चिया फरक कसले बनायो भन्ने मात्र हो। कति कडा र कति फिक्का बनाउने भन्ने कुरा चिया बनाउने मानिसमै भरपर्छ। तर जब म सधैं झै लेख्न बस्छु मेरो सामू कपमा शान्त भएर मेरो साक्षी बनेर बसिदिन्छ चिया। म चुस्की लगाउँछु र कपमा तरंग पैदा भईदिन्छ। चियाको चुस्कीले मेरो मन र शरीरमा तरंग पैदा गरिदिन्छ र म कलम चलाउन सुरू गर्छु।
अमिलोले कुँडिएको दाँत जस्तै सम्बन्धले कुँडिएको मनलाई पनि यहीँ कप र चियाले मेरो कलममा पनि तरंग ल्याएको अनुभूति हुन्छ मलाई। फेरि पिउन मन लाग्यो एक कप चिया। ल्यापटप खोलेँ, माउस चेक गरेँ, सबै ठिक थियो। ‘सुन्दर दाइ एक कप चिया बनाईदिनु न प्लीज’ म चिच्याएँ। ‘हस् नानी हस्’ सुन्दर दाइको मधुर स्वर सुनियो।
माथि तल्लासम्म सुनिने गरेर चिच्याएछु। चियाको कमाल।
सुन्दर दाइ म जन्मिएदेखि नै मलाई लिटो खुवाएर हुर्काउने परिवारको प्रिय सदस्य। उहाँ आमाको विवाहमा आमासँगै आउनुभएको थियो। म सानो थिएँ त्यसैले मेरो लागि जाउलो र लिटो खुवाउनुहुन्थ्यो अहिले चिया....।
संसार सानो थियो, सुन्दर दाइ ठूलो। परिवार ठूलो थियो अनि उपहार स्वरुप हाम्रो घरमा आउनुभएको सुन्दर दाइ मेरो चिया बनाईदिने साथी।
घरमा बोलेपछि मेरो हरेक प्रश्नको जवाफ दिने एक मात्र सदस्य सुन्दर दाइ। ‘नानी यी चिया’ सुन्दर दाइले चिया मेरो टेबलमा राख्दै गर्दा मलाई उहाँको हात समाएर माया गर्न मन लाग्यो। धनी र सम्पन्न परिवार भएर पनि मेरो साथी भनेको यहीँ चिया नै भएको छ। एक्लै छु, चिया छ अनि सुन्दर दाइ हुनुहुन्छ।
उमेर र बैंशमा म पनि अन्धो भएँ। पैसाले मात्तिएँ, कसैलाई पनि मान्छे नै गनिन तर समयले सबैको हैसियत चियासँग जोडिदिएको छ अनि म ड्रग्स र नसा छोडेर चियामा केन्द्रीत भएकी छु। कथाको प्लट पनि बिर्सिन्छु कहिलेकाहिँ, लेख्दै गरेका पात्रहरू अचानक कथाबाट हराउँछन्। मेरो कथा अलमलमा पर्छ र म अल्मलिएको कथा मिलाउन सक्दिनँ। पात्रहरु हराए पछि कथा वेवारिसे हुँदोरहेछ। टेबलमा भएको चिया उठाएर पिउँछु। तितो भएछ चिया यसपटक। मेरो कथा पनि तितो भएछ एउटा पात्र हराएर।
डा. असिम... थर भन्दिनँ। किनकि, थरमा मानिस धर्म र जात खोज्छन्। मेरो पहिलो वर्ष सँगै पढेको साथी अनेकौं वाहनामा मेरो कथामा आएर अचानक हरायो र कथालाई अल्पविराम पारिदियो। बस् म त्यहीँ हराएको पात्रलाई जगाउँदैछु, खोज्दैछु। मन प्लवन भएर हरपल पलायन भईदिन्छ। दबाएर राख्न खोज्छु, मन्थन गर्न खोज्छु तर फगत चिया कपको तुफानको असर देखिदैंन।
भौतिक अस्तित्व स्वीकार नगरौं मेरो जहाँतहीं छ ऊ। सँगै विबिताएका क्षण, क्याफेमा घण्टौ बसेर दुःखसुखको कुरा गरेको पल। उसको अद्भूत आनन्दित आवाज अझै पनि कानमा गुन्जिएको छ। जब अस्तित्वलाई स्वीकार गर्छु मेरो वरिपरी केही छैन। एक थान ल्यापटप, आधा रित्तिएको चिया कप र मेरो थोत्रो मन। यसैबिच जब मेरो पात्र हरायो त्योसँगै म पनि हराएको छु। मन दिएँ, माया दिएँ, समय दिएँ तर विश्वास नलिईकन फर्किएँ। कसैसँग गुनासो गर्दिनँ।
चिया चिसो भएछ। जीवन हजारौं बिन्दुहरुले बनेको एउटा रेखा हो। ज्यामितीय रूपमा सिधा रेखाको निरन्तरता भंग हुन्छ र दुईटा रेखा बन्दछ। फगत चियाको चुस्कीले जोड्न खोजे पनि हामी सम्बन्धको हजारौं बिन्दुहरू हराएर दुई अलग अस्तित्वमा भएर बाँच्न बाध्य छौं।
आज अचानक उसको माया लागेर आयो। मलाई कहिल्यै याद आएन उसको तर सधैं माया लागेर आउँछ। माया सम्झना हो कि हैन त थाहा भएन तर उसँग छुट्टिएको सम्झिदा पनि प्राण गए जस्तै हुन्छ। जीवनको पात्र हराएपछि मेरो कथाको पात्र कसरी पाईन्छ? कथामा त पात्र फेरिदिउँला, तर डा असिम.... मन थाम्नै सकिनँ।
अक्सर म नरूने केटी मान्छे। बाटोमा भेटिएका लाखौंले मलाई माया गर्छु पनि भने तीनै लाखौंको भीडमा नभेटिएको त्यो पात्र पहिले पनि विरलै थियो र अहिले पनि। तर म पात्रहरुलाई परीक्षण गर्दैछु कतै रूपै परिवर्तन गरेर हराएको त छैन? मनलाई आशावादी बनाउँछु अनि सम्झाउँछु।
‘सुन्दर दाइ’ फेरि चिच्याएँ म।
मन पोलेपछि चिच्याउन र कराउन मन लाग्दोरहेछ। सुन्दर दाइसँग चिच्याएर पीडा जति उनैको चियामा पोखिदिन्छु म। त्यहीँ पीडा र रोधनले भरिएको चियामा सुन्दर दाइ चिनी राखेर गुलियो पार्न खोज्नुहुन्छ। फगत चिया तितो नै रहन्छ। त्यहीँ पिडाले भरिएको चिया पिउँछु र पात्रहरु छानिरहन्छु।
मलाई पीडा पिउने बानी परिसकेको छ। अस्तित्वलाई अनेकौं रुपमा हेर्ने अभ्यास भएको छ। यो अस्तित्वले दिएको पीडा भुल्न अर्को अलौकिक अस्तित्वमा हाम फाल्ने हो कि? अनुमति मागिरहेकी छु। त्यो भन्दा पहिले एक कप चिया त अझै पिउने छु। त्यसपछि सुन्दर दाइले लामो समय मेरो ढोकामा हान्नुहुनेछ।
ल्यापटप खुल्लै छोडिदिनेछु। पूरै चिया पिउने छैन। त्यसैले बाँकी पीडाहरू चियाको वाफ भएर उडिरहने छन्। केही घन्टाको लागि म सबैका लागि उही पात्र हुनेछु। मेरो नाम भ्रमको रुपमा मेनुका रहनेछ। घर वरिपरी मानिसको भिड हुनेछ। कोही रूनेछन् र कोही विशेष तयारीमा लाग्नेछन्।
अचानक मेरो नाम डा. मेनुकाबाट लाश हुनेछ। जीवनभर मैले कमाएको डाक्टर उपाधि समेत तत्कालै सकिने छ र लास भनेर पुकारिने छ। नाम दाम र उपाधिहरूको पछि लागेर जीवन बाँच्नेहरुको अन्तिम नाम लाशै हो भनेर बुझेको मैले देख्ने छैन। जीवनलाई सलाम!