५० दिनदेखि कोरोनाविरूद्ध लडिरहेका भारतीय सिनेमाका चर्चित गायक एसपी बालासुब्रमण्यमको स्वास्थ्य अवस्था फेरि गम्भीर बनेको छ। दक्षिण भारतको चेन्नईस्थित एमजीएम अस्पतालमा ५ अगस्टमा भर्ना भएका बालुको स्वास्थ्यमा केही दिनअघि सुधार भएको थियो।
७४ वर्षीय यी लोकप्रिय गायकले आफ्नो सोसल मिडिया इन्स्टाग्राममार्फत सबैलाई कोरोना भएको जानकारी दिएका थिए। उनी चिकित्सकहरूको सुझावपछि लामो समयदेखि अस्पतालमा भर्ना छन्।
अस्पतालकी सहायक निर्देशक डा. अनुराधा बसकरणले बालासुब्रमण्यमको स्वास्थ्यको जानकारी दिँदै उनलाई आइसीयूमा भर्ना गरिएको बताएकी छिन्। बालुका छोराले चरन एसपीले दुई दिनअघि आफ्नो बुवाको स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिएका थिए।
भारतीय सिनेमाका सुपरस्टार सलमान खानलाई सुरुवाती दिनमा पहिचान दिलाउने आवाज नै बालासुब्रमण्यमको थियो। उनले ‘मैने प्यार किया’ को चर्चित गीत गाएका थिए।
बालुले १६ भाषामा ४० हजारभन्दा बढी गीत गाएका छन्। सन् २०११ मा उनलाई पद्म भूषणबाट सम्मानित गरिएको थियो।
उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि दर्ता छ। उनको वास्तविक नाम श्रीपति पण्डितराध्युला बालासुब्रमण्यम हो।