थामा धेरैजसो विद्यालयहरूले अनलाइन कक्षालाई अझ सशक्त रूपमा अगाडि बढाइरहेका छन्।
दिनमा चारदेखि ६ घण्टाको अनलाइन कक्षा, त्यसपछिको दुईदेखि तीन घण्टाको अनलाइन गृहकार्य तथा नोट बनाउने, केही घण्टा मोबाइल, टीभी, ल्यापटपजस्ता विद्युतीय उपकरणहरूको प्रयोग गरी औसतमा विद्यार्थीहरूले प्रत्येक दिन आठदेखि १० घण्टा डिजीटल स्क्रिन हेरेर बिताउने गरेका छन्। यसरी लामो समयसम्म स्क्रिनमा हेरिरहँदा आँखामा विभिन्न प्रकारका तत्काल तथा दीर्घकालीन समस्या देखिन सक्दछन्।
आँखामा पर्ने तत्कालका असरहरूमध्ये आँखा पोल्ने, बिझाउने, आँसु बग्ने र हेर्न कठिनाइ हुने मुख्य हुन्। त्यसैगरी एकनास रूपमा हेरिरहँदा आँखा नझिम्काउने कार्य सामान्य अवस्थामाभन्दा न्यून हुन गई आँखा सुख्खा हुने, खार्ने तथा भारी महसुस हुने हुन्छ। यस्ता स्क्रिनहरूबाट आउने विकिरणले गर्दा निन्द्रामा गडबडी हुन सक्ने तथ्य पनि विभिन्न खोज अनुसन्धानले देखाइसकेको छ।
विकिरणबाट बच्न बजारमा विभिन्न किसिमका चश्माहरू पाइन्छ। तर ती चश्माहरू विद्यालय उमेर (तीनदेखि १२ वर्ष)का बालबालिकाहरूका लागि उपयोगिता तथा प्रभावकारिता भने अझै अनुत्तरित रहेको छ। अतः यस्ता विद्युतीय उपकरणमा धेरै नजिक गएर (२० सेन्टिमिटरभन्दा कम दूरी) लामो समयसम्म (तीनदेखि ६ घण्टा) पढ्दा विद्यालय उमेरका बालबालिकामा दीर्घकालीन रूपमा अदूर दृष्टिदोषको समस्या बढ्दै गएको देखिन्छ।
विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वका आधा जनसंख्यामा अदूर दृष्टिदोषको प्रक्षेपण गरेको भए पनि अत्यधिक डिजीटल स्क्रिनको प्रयोगबाट यसको व्यापकता अझै चाँडो देखिन सक्दछ। यसको समाधानका लागि अब अनलाइन कक्षा नलिने होइन, अनलाइन कक्षालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न जरूरी भएको छ।