कुनै पनि भाषा समाजमा संवाद सम्प्रेषणको अति उत्तम माध्यम हो। विश्वभरिका सम्पूर्ण भाषाको आफ्नो गरिमा, मान्यता, तथा विशिष्टिता हुन्छ।
समाजका प्रत्येक मानवले एक अर्काको भाषाप्रति उचित आदर, सम्मान र आत्मीयता पालन, प्रदर्शन गर्नुपर्छ। भाषा मानव उत्पत्तिको शुरूवातदेखि नै अपरिहार्य थियो। अक्षर, शब्द र आवाजको उत्पत्ति हुनुभन्दा पहिले पनि आदि मानवले एक अर्का बीच संवाद सम्प्रेषण गर्ने गर्थे। आवश्यक पनि थियो।
आदि पुरूष कुनै विपत्तिमा परेको बेला सहायता गुहार्न आफ्नो दुबै हात हावामा घुमाउँदै आफूतिर आउने इशारा गर्नुपर्थ्यो। एक अर्कासित कुशल–क्षेम सोध्न आँखा झिम्क्याएर टाउको तलमाथि मात्र गर्नुपर्थ्यो। विभिन्न समस्या, हर्ष, विष्मात, रूोदन, प्रेम आदि मानवीय संवेदनाहरु सम्प्रेषण गर्न यस्ता असंख्य इशाराहरु हुन्थे।
यस्ता इशाराहरुको चित्रांकन भएका ‘होर्डिङ्ग बोर्ड’हरू द्रूतमार्गको साइडमा राखिएको अझै पनि हेर्न सकिन्छ। बाटोमा हिँड़दै गर्दा सामान बोकेर असिन–पसिन भइ हिँड़दै गरेका कोही आत्मियलाई हेरेपछि संवाद सम्प्रेषणको क्रममा आँखा च्यातेर उभोतिर टाउको हल्लाएपछि जवाफमा सम्बन्धित आत्मीयले टाउको तलमाथि हल्लाएर कुशलताको सूचना दिएको घटना हामीले अझै पनि हेर्छौं।
आदिमकालमा संवेदना सम्प्रेषणको माध्यम यस्तै इशारा हुन्थे। हिजो आज बोलिने भाषा तथा भाषा लेखनको परम्परा मानव विकासको मध्यकालमा मात्र सम्भव भयो।
त्यसको सम्पूर्ण अध्ययन, अनुसन्धान भाषा वैज्ञानिकले निरन्तर लामो समयसम्म गरिरहे।
भाषाशास्त्रीको भनाइलाई समन्वय गरेर हेर्दा आर्य–युरोपेली वा भारोपेली भाषा परिवारको आर्य–इरानेली शाखाको एउटा भेदलाई आर्य भाषा मानिएको छ। यसलाई पनि तीन भागमा बाँडिएको छ –प्राचीन आर्य भाषा, मध्यकालीन आर्य भाषा तथा आधुनिक आर्य भाषा।
यही आधुनिक आर्य मागधी प्राकृतको मागध अपभ्रंश रूपबाट असमी, मैथिली, अवधी तथा मगहीको साथमा भोजपुरी भाषाको उत्पत्ति भएको भन्ने मान्न सकिन्छ।
डा. हाजसनले ‘थारू’ नेपालको तराइमा बसोबास गर्ने थारूजातिको बोली हो। थारूहरू भारतको बहराइचदेखि चम्पारणसम्म वसोवास गरेका छन। यिनीहरूको बोली वस्तुतः विकृत भोजपुरी हो भन्ने निस्कर्ष निकालेका छन्।
थारू भाषामा एउटा आश्चर्यजनक बिशेषता के देखिन्छ भने थारूभाषी मान्छेको मधेशको प्रायः प्रत्येक जिल्लामा उपस्थिति देख्न सकिन्छ तर उनीहरूले बोल्ने भाषाको रूप जिल्लैपिच्छे फरक फरक छ।
आफ्नो घर–व्यवहारमा थारूहरू भोजपुरीभाषी जिल्लामा भोजपरीमा, मैथिलीभाषी जिल्लामा मैथिलीमा तथा अवधीभाषी जिल्लामा अवधी भाषामा नै बोल्छन्। हुन त थारू भाषा नेपालको मेचीदेखि महाकालीसम्म बोलिन्छ। तर ती बोलीमा एकरूपता छैन।
झापामा बोलिने थारू भाषा कैलालीमा बस्ने थारू जातिले बुझ्दैनन्। मध्य तराईका थारुद्वारा बोलिने थारू भाषा झापा वा कन्चनपुरका थारूले बुझ्न सक्दैनन्। (भोजपुरिया माटी, भोजपुरी भाषा साहित्य पत्रिका ,वर्ष २, अङ्क–५ मा प्रकाशित भउच प्रसाद यादवको ‘भाषिक विश्व विद्यालय के रुप मे मधेश’ नामक लेख)। भाषाको अध्ययनको क्षेत्रमा महत्वपूर्ण काम गरेका प्रसिद्ध भाषाशास्त्रीहरू डा. ग्रियर्सन, डा. आर्चर, डा. होर्न, डा. सुनीतिकुमार चाटुज्र्या प्रभृति विद्वानहरुले आफ्नो कुनै पनि अध्ययनपत्रमा वज्जिका भाषाको कतै पनि उल्लेख नगरेको अवस्था छ। वज्जिका भाषा वस्तुतः पूर्वमा बोलिने मैथिली तथा पश्चिममा बोलिने भोजपुरी भाषाको सीमान्तकृत सन्धिस्थलको भाषा हो। अतः यस भाषामा मैथिली र भोजपुरीको छायाँ स्पष्ट देख्न सकिन्छ। उदाहरणको रूपमा जानुको अर्थमा मैथिलीमा ‘गेलाह’ र भोजपुरीमा ‘गइल’ शब्दको प्रयोग हुन्छ भन्ने तथाकथित वज्जिका भाषामा त्यसै अर्थकोलागि ‘गेल’ शब्द प्रयोग हुन्छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार विभिन्न भाषा परिवारहरू मध्येको नेपालमा जम्मा एक सय पच्चिस वटा भाषाहरू बोलचालमा प्रयोगमा छन् र ती सबै भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता प्राप्त रहेको अवस्था छ।
राष्ट्रिय जनगणना २०४८ अनुसार नेपालमा बोलिने भाषाको संख्या जम्मा ९१ वटा, राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा बोलिने भाषाको संख्या जम्मा ९२ वटा थियो भन्ने राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाको संख्या दश वर्षमा एक्कासी बढेर १२५ वटा पुग्यो।
भाषाशास्त्रीको विचारमा यो एउटा चमत्कार हो किनकि, कुनै पनि नयाँ भाषाको जन्म हुनुमा शताब्दियौं लाग्ने गरेको तथ्य विद्वानहरुले प्रस्ट पारेका छन्। कुन भाषा परिवारमा कुन नयाँ भाषाको कसरी जन्म भयो यस बारेमा जनगणनाको प्रतिवेदन मौन छ। करौडौं सरकारी रकम खर्च गरेर तयार पारिएको सो प्रतिवेदनमा नयाँ भाषाको एक्कासी जन्मको बारेमा देखिएको मौनताले ठूलो रहस्यमय आशङ्का उत्पन्न गर्छ।
सो प्रतिवेदनमा देखाइएका भाषाको तथ्याङ्कमा अरू पनि थुप्रै चमत्कारहरू विद्यमान देखिन्छन्। उदाहरणको रूपमा नेपालमा बोलिने भोजपुरीभाषीको जनसंख्याको तथ्याङ्कलाई लिन सकिन्छ।
राष्ट्रिय जनगणना २०४८ अनुसार नेपालमा भोजपुरी भाषा बोल्ने मानिसको जनसंख्या कुल जनसंख्याको ७.०५% रहेको थियो, राष्ट्रिय जनगणना २०५८ मा बढेर कुल जनसंख्याको ७.५३३ % पुग्यो। यस्तै राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा भोजपुरी भाषा बोल्ने मानिसहरुको जनसंख्या घटेर कुल जनसंख्याको ५.९८२२ % हुन आएको छ।
अर्थात् राष्ट्रियजनगणना २०५८ अनुसार देशको वार्षिक जनसंख्या वृद्धिदर २.२५ % रहे पनि २०६८ को जनगणनामा पूर्वको ७.५३३ %बाट घटेर ५.९८२२ %मा झर्नुलाई केन्द्रीय तथ्याङ्क विभागको चमत्कार रहेको तथ्य मान्नुपर्ने वाध्यता छ।
यो भोजपुरी भाषाको अस्मितामाथि नजाने कुन, कसको, र कुन उपलब्धिमूलक कारणको षड़यन्त्र हो यसै भन्न सकिन्नँ। हाल भोजपुरी भाषा नेपालको तेस्रो ठूलो भाषाको स्थानमा कायम छ। तर यस्तै अवस्था रहे आसन्न २०७८ सालको जनगणनामा सम्भवतः यो आफ्नो स्थानबाट च्यूत भएर चौथो स्थानमा झर्न बेर लाग्दैन।
अर्को कारण पनि विद्यमान छ। नेपाली भाषा हाम्रो प्यारो देश नेपालको जनगणना अनुसार नेपालको प्रथम भाषा हो। यो भाषा हाम्रो देशमा राष्ट्रिय भाषाको भद्रासनमा बसेर सम्पूर्ण राजकाजको भाषाको पगरी गुँथेको छ।
हामी नेपाली भएकोले यसको कदर गर्न हाम्रो दायित्व हो–हाम्रो भाषा हाम्रो देश, प्राणभन्दा प्यारो छ! तर हाम्रो भाषा भन्नाले कुन भाषा..? नेपाली? मैथिली, अवधी, नेवारी वा भोजपुरी..? पञ्चायत कालमा राजा महेन्द्रले दिएको सो नारा निश्चय नै देश भित्र बोलिने समस्त भाषाहरुको बारेमा थियो। तर केही अन्धभक्तले सो नाराको मनशायलाई बङ्ग्याएर हाम्रो भाषाको नाममा नेपाली भनेर व्याख्या गरेपछि अन्य भाषा ओझेलमा परे।
त्यसैले कारण ती अन्य स्थानीय भाषाको पर्याप्त विकास हुन पाएन। हाम्रो नेपालमा अहिले बदलिएको परिस्थिति छ, देश संघीयतामा गइसकेको अवस्थामा ओझेलमा परेका ती भाषाको पनि उचित र प्रर्याप्त विकास हुनेछ भन्ने आशा गरौं।