दसैँ होइन, दशा टार्न मुग्लान जानेको ताँती (भिडियो रिपोर्टसहित)

दसैँ–तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ । भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । तर, रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ । 

धनगढीको त्रिनगर नाकाबाट मात्र पछिल्ला दुई दिनमा तीन हजार नेपाली भारत गएका छन् । ‘पहिले दुई–चार सय हुन्थे, बीचमा हजारको संख्या थियो, हिजोआज दैनिक डेढ हजारसम्म भारत जाने गरेका छन्,’ सीमामा खटिएका सशस्त्र प्रहरी बलका अधिकारीहरू भन्छन्, ‘उताबाट भने दिनमा करिब तीन सयजनासम्म आइरहेका छन् ।’

धनगढी उपमहानगरपालिका– १ का रमेश विकले धनगढीमै अटोरिक्सा चलाउन थालेको पाँच वर्ष भएको थियो, सबै ठीकै थियो । तर, चैतबाट लकडाउन सुरु भएपछि उनी झन्डै सात महिना कामविहीन भए । लकडाउन खुले पनि यात्रु छैनन्, आम्दानी नभएपछि उनी अटो साहुलाई बुझाएर आइतबार भारततिर लागेका छन् । 

प्रकाशित मिति: : 2020-09-29 08:35:19

प्रतिकृया दिनुहोस्