६ महिनापछि स्कुल खुल्दा उल्लास

घोराही उपहानगरपालिका हापुरकी समीक्षा दाहालले ६ महिना घरभित्रै गुम्सिएर बिताइन् । हापुर मावि निघुवार कक्षा १० की विद्यार्थी उनलाई लाग्थ्यो, स्कुल कहिले खुल्ला ? स्कुल बन्द हँुदा उनमा बेचैनी बढ्यो । तर अहिले स्कुल खुलेको छ, कोरोना त्रास भए पनि उनी खुसी छिन् ।

दाहालले कक्षा ९ को परीक्षा दिएपछि कोरोनाका कारण ६ महिनासम्म स्कुल बन्द भयो । उनको स्कुले साथीसँग लामो समयसम्म भेटघाट हुन सकेन । ‘कक्षामा पढ्ने साथीसँग पनि लामो समयसम्म भेट हुन सकेन,’ उनले भनिन्, ‘पढ्न पनि पाइएन । घरभित्रै थुनिएर बस्दा साह्रै अप्ठेरो भयो, बेचैनी बढ्यो ।’ ६ महिनापछि उनको त्यो असहजता मेटिएको छ । अहिले उनी नियमित विद्यालय जान थालेकी छन् । ‘६ महिनापछि स्कुल जान पाइयो,’ उनले भनिन्, ‘स्कुल जान पाउँदा धेरै खुसी लागेको छ ।’ विद्यालय जान पाउँदा हर्षित उनलाई कोरोना संक्रमणको त्रासले भने घोचिरहेको छ । ‘कोरोनाको डर त छ तर मास्क लगाएर विद्यालय जान्छौं, पटकपटक हात धुन्छौं,’ उनले भनिन् ।

हापुरकै केशव बस्नेतले पनि ६ महिनापछि विद्यालय खुलेपछि साथीसँग भेट्न पाए । ६ महिनापछि स्कुल गएर पढ्न पाउँदा उनी पनि दंग छन् । ‘यो वर्षभरि नै स्कुल गएर पढ्न पाइन्न कि भन्ने डर लागिरहेको थियो,’ उनले भने, ‘तर स्कुल खुल्यो, खुसी लागेको छ ।’ उनले सुरक्षा सावधानी अपनाएर विद्यालय जाने गरेको बताए । ‘मास्क अनिवार्य प्रयोग गर्छौं अनि भौतिक दूरी पनि कायम गरी पढ्छौैं,’ उनले भने, ‘विद्यालयले पनि हात धुन साबुनपानीको व्यवस्था गरिदिएको छ ।’

जया बस्नेत पनि असोज सुरु भएपछि नियमिति स्कुल जान्छिन् । उनले पनि सुरक्षा सावधानी अपनाएर स्कुल जाने गरेको बताइन् । सरकारले सिकाइ निर्देशिका, २०७७ जारी गरेसँगै सामाजिक दूरी कायम गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि विद्यार्थी खुसी भएका हुन् । ‘मलाई यो वर्ष विद्यालय खुल्छ र पढ्न पाइन्छ भन्ने लागेकै थिएन,’ सोही विद्यालयकी विद्यार्थी जयाले भनिन्, ‘तर सरकारले विद्यालय खोल्ने वातावरण बनाइदियो, हामी स्कुल जान पायौं ।’

प्रकाशित मिति: : 2020-09-28 07:46:26

प्रतिकृया दिनुहोस्