संस्कृति भनेको सम्यक कृति अथवा कर्मलाई सम्यक रुपमा परिष्कृत पार्दै लाने काम होला। यदि हो भने संस्कृति अर्थ त्यो अनन्तको यात्रा हो, जस्का सकारात्मक अवधारणाहरूले लोककल्याण र सत्कर्मका पथिकलाई प्रेरणाका उज्यालाहरू छर्दै झिलमिलाउँछन्।
सत्मार्गमा हिँडिरहेको एउटा साधकले लोकहितार्थ विनाशर्त आफूलाई प्रस्तुत गर्छ। सदाचरको बाटो समाउँछ। यस्तो निरपेक्ष मानव कल्याणकारी भाव र कर्म व्यक्तिमा, परिवारमा, समाजमा, राष्ट्रमा र सिंगो ब्रह्माण्डमा निष्काम कर्मको आलोक बनेर संस्कृतिका रुपमा उदाउँछ। सजिलै बुझ्नुपर्दा 'राम्रा गुणहरूको विकाश र नराम्रा गुणहरूको विनाश' को संकल्प लिएर समाज, परम्परा र प्रवृत्ति सँग जोडिंदै जाने कुरा संस्कृति हो।
हाम्रो अवधारणामा साँचो बोल्नु प्रिय बोल्नु, साँचोलाई प्रिय बनाएर बोल्नु, सत्य भए पनि अप्रिय नबोल्नु संस्कृति हो। वचन विचारेर बोल्नु, औंषधि र घाउको परिणाम जानेर बोल्नु, आफूलाई पनि शीतल र अरूलाई पनि शीतल हुने गरि बोल्नु, सत्य रक्षाको निम्ति मिठो बोलेर समाधान दिनु, अर्काको अपेक्षित गुणको प्रशंसा गरेर बोल्नु 'संस्कृति' हो।
यश प्राप्तिको निम्ति लोककल्याण र राष्ट्ररक्षाका निम्ति विजय गर्नु संस्कृति हो। भोगका लागि होइन संतान रक्षाका लागि गृहस्थी हुनु संस्कृति हो। प्रसिद्ध भारतीय संस्कृतिविदको कथन छ, ‘हाम्रो असल आचरणसित सम्बन्धित मानसिक अवस्था, जसले मानव जीवनको मार्ग सहज बनाई दिन्छ त्यो संस्कृति हो।’
मान्छे पराश्रित भएर भएर जन्मन्छ, तर पशु आत्मनिर्भर भएर जन्मन्छ। मान्छेको बच्चा आँखा नखोली रुन थाल्छ, तर गाईको बाछो भुईंमा झर्ने साथ रमाउँदै उफ्रन थाल्छ।
मान्छेलाई शिक्षा र संस्कारको आवश्यकता पर्दछ, तर पशुलाई आवश्यकता पर्दैन। पशु जति जति हुर्किंदै जान्छ, उति उति प्रकृति धर्ममा आवद्ध हुँदै जान्छ, स्वावलम्बी पनि हुँदै जान्छ। तर मान्छेको बच्चा परनिर्भर भएरै हुर्कन्छ।
अर्काले खुवाई दिनु पर्छ, हात समाएर हिंडाउनु पर्छ। जति जति बढदै जान्छ, उति उति उच्छृङ्खल बन्दै जान्छ। यहिकारण मान्छेलाई सानै उमेरदेखि नै शिक्षा र संस्कारको आवश्यकता पर्दछ। हाम्रो प्राचीन शास्त्रको कथन छ-- आहार, निद्रा, भय र मैथुन जस्ता प्राकृतिक गुणहरू मान्छे र पशुमा समान हुन्छन। तर मान्छेमा उचित अनुचित पर्गेल्न सक्ने 'विवेक' भन्ने एउटा विशेष गुण हुन्छ। पशुका तुलनामा मान्छेभित्र अपार संभावना बोकेको एउटा विशेष गुण हुन्छ, जस्लाई संस्कारद्वारा ब्युँझाउनु पर्छ। यसरी ब्युँझेको चेतनाले मात्र सहजै शिक्षा ग्रहण गर्न सक्छ।
हाम्रो समाजमा संस्कृतिको बुझाइ नाच-गान, वेश-भुषा, खान-पानका परिकार, पूजा-उपासनामा मात्र सीमित छ। यी कुराहरू त देश, काल र परिवेशबाट जन्मिएका र तत्कालीन समाजले स्वीकार गरेका जातीय अभ्यासहरू मात्र हुन। परम्परागत रुपमा चली आएका रीतिरिवाज मात्र हुन। परम्पराको सांगलोमा बाँधिएका चालचलन मात्र हुन्।
उदाहरण स्वरूप हाम्रा दैनन्दिन जीवनमा प्रयोग गरिने दौरा-सुरुवाल, टोपी-खुकुरी, चौबन्दी-फरियाँ, रेजी-बाईं-कल्ली आदि इत्यादि त हाम्रा पहिचानका अलंकार मात्र हुन्। स्थान र परिवेशका उपज हुन। हिमाली भेकको चिसो ठाउँमा जिउमा सपक्क मिल्ने खाँडीका दौरा, सुरवाल, टोपी, बक्खु आदि मौसमको सहजतालाई ध्यानमा राखी लगाउने चलन बन्यो।
यसरी नै तराईको प्रचण्ड गर्मीबाट राहत पाउन सेतो लुज धोती-कुर्ता, पाइजामा आदि लगाउने परम्परा बन्यो। हिमालको कठ्याङ्रिने जाडोमा बक्खु लगाउनै पर्छ। हात र मुखमात्र पखालेर पंचस्नान गर्नैपर्छ। तराईको उग्र गर्मीमा विहान मात्र होइन दिनमा तीन चार चोटि नुहाउनै पर्छ।
पहिरनको मात्र कुरा गर्ने हो भने त हिंजोआज विश्वमा पेन्ट-सर्टको बढदो प्रयोगले संसार भरीका मान्छेलाई एउटै पहिरनले समेटी सकेको छ। यसर्थ पहिरनले मात्र संस्कृतिको जम्मै अर्थ बोक्न सक्तैन। तर संस्कृति त्यतिमात्र होइन, संस्कृतिको धरातल विशाल हुन्छ। संस्कृति एउटा जातिको परम्परामा गुम्सिएर रहने विषयवस्तु होइन।
संस्कृति जति बाँडन सक्यो उति फैलिएर जाने विषय हो। संस्कृति भनेको त चोखो मन हो-खोला जस्तो। पवित्र विचार हो-फूल जस्तो। निष्काम कर्म हो- सेवा जस्तो। यसर्थ मन मस्किनु पर्छ, विचार चोखिनु पर्छ, कर्म सप्रिनु पर्छ। मनबाट रसाएको विचारले अरुहरुको मन छुने हुन पर्छ। अन्त:करणमा रहेको चेतनालाई पूर्णता तर उचाल्दै लानुपर्छ--'पूर्णात्पूर्ण मुदच्यते'। छोटो अर्थमा बुझ्नुपर्दा सह आस्तित्व सँग गाँसिएको 'राम्रो कर्म' संस्कृति हो। नीजि स्वार्थमा बेरिएको 'नराम्रो कर्म' दुष्कृति हो।संस्कृतिले उत्थानको सगरमाथा चडाउँछ भने दुष्कृतिले पतनको खाल्डोमा झारीदिन्छ।
अब हामी आफ्नै संस्कृतिका कुरा गरौं। हाम्रो संस्कृति गौरीशंकरमा फूलेको हिमाली संस्कृति हो। न्यायको पालन गरि आएका चार जात र छत्तीस वर्णका नेपाली मनहरू जोडिएको नेपाली संस्कृति हो।
गौरक्षा गर्दै आएका मानिसहरूको गो-रखवाली संस्कृति हो। हिमचुलीमा झण्डा फहराउने तेंजिंग शेर्पाको संस्कृति हो। तराईमा झांगिएर सगरमाथा छोएको बुद्धको संस्कृति हो। दुश्मनको भालेसातो मंत्रिने गोर्खे खुकुरीको संस्कृति हो। माटोको लागि प्राणको आहुति दिने भक्तिथापाको संस्कृति हो। मणिपुर पुगेर गोर्खालीको वीरगाथा लेख्ने तुलाचन आलेको संस्कृति हो।
नेपाली मात्रलाई रामको आदर्श र मर्यादा सिकाउने भानुभक्तको संस्कृति हो। मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन भन्ने देवकोटाको संस्कृति हो। गुरु गोरखनाथको संस्कृति हो, ज्ञानदिलदासको संस्कृति हो, ये-हांग र जंगा-हांगको र पारुहांगको संस्कृति हो।
मोटामोटी रुपमा भन्नुपर्दा आर्य र आर्येतर संस्कृति समुहबाट विकसित वैदिक धारा, बौद्ध धारा र प्राकृतिक धाराको त्रिवेणी संगमबाट नेपाली संस्कृतिको मूल फुट्यो।
हिमाल, पहाड र तराई तीन भौगोलिक परिवेशमा हुर्कियो। गंगोत्री, यमुनोत्री र तीस्ता-रंगीतको माझमा रसाएको नेपाली संस्कृति ब्रह्मपुत्र-ऐरावतीसम्म छचल्किएर हिन्द महासागरसम्म अविरल धारा बनेर प्रवाहित भयो। भोटेको सेलो, राईको मुुन्धुम र बाहुनको बालुनलाई एउटै मादलको ताल पाएर नाचेको संस्कृति हो। सारंगी र मुर्चुङ्गाको धिन्ताङ्गको तालले हाँसेको संस्कृति हो। सहनाई र मुरलीको स्वर पाएर बाँचेको संस्कृति हो।
अधि नै भनियो--- हिमाल पहाड र तराईका गढी-टाकुरा, भन्ज्याङ्ग-दोभान, खोला-नाला, छहरा-ताल, लेक-बेंसीहरूमा उन्मुक्त विचरण गर्दै अनेक जात जातीका अनेक रीति थीतिलाई एउटै आकाश मुनि समेटिएको समष्टि हो--- नेपाली संस्कृति।
यी भिन्न भिन्न जात जातीका लोक व्यवहारमा चली आएका मान्यताहरू, चालचलनहरू, लवाई-खुवाई, बोलाई-हिंडाईका भाकाहरू एउटै नेपाली संस्कृतिमा समाहित छन। जस्तै लोक व्यवहारमा हामी एकअर्कामा भेट हुँदा अति आत्मीयताका साथ नमस्कारको आदान प्रदान गर्छौं। सेवारो भन्दै ढोग दिन्छौं। एउटै नमस्कारमा सयौं समाधानका बाटा भेट्टाउँछौं। एउटै सेवारोमा कैयौं सद्भावनाका मार्ग प्रशस्त पार्छौं। यही हो हाम्रो संस्कृति।
यसरी नै तीजमा चेलीलाई दर खुवाएर, भाईटीकामा दाजुभाइलाई रोटा खुवाएर चेली र माइती माझ माया ममता साटछौं। दशैंमा मान्यजनबाट कहिल्यै क्षय नहुने अक्षता निधारभरी थापेर आशिष थाप्छौं। जनैपूर्णेमा ज्वाईं भानिजलाई खीर खुवाएर साइनो मधुर बनाउँछौं।
उँधौली उँभौलीमा गोठधुप गरेर गोरसको पायस बाँडछौं।देवालीमा कूल गोत्रेली भेला भएर वंश वृद्धिको वर माग्छौं। टाडा रहेका छोराछोरीहरू वर्षमा एकपल्ट बाबुआमाको मुख हेरेर आमाको काख र बाबुको हातको न्यानो स्पर्श पाएर नियास्रो मेटछौं। परचक्री भएपनि मन मिल्नेहरू सँग मीत लगाएर आत्मीयता विस्तार गर्छौं।यस्तै यस्तै कैयौं हाम्रा चालचलनहरू जोगाएर नेपाली पहिचान विस्तार गरेका छौं।
यसरी नै हाम्रा दैनिक लोक व्यवहारमा प्रयोग गरिने तुक्का र उखानहरूले पनि हाम्रो संस्कृतिलाई समृद्ध बनाएको छ। जस्तै अल्छिले जति जैसीले जान्दैन, मुखमा राम राम बगलीमा छुरा, काम छउन्जेल भाँडो काम सकियो ठाँडो, चिन्नु न जान्नु घँच्चेडी माग्नु, आफू महादेउ कस्ले देला वर जस्ता सार्थक उखानले हाम्रो संस्कृतिलाई थप उर्जा दिएको छ।
अझ हाम्रो सर्वोत्कृष्ट नेपाली परम्परा अनुसार गाउँ खाने कथाका नाममा अडका थाप्ने चलनले हाम्रो बुद्धिको विकास भएको छ। सेती गाई पानीखान गई राति भएर आई, वनतिर जाँदा घरतिर मुख घरतिर आउँदा वनतिर मुख, तीनभाईको साझे पगरी जस्ता कैयौं गाउँ खाने कथाले नेपाली टाउको चतुरो छ। यसरी नै हाम्रा विभिन्न मौलिक नेपाली खेलहरूमा महिलाको गट्टी, पुरुषको डण्डीबियो, पाकाहरूको बाघचाल, केटाकेटीको चिमुसी जस्ता खेलहरूले सबै उमेर र वर्गका नेपालीहरूलाई मनोरञ्जनका साथ साथ बुद्धिको विकास गराएको छ।
यसरी नै धामीझाँक्री वैद्य ज्योतिषी लामा पुरेत आदि पनि परिवेश र परिस्थितिका वैकल्पिक साधन बनेर हाम्रो सांस्कृतिक साम्राज्यमा सहभागी भएका छन। यसरी छत्तीस रंगका फूलहरू एउटै नेपाली संस्कृति रुपी धागोमा उनिएर विश्वमा एउटा सर्वतोमुखि संस्कृतिका रुपमा अलंकृत छ---नेपाली संस्कृति
नेपाली संस्कृति सुरक्षा परिषद, मणिपुरको संस्थापक महासचिव र हाल उपाध्यक्ष
प्रकाशित कृतिहरू:-
१. मणिपुरमा नेपाली जनजीवन--सन १९९९
२. हिन्दु अध्यात्म चिन्तन-- सन २०११
३. विचार प्रवाह (निबन्ध)-- सन २०१६
स्थाई ठेगाना:-
गाउँ : कालापहाड, पोस्ट: कालापाहाड
जिल्ला: कांगपोक्पी, मणिपुर, भारत