मुखुण्डा भित्र लुकेको मौलिक अनुहार देखेर (नजिकबाट देखेर) अचम्बित हुन्छु म, लाटिन्छु म अनि अवाक हुन्छु म।
महलमा पालिएको धनीको गरिबी देखेर छक्क पर्छु म! भाग्यले जतिसुकै धन बर्साए पनि मनको गरिबी पना हट्दैन रै’छ। अँह! हट्दो रहेनछ।
‘बिनाऽ ए…बिना आज बार्दली सफाई गरिस्?,’ बिहानको १० बजेको थियो मालिक्नी सधैंझैं उठिसकिछन्। त्यसपछि उही दैनिकी कार्यमा मग्न!
बिनाले अहिलेसम्ममा कुन-कुन काम सिद्ध्याई! पैसामा राखेको नोकर्नी पो हो त! काम थोरै मात्र छुटेमा पनि नोक्सान भइहाल्यो नि।
मैले आज बार्दली सफाई गर्न भुसुक्कै भुलेछु। हतार हतार कोठाबाट निस्किएर मुन्टो हल्लाएँ।
ए…भुलिस्? मालिक्नीलाई यति चाहिँ राम्रोसँग थाहा छ कि! म भुलक्कड छु भनेर। त्यसपछि आफ्नो काममा लागेँ।
मालिक्नीले नास्ता लिइसकेपछि फेरि बोलाइन्।
‘हेर् त.. हिजोको एक कचौरा दाल छ। आधा कचौरा तरकारी छ। तँ र म त छौं। भैहाल्छ होइन?
मैले हुन्छको इशारा गरेँ।
मनमा अनेक कुराहरू खेल्न लागे। सधैं यस्तै बासी तरकारीसँग गुजारा गर्नुपर्ने! मेरो एउटा-एउटा काम जाँच गर्न फुर्सद हुने मालिक्नीलाई मेरो भोकको भने कुनै चिन्ता छैन। भोकभोकै बसेर सुकेका आन्द्राको हिसाब कसले गरिदिने?
‘मान्छे धन हुँदैमा धनी हुँदैन रै`छ। मरिमरि धन सञ्चित गरेको आखिर केका लागि राख्नू? मेरो मस्तिष्कमा जहिल्यै प्रश्नहरू लाम लागेर आउँछन्। बासी अन्न खाएर एकातिर रोगको घैला बोकेको छ। अर्कोतिर महाजन हुनुको ढोँग! हे प्रभु मलाई यस्तो गरिबी मुछिएको स्वाँगे महाजन कहिल्यै नबनाइदेऊ,’ मनमनै भनेँ।
भोको पेटले मनमा धेरै कुरा जमाउँदोरहेछ। म अचेल वरपरका हरेक मान्छे भित्र पोतिएको गरिबी चित्र उतारिरहन्छु। खै किन हो कुन्नि?
एक दिनको कुरा हो मेरी साथीले धाक लगाउँदै भनि, ‘मैले त जम्मै पैसा भेला गरेँ। अब घर गएपछि बैंकमा राखेर ब्याजले खाउँला सोचेकी छु।’ उसको कुरा सिद्धिन नपाउँदै मैले भनिहालेँ, ‘घर फर्कनु राम्रो कुरा हो। यहाँ अर्काको देशमा परिवारसँग बिछोडिएर नबसेकै राम्रो।’
उसले फेरि थपी, ‘मैले यहाँ काम गरेर पैसा पठाकि छु र त मेरा परिवार राम्रोसँग पालिएका छन्, नत्र थाइल्यान्डको जस्तो तलब बर्मामा कहाँ मिल्छ र?’
बिचरीको घरमा सासु, ससुरा, बुढा र छोराछोरी छन्। उसका बुढा घरधन्दा गरेरै दिन बिताउँछन्। यो कस्तो गरिबी र बाध्यता एक नारीले विदेसिएर जहान परिवार पाल्नुपर्ने?
पुरुषले जब परिवारको लागि खोजी ख्वाउन सक्दैन भने के पुरूष भन्नू? विवाह गरेर परिवारबाट अलग्गिनुपर्छ भने विवाह किन गर्नू?
जब आमाले सन्तान जन्माएर त्यो सन्तानदेखि टाढा रहनु पर्छ भने सन्तान किन जन्माउनू? आमा हुँदाहुँदै आमाको मायाबाट बञ्चित सन्तान टुहुरो बराबर हुँदैन र?
एक पुरूषले परिवार पाल्ने हैसियत बिना किन बिहे गर्दा हुन्? मर्दको पाखुरामा लागेको गरिबीदेखि अचम्म लाग्छ।
म जति संसार नियाल्छु, त्यति दुधमा नौनी झैँ मिसिएको गरिबी पाउँछु। मान्छेको गरिबीदेखि अचेल दिक्क लाग्छ।
एक मित्रले भर्खरै फोन गरेर भने, ‘अनलाइनबाट पाँच हजारमा एउटा घडी किनेको थिएँ, तत्कालै पैसा चाहिएर बेच्नुपर्ने भो। तिमी लिन्छ्यौ भने चार हजारमै दिनेछु,’ मैले तुरुन्तै त्यो ब्राण्डको घडी सर्च गरेर हेरेँ। बजार मूल्य तीन हजार मात्र रहेछ।
मलाई उसको बठ्याइँ गरिबीदेखि हाँसो लागेर आयो। मान्छे कुन वेहोसितामा आएर झुट बोल्छन् कुन्नि। ‘मलाई लाउने मन छैन भनिदिएँ।’ तर सबै मान्छे एकै पनि हुँदैनन्।
दुनियाँमा आफ्नो पराक्रम र कलाले मान्छे धेरै प्रगतिमा पुगेको छ। हिजो भर्खर एक कविले एउटा कविता फेसबुकमा पोस्ट मात्र किन गर्न भ्याएका थिए! कमेन्टको ताँती धन्नै चार कोस नाघिहालेछ।
कविता यति राम्रो थियो कि!, वयान गर्न शब्दको अभाव पर्नेछ। मान्छे उमेरका काँचै छन् उनी। मैले उनको कविता २/३पटक पढेँ। अनि स्कुल पढ्दा गुरूले सिकाएको जागृति गीत सम्झेँ, ‘मान्छेले आँटे के हुन्न, चन्द्रमा पनि भेटिन्छ। अभागी रेखा निधारको, पसिना पुछे मेटिन्छ।’ दुरूस्तै मिले जस्तै लाग्यो यो गीतसँग। अनि मज्जाको कमेन्ट गर्नपर्यो भनेर आँटेकी के थिएँ। एकजना गुरुले अस्ति भर्खरै भनेको कुरा सम्झिएँ, ‘रचनाहरु धेरै राम्रा लागेमा गुगलमा गएर एक दुई हरफ लेखिहेर्नु। किनकि अचेल रचना पनि चोरी हुने गरेका छन्। कविले गुगलमा पोस्ट गरिसकेको रै`छ भने नक्कली भनेर आफैं थाहा पाउनेछ्यौ।
मैले छिटो छिटो गुगल सर्च गरेर हेरेँ। नभन्दै अर्कैको कपि पो रहेछ। हैन यो कस्तो गरिबी हो? मान्छे आफ्नो हैसियतमा किन चित्त बुझाउँदैन?
वास्तवमा मान्छेको चित्त नै गरिबी-पुञ्ज रहेछ। र त मैले पनि गरिबीको पछिपछि लागेर चिहाउने गर्छु। अरूको गरिबी औल्याउने म चाहिँ कहाँ धनी हुँ त!