६ वर्षदेखि ‘कोमा’मा रहेका भारतका पूर्व केन्द्रीयमन्त्री जसवन्त सिंहको निधन

भारतका पूर्व केन्द्रीयमन्त्री जसवन्त सिंहको निधन भएको छ। 

लामो समयदेखि विरामी रहँदै आएका सिंहको आइतबार विहान ८२ वर्षको उमेरमा नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको हो। 

उनी ६ वर्षदेखि कोमामा रहेका थिए। उनकाे बाथरुममा लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना भएका थिए। त्यही बेलादेखि उनी कोमामा थिए।

भारतीय जनता पार्टीका संस्थापक सदस्य जसवन्त सिंह अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा विदेश, रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी राजनीतिमा आउनुअघि भारतीय सेनाका मेजर रहेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। 

 ‘जसवन्त सिंहले हाम्रो मुलुकको सेवा दत्तचित्तका साथ निभाउनुभयो। पहिले उहाँले सैनिकका रुपमा पछि लामो समय राजनीतिमाफर्त देशको सेवा गर्नुभयो। अटलजीको सरकामा उहाँले महत्वपूर्ण विभाग सम्हाल्नुभयो र अर्थ, रक्षा र विदेश मामिलामा विश्वमै एक बलियो छाप छोड्नुभयो। उहाँको निधनबाट दुःखी छु।’

सन् २००४ देखि २००९ सम्म जसवन्त सिंह भारतको माथिल्लो सदन राज्यसभामा विपक्षी दलका नेता थिए। त्यस्तै सन् २००९ मा उनी दार्जीलिङबाट भारतीय लोकसभा सदस्यमा निर्वाचित भएका थिए। 

सन् २०१४ को लोकसभा चुनावमा भने उनलाई भारतीय जनता पार्टीले टिकट दिएको थिएन। पार्टीले टिकट नदिएपछि उनी राजस्थानको बारमेर–जैसलमेर क्षेत्रबाट स्वतन्त्र रुपमा चुनाव लडेका थिए, तर पराजित भए। 

सिंह बीजेपीभित्र मुखर राजनीतिज्ञका रुपमा चिनिन्थे। त्यसअघि सन् २००९ मा ‘जिन्ना : इन्डिया–पार्टिसन इन्डिपेन्डेन्स’ पुस्तकमा मोहम्मद अली जिन्नाको प्रशंसा गरेको भन्दै पार्टीभित्र व्यापक आलोचना भएपछि बीजेपीले उनलाई निष्कासित गरेको थियो। 

पछि पार्टीले कारबाही फिर्ता गरे पनि सन् २०१४ को लोकसभा चुनावमा बागी उम्मेदवार बनेपछि बीजेपीसँग उनको नाता टुटेको थियो।

प्रकाशित मिति: : 2020-09-27 12:30:35

प्रतिकृया दिनुहोस्