अरूलाई लकडाउन, उनलाई एक वर्षका लागि भ्याइनभ्याई काम

बुटवलका यमबहादुर थापा भारतीय सेनामा भर्ति भएको भए अहिले पेन्सन खाएर बसेका हुन्थे। सुवेदारबाट अवकाश पाएका उनका बुवा लालवीर थापा, हवल्दार बाजे जैबहादुर थापापछि उनका परिवारै भारतीय सेनामै जोडिए। यमबहादुरलाई पनि दबाब थियो।

'हामी लाहुरेका सन्तान। बाजे, बुवा, मावली बाजे, मामाहरू, ससुरा बुवा सबै लाहुरे। यस्तो परिवारमा जन्मिएपछि म लाहुरे नै होऊँ भन्ने अरूको चाहना हुनु स्वाभाविक हो,' यमबहादुर भन्छन्।

तर उनलाई अरू देशको सेवा गर्न मन थिएन। नेपालमै पनि उनलाई अरूको काम गर्न इच्छा भएन। अनि उनले आफ्नो सानैदेखिको रूचि नै पेसा बनाउने निधो गरे- कलाक्षेत्र।

आज उनको पहिचान यसैमा बनेको छ। उनले ढुंगा, सिमेन्ट र धातुमा जीवन खोज्न थालेको झन्डै तीन दशक भयो। भगवानका मूर्ति, सहिद, राजनीतिक दलका दिवंगत नेताका सालिक, बुद्ध लगायत दर्जनौं आकृति उतारिसकेका छन् उनले। अहिलेसम्म कति मूर्ति बनाए, सम्झना छैन।

'हिसाब राखेर पनि सकिँदैन। देवताका मूर्ति कति बनाएँ भन्ने गनिँदैन। ठूला सालिक ४० वटा जति बनाएको छु,' उनी भन्छन्।

बुटवल राजमार्ग चौराहमा लखन थापाको शालिक, भैरहवा देवकोटाचोक र बहुमुखी क्याम्पस तथा कपिलवस्तुको वाणगंगा लौगाईका लक्ष्मीप्रसाद देवकोटाका तीन वटा सालिक उनैले बनाएका हुन्।

त्यस्तै भैरहवाकै भानु माविमा भानुभक्त आचार्य, ट्राफिक चोकमा शंखधर शाख्वा, हिलपार्कमा अरनिको, पाल्पाको सत्यवतीमा सत्यवती बजै, दोभान पाल्पामै सहिद अविरल र चुमिमाया गुरुङ, बुटवलमा भूपि शेरचन, कृष्णसेन स्मृति ब्रिगेड, सैनामैना रूपन्देहीका लागि बनाएको कृष्णसेन इच्छुक र बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी सहिद देवीलाल पौडेलको सालिक ठड्याइसकेका छन्।

प्रकाशित मिति: : 2020-09-15 11:35:30

प्रतिकृया दिनुहोस्