निकै समयसम्म तालीको गड्गडाहटले संविधानसभा गुञ्जिरह्योे। बाहिर पनि हजाराैँ हजारको ताली र नाराबाजीको आवाज सभाहलभित्रसम्म सुनिरहेको त्योे दिन असोज ३ गते फेरि निकट आइपुगेको छ। राजनीतिक गतिरोध समाप्तिसँगै बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणाली शुभारम्भ ‘नेपालको संविधान २०७२’ घोषणा भयो। छ दशक लामो प्रतीक्षापछि इतिहासमा पहिलोपटक जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट जारी हुनुका साथै संविधान कार्यान्वयन गर्ने वचनका साथ संविधानसभा प्रतिनिधिसभामा रूपान्तरण गरियो। बैठक समाप्तिपछि सभासद्हरू बाहिर निस्कँदै गर्दा सडकमा हर्ष उल्लासका साथ भेला भएको विशाल जनसागर संविधानसभा सदस्यहरूलाई धन्यवाद भन्दै हाल मिलाउन आउने घुइँचो छिचोल्न हामीलाई झण्डै दुई घण्टा लाग्यो।
चारैतिर दीप प्रज्वलनले काठमाडौँ जाज्वल्यमान भै चम्किरहेको, नाराहरू घन्किरहेका र सुनिश्चित उज्ज्वल भविष्यको एक विश्वास आमजनतामा जागेको देखिन्थ्यो। सबैको अनुहारमा देखिएको चमकले विगतमा भोगेका १२ वर्षको माओवादी सशस्त्र द्वन्द्व, शाहीकाल, मधेस आन्दोलन, लामो संक्रमणकालीन अकल्पनीय, अनिश्चित र अस्थिर राजनीतिक परिस्थिति, संविधानसभा विघटन साथै विध्वंशकारी भूकम्पले पु-याएको अपुरणीय क्षति आदिबाट उत्पन्न अनगिन्ती राजनीतिक, आर्थिक र सामाजिक विचलन अन्त्य हुने आमअपेक्षा थियो। साथै कानुनी राज्यको स्थापना, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने आभाससमेत जनताले गरेका थिए।