ओली–प्रचण्डले भने : अन्तरविरोधका कारण बैठक नै अवरुद्ध हुने परिस्थितिको गम्भीरतालाई महसुस गर्छौँ

नेपाल खबर

काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटी बैठक अवरुद्ध हुनुलाई गम्भीर अवस्था भनेका छन्।

पार्टीका तल्ला कमिटीहरुलाई सरकार र पार्टीको जिम्मेवारीका विषयमा स्थायी समिति बैठकमा भएको सहमतिको औपचारिक रुपमा जानकारी दिनका लागि दुई अध्यक्षद्वारा जारी गरेको १९ बुँदे ‘अन्तर पार्टी निर्देशनमा–५’ भनिएको छ, ‘अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठकसमेत अवरुद्ध हुन गएको परिस्थितिको गम्भीरतालाई महसुस गर्दछ।’

विगतका कमी कमजोरीबाट शिक्षा लिँदै पार्टी एकताको रक्षा र विकास गर्ने संकल्प समेत उक्त निर्देशिकामा गरिएको छ।

‘विगतका कमी–कमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गर्दछ’, निर्देशिकामा भनिएको छ।

अन्तरपार्टी निर्देशनमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषय समेटिएका छन्।

प्रकाशित मिति: : 2020-09-15 11:58:06

प्रतिकृया दिनुहोस्