एक्कासी पानी दर्किन थालिहाल्यो। असोजको पहिलो साता सकिँदै गर्दाको यो रातमा पानीले निथ्रुक्क भिज्नुपर्दा चिसो कति गहिरोसँग बढेछ भन्ने अनुभूति गर्न समय नै लागेन। लुगलुग कमाउने भइसकेछ। यो झरी अझै केही दिन कायम रहने बताइएको छ। यही झरीलाई झेलिरहेका उनीहरु टेकुमा लाइन मिचिएला भन्ने डरले छातामा ओत लागिरहेका छन्। उनीहरु अर्थात् देशका भूइँमान्छे।
बिहानको २ बजेको यो झरीमा म टेकुमा छु। क्यामराको लेन्स सोझ्याउँदै कोभिड १९ को परीक्षणका लागि ज्यान फालेर रातभर रुगिँरेहका उनीहरुलाई देख्दा ती दृष्यहरु झलझली भए - जुन यिनीहरुजस्ता सीमान्तकृतका थिएनन्। पहुँचकै भरमा थ्रोट स्वाब लिन सरकारी खर्चमा नेतादेखि मिडिया हाउससम्म धाउनेहरुले उनीहरुको हालत बुझेको भए मेरा लागि यस्ता दृष्य खिच्नुपर्ने वाध्यता हुने थिएन। र, उनीहरुका कथा बुनिरहनुपर्ने थिएन।