आफ्नो गाउँ नजिकैको अत्तरिया बजारमा जग्गी मजदुरी खोज्दै घरि यता घरी उता बजारका गल्ली गल्ली महल बाहिर, कम्पाउण्ड गेट बाहिर उभिएर मालिक काम छ कि भनी सोध्धै थियो। कोराना कहरका कारण देश दुनियाँ ठप्प थियो। जग्गीलाई काम दिनु त परको कुरा उसका कुरासम्म पनि सुन्न तयार थिएनन् मान्छेहरू। बरू महलको बार्दली र कौसीबाटै कोराना भाइरस स्वयं जग्गी नै हो जसरी बजारका शाहु महाजन नानाथरी कुरा सुनाउँदै थिए। र,ऊ उभिएको सार्वजनिक बाटोबाट पनि उसलाई छिटो गैहाल भन्न थालेका थिए। जग्गी रहरले मजदूरी खोज्न हिँडेको थिएन। कोराना कहरले देश लकडाउनमा थियो। जग्गी बाध्यताले ज्यान हत्केलामा राखेर कामको खोजिमा निस्किएको थियो। उसका लालाबाला र जाहन मजदुरीकै भरमा बाँचेका थिए।
जो होचो उसैलाई घोचो भनेझैं कोरोना राहत बाफत पाएको कुहिएको चामल र दाल खाएर घरमा दुई जीउकी जाहन र साना लालाबाला पनि पखाला लागेर सिकिस्त थिए। घरमा खानलाई रासनपानी केही थिएन। कोरानालाई सराप्दै आफ्नो घरको अवस्था सम्झदै जग्गी मनमनै अनेकौं पुराना कुरा सम्झिन थाल्यो।
सुकुमबासी कर्मकाण्डी बाहुनको मुलेछोरो जग्गी देशमा राजनैतिक संक्रमण भएका बखत जन्मिएको र ऊ एक वर्षको हुँदा उसका बाबालाई संस्कृत शिक्षाका विरोधीहरूले देशमा राजनीतिक रूपान्तरण ल्याउन कथित परम्परावादी सामन्तवादको अवशेषको संज्ञा दिएर मारिदिएका थिए। पतिको घटना सुन्ने बितिकै पीडा सहन नसकि जग्गीकि आमाले मूर्छित भई प्राण त्याग गरेकी थिइन्।
गाउँकै भलमान्सा बाजेले खोलेको अनाथालयमा जग्गीलाई गाउँलेले राखिदिन्छन। रात गई बात गई भनेझैं दुईचार वर्ष जान समय लागेन जग्गी १० वर्षको हुँदा एक दिन अनाथालयमा वर्ग संघर्षको अन्त्य गर्ने अभियानका बर्दिधारी लडाकू आई जग्गीलाई र उसका केही १० देखि १५ वर्षका लगभग पाँच सात केटाहरूलाई आफ्नै सैन्यदस्तामा लैजान्छन्। जग्गी दिन प्रतिदिन राजनीतिमा अभ्यस्त हुँदै जान्छ। जिन्दावाद र मुर्दावादको नारा लगाउने आफ्नो कमान्डरको निर्देशन पालन गर्ने माहान क्रन्तिकारी भैसकेको हुन्छ। समय चक्र अनुसार जग्गी युवा हुन्छ उसमा बैंसले डेरा जमाउँछ।
ऊ आफ्नै पार्टिको कार्यकर्ता नीरु बि.कसँग अन्तरजातीय विवाह गर्छ। उसलाई साथी भाइबाट बधाई आउँछ। जीवनको गोरेटोमा आनन्दको महशुस गर्न थाल्छ ऊ। विवाह भएकै वर्ष एक दिन फौजी कारबाहीको झडपमा परी नीरुको एक हात सदाका लागि अस्ताउँछ। सोही वर्ष सरकार र जग्गी सम्मिलित पार्टीको सम्झौता हुन्छ। देश ल्याङम्याङ ल्याङम्याङ गर्दै अघि बड्छ।
जग्गी पनि आफ्नो गाउँमा आफ्नी श्रीमती लिएर आउँछ। भत्किएको घर र सानो बारी पार्टीले दिएको पैसाले स्याहार्छ। नयाँ बिहान आउँछ, पुनः साँझ पर्छ। समय चक्र न हो आफ्नो गतिमा चलि नै रहन्छ। जग्गीसँग भएको पैसा रासनपानीमा सक्किदै जान्छ।
देशमा राजनीतिक परिवर्तनका साथै जग्गीले गरिब मजदुरको रक्षा गर्ने, बर्गबिहिन समाजको निर्माण गर्ने भन्ने गरेको पार्टीले चलाएको बहुमतको सरकार बन्छ। सरकार बनेपछी जग्गी र जग्गीकि श्रीमती नीरु जस्ता इमानदार र सक्रिय कार्यकर्ताको जिम्मेबारी बिस्तारै शून्य हुँदै जान्छ। सुकिला मुकिला र टाठा बाठाका दिन आउँछन्। एकदिन जग्गी र नीरूले आफ्नै सहयोद्धा साथी जो सरकारको नेतृत्वमा छ उसलाई भेट्ने सोच बनाउँछन्। सिंहदरबारको गेटभित्र छिर्न पहिलो कुरा प्रवेश पास चाहिन्थ्यो। प्रवेश पास पाएपछि पनि नागरिकता देखाएर घण्टौं कुर्नु पर्ने छदै थियो।
अपसोच जग्गीसँग नागरिकता नहुँदा केके सोचेर उभिरह्यो गेटको एक कुनामा। मुस्किलले भेट पाएकी नीरु खिन्न अनुहार लिएर आइपुगिन केही समयपछि। दुबैले एकअर्काको अनुहार हेरे। एकले अर्काको आँखामा भाव पढे। बिस्तारै हिँडे सडक किनारतिर। मानौ भेट्नु पर्नेलाई भेटिसकेर कतै टाढाको यात्रामा निस्किदैछन् उनीहरु।
बिचरा जग्गी कथा र व्याथा संगालेको व्यबस्था बदल्ने अभियानको साक्षी स्वयं नागरिकता बनाएको छैन। अडोष पडोषले नमिचिदिएको नासो सानो घर र सानो करेसाबारीमा नयाँ सपना सजाएको जग्गी आफ्नै गाउँपालिकाबाट नागरिकता लिन घरि यता घरी उता नेताको चाकरी गरिरहेको छ। संगैका साथीभाइले नचिन्ने जस्तो गर्ने अवस्थामा निर्जीव व्यवस्थाले चिन्ने झन कुरै आएन। जग्गी आजभोलि जाहान ,लालाबाला र आफ्नो पेट पाल्न मजदुरी गर्छ।
तर कदापि थाकेको छैन ऊ। डराएको पनि छैन कुनै समस्या,समय र संघर्षसँग। मात्र पछुताउछ कहिलेकाही मान्छे चिन्न नसकेकोमा। साथीभाइ बद्लिए, ब्यबस्था बदलियो तर बद्लिएनन् गरिबका दिनहरु। धर्ती आकाश रहेसम्म, शास छन्जेल आश भनेझैं जग्गी कोराना कहरभित्र पनि जीवन जिउन गतिशील हुँदैछ। देशजस्तै सुन्दर र निस्वार्थ मन भएका युवा खोजिरहेको छ। तिनकै आँखाको नानी भित्र देश खोजिरहेको छ। हिम्मत हारेको छैन उसले। दैवले दिएको चोट सम्झेर चित्त बुझाउछ घरिघरि। आफ्ना लालाबालामा नयाँ जीवन र देश खोज्दै छ ऊ। रत, भनिरहन्छ –पुराना त म्याद गुर्जेका ओखती जसा भैसके । ती निर्लज्ज रुग्ण अनि किरपणी माइसको छैन क्यै पन भर। तिनले बेइमानी गरे। भ्रम सिर्जना गरे। अब मात्तर सुन्न चाहन्छु युवा पिढीको छातीभित्र देशको मुटु चल्याको। इमानदारिता र स्वाभिमानको ध्वनि गुञ्जिरह्याको।