अपराजित गेटाफे ला लिगाकाे शीर्षस्थानमा

अपराजित गेटाफे स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ। 

मंगलबार राति भएको खेलमा रियल बेटिसमाथि ३–० को सहज जित निकाल्दै गेटाफे शीर्षस्थानमा उक्लिएको हो।

घरेलु मैदान कोलिसियुम अलफन्सो पेरेज स्टेडियममा गेटाफेको जितमा एन्जल रोड्रिग्वेजले दुई तथा मार्क कुकुरेल्लाले एक गोल गरे। गेटाफेको तीन गोलमा जुआन हर्नान्डेजले दुई असिस्ट दिएका थिए। सबै गोल पहिलो हाफमा सम्भव भएको थियो।

Image

खेलको १३औँ मिनेटमा एलान नियोनको पासमा एन्जल रोड्रिग्वेजले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए। भिएआरको सहायतामा एन्जलको गोलले मान्यता पाएको थियो। 

३९औँ मिनेटमा मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेको अग्रता दोब्बर पारे। जुआन हर्नान्डेजको पासमा उनले गरेको प्रहार गोलमा परिणत भएको थियो। 

४२औँ मिनेटमा एन्जल रोड्रिग्वेजले गोल गरेपछि गेटाफेले पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो। जुआन हर्नान्डेजको पासमा एन्जलले गाेल गरेका थिए।

Image

जितसँगै अपराजित रहेको गेटाफेकाे ३ खेलबाट ७ अंक छ। ४ खेलबाट समान ७ अंक रहेपनि भ्यालेन्सिया गोलअन्तरमा दोस्रो स्थानमा छ। ६ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2020-09-30 06:34:49

प्रतिकृया दिनुहोस्