
बिएल संवाददाता
जेन–जी विद्रोहपछि सत्तात्युत भएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पार्टीभित्रै एक्लिएका छन्। विधान महाधिवेशनसम्म ओलीलाई काँध हालेर हिँडेका नेताहरूलाई अहिले लाजले मुख छोपेर हिँड्नुपर्ने अवस्था आएको छ।
ओलीकै कार्यशैलीको कारण जेन–जी पुस्ताले विद्रोह गरेको निष्कर्षसहित एमाले अधिकांश नेताहरूले विकल्पको खोजी थालेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमपछि एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको दवाब ह्वात्तै बढेको छ।
एमालेका एक नेताका अनुसार पार्टीमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको विकल्पबारे चर्चा हुन थालेको छ। ओलीइतर नेताहरूले ओलीको विकल्पमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र पोखरेलको विकल्पमा सचिव गोकर्ण विष्टलाई अघि सारेर नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अभियान थालेका छन्। पाण्डे पूर्वअर्थमन्त्री हुन्।
उर्जा र श्रममन्त्री रहिसकेका विष्ट पार्टीमा स्वच्छ छविका नेता मानिन्छन्। तत्कालिन प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा राम्रो अंक पाउँदा पाउँदै पनि श्रममन्त्रीबाट बर्खास्त गरेपछि विष्टप्रति पार्टीभित्र र बाहिरसमेत सहानुभुति बढेको थियो। अझ मन्त्रालयबाट निस्किदै गर्दा ट्याक्सी चढेर निवास फर्किएका विष्ट चर्चाको केन्द्र बनेका थिए।
नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला अर्का सचिव योगेश भट्टराईले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेको बताएका छन्।
उनी भन्छन्, ‘पार्टीमा अब अलि नयाँ ढंगले जाने संकल्प पनि हामीले गरेका छौं।’ उनको संकेत पार्टी नेतृत्वको पुस्तान्तरणमा थियो।
केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको पक्षमा आवाज उठाइरहेकी छन्। बुधबार पनि उनले सामाजिक सञ्जालमार्फत सोही माग अघि सारिन्।
लामो समयदेखि ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेसहित बहुमत पदाधिकारीहरू ओलीको राजीनामाको पक्षमा यसअघिदेखि नै उभिदै आएका छन्।
एमाले अध्यक्ष ओली यतिबेला नेपाली सेनाको ब्यारेकमा आश्रय लिएर बसेका छन्। बाहिर सुरक्षित निस्कने माहोल नबनेसम्म ब्यारेकबाट ननिस्किने एमाले नेताहरू बताउँछन्। जेन–जी आन्दोलनमा दमनपछि ओलीको राजनीतिक छवि धुलिसात भएको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्माएको हो।
नेताहरूले ओलीकै कारण देश र पार्टी गम्भीर संकटमा फसेको निष्कर्ष निकालेका छन्।
एक अनलाइन मिडियासँगको कुराकानीमा सचिव विष्टले अध्यक्ष ओली र महासचिव पोखरेलतर्फ इंगित गर्दै भनेका छन्, ‘अब पनि एकादुई/दुईचार जना व्यक्तिहरूले मात्रै संसार थेगेजस्तो गर्ने प्रवृत्ति कायमै रहने हो भने पार्टी बलियो हुँदैन।’
उनले जेन-जी विद्रोहलाई नकारात्मक रूपमा मात्रै हेर्न नहुने र त्यसले आफूहरूलाई समयमै सुध्रिनका लागि सचेत बनाएको बताएका छन्।
एमाले स्रोतका अनुसार सोमबार मात्रै ओलीइतरका शीर्ष नेताहरूले भर्चुअल माध्यमबाट कुराकानी गरेका छन्। छलफलमा ओलीइतरका सबै नेताहरू सहभागी थिए।
सबै नेताहरूले अध्यक्ष ओलीको चर्को आलोचना गर्दै राजीनामा मागेका छन्। जेन–जी नरसंहारपछि समाजमा बदनाम भइसकेको र सर्वाधिक आलोचित नेतृत्व बोकेर हिँड्न नसकिने उनीहरूको निष्कर्ष थियो।
‘ओली नेतृत्वको एमाले पूर्णरुपमा असफल भइसक्यो। मिसन ०८४ ले हावा खाइसक्यो। अब नेतृत्व परिवर्तन जरुरी छ’ भन्नेमा सबै नेताहरू एकमत देखिएका छन्।
नेताहरूले वरिष्ठ उपाध्यक्ष वा अन्य उपाध्यक्षहरूलाई हस्तक्षेपकारी भूमिका निभाउन आग्रह गरेका छन्। आफूहरूले पार्टीलाई नयाँ शिराबाट लैजानुपर्ने मत राखेको एमालेका एक सचविले बिएल नेपाली सेवालाई बताए।
स्थायी कमिटी सदस्य कर्ण थापाले जेन-जीमाथि दमन गरिएको घटनाको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
‘एमाले नेतृत्वको सरकारले जेन-जीमाथि दमन गर्यो। किन गरियो, यसको समीक्षा जरुरी छ, जसले युवालाई दमन गर्यो उसैलाई बोकेर हिँड्न सकिँदैन,’ उनी भन्छन्।
अध्यक्ष ओलीले तत्काल राजीनामा दिनुपर्ने पक्षमा देखिएका छन् अर्का नेता गोकुल बास्कोटा।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला भन्छन्, ‘भ्रष्टाचार, बेथिति र तानाशाही’ प्रवृत्तिविरूद्ध बोल्नैपर्छ र अध्यक्षले राजीनामा दिनुपर्छ।’
केन्द्रीय सदस्य उषाकिरण तिम्सेना भन्छिन्, ‘पार्टी फेरी उठ्नु पर्छ, तर कसले यो स्थितिमा पुर्यायो? वस्तुगत समीक्षा गर्न पर्दछ। पुनर्संरचना गर्नुपर्छ।’
जेन–जी विद्रोहले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य सकिएको पुष्टि गरेको छ। पुराना दलमा पार्टी पुनर्गठनको बहस चलिरहेको छ। सँगै केपी शर्मा ओलीको नेतृत्वलाई पनि युवा पुस्ताले अस्वीकार गरेको छ।
राजनीतिक वृत्तमै एमालेको विकल्पबारे चर्चा भइरहँदा पनि केही नेताहरू भने अझै पनि ओलीलाई नै बोकेर हिँड्न तयार छन्। महासचिव शंकर पोखरेल ओलीकै बचाउमा लागेका छन्। नेता महेश बस्नेतको नेतृत्वमा उपत्यकामा एमाले नेताहरू सक्रिय हुन थालेका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया