को प्रतिपक्ष र कसको प्रतिपक्ष?

दीपक शर्मा -

यो प्रश्न जसप्रति लक्षित छ उसप्रति पूरा जिम्मेवारी पूर्वक र आग्रहका साथ प्रश्न गरिएको हो यो। हुन त प्रश्नले संविधान र व्यवस्था नै कमजोर हुन्छ भन्ने ज्ञान बाँड्ने शासकको देशमा प्रश्न गर्नु पनि अपराध नै होला। तर, बचेखुचेको र कागजमै सही, लोकतन्त्र भएको देशमा यतिको प्रश्न गर्ने चेष्टा गरियो। र, यो प्रश्न सत्तालाई नभएकाले अरिंगालको डर पनि राखिएन। लोकतन्त्रलाई आफनो निर्देशक सिद्धान्त मान्ने दल भएकाले र प्रश्नलाई प्रतिशोधकै रुपमा बुझिने संस्कार नभएकाले हार्दिकता पूर्वक केही तपसिलका प्रश्न उठान गरिएको छ। यतिखेर सारा मुलुक कोरोना र बाढी पहिरोको विपतसँग जुधिरहेको छ। जनताको सामान्य जीवन प्रक्रियामा असहजता थपिएको छ। सरकारी अकर्मण्यता र असक्षताले जनजीवनमा झन् अन्योलता थपिँदै गएको छ। सरकार हरेक क्षेत्रमा नालायक सावित भइसकेको छ। जनता बेसहारा जस्ता भइसकेका छन्। आशाको उजेली कतै देखिँदैन। सरकारका एक एक गलत गतिविधिबारे आमजनतालाई जानकारी भइसक्यो। कोरोनाले पूरै देशभर आपतकालको स्थिति बनाउन थालिसकेको छ। सरकारका यावत् बेथिति बाहिर आइरहेका छन्। सरकारको विरोधमा इनफ इज इनफको ब्यानरमा चेतनशील युवा सडकमा ओर्लिए। रोक, भोक र शोकले जनता पनि सडकमा आइसकेको विषम अवस्था छ। तर, यी सब विषयलाई प्रक्रियागत रूपमा उठाउनुपर्ने प्रतिपक्ष दल कहाँ छ? सरकारसँग उसका प्रश्न खोई? सरकारसँग जनधनका बारेका उसका चिन्ता खोई? जवाफदेहिताको माग गरेको खोई? आम जनतालाई 'हामी छौं' भन्दै आश्वस्त पारेको खोई? दलित भएकै आधारमा मारिएका शम्भु सदा, विजय राम, रोशन विश्वकर्मा जस्ता युवाका लागि न्याय मागेको खोई?

प्रकाशित मिति: : 2020-09-17 17:10:28

प्रतिकृया दिनुहोस्