अघिल्लो वर्ष चनदननाथ -१० बोहरागाउँकी स्याउ किसान गौकली सार्कीको रेड स्याउ ३० क्वीन्टल उत्पादन भएको थियो भने गोल्डेन स्याउ १४ क्वीन्टल। तर यो वर्ष त्यसको तुलनामा एक चौथाइ पनि उत्पादन भएन।
‘रातो स्याउ जम्मा चार क्वीन्टल भयो। पहँलो स्याउ पाँच, छ क्वीन्टल भन्दा बढी हुन्या नाई,’ उनले निराश हुँदै भनिन्, ‘यो वर्ष आपतै भइगो। पहिला सस्तैमा स्याउ बेचे पनि एक, दुई लाख काहिँ जान्छियानुन्। यो वर्ष बीस तीस हजार पुग्न्या नाई। यस्तो अभाव भयाको वर्ष स्याउ किन्न र राम्मो मोल दिन व्यापारी पनि उस्ता आएनन्। यस्तो क्या सत्तुर्यैलो भयो?’
गौकलीको जस्तै बगैंचामा स्याउ नफल्दा निराश छन्, चन्दननाथ -६ छिनाका किसान धनबहादुर थापा। उनको बगैंचामा गत वर्ष ५ सय बिरूवामा स्याउ फलेको थियो। तर यो वर्ष मुस्किलले ३० वटा बिरूवामा स्याउ फले, त्यो पनि फाट्टफुट्ट मात्र।
‘असिनाले मेरो बगैंचाको स्याउ सबै झारिदियो,’ उनले भने, ‘स्याउ नफलेपछि आम्दानी हुने आश भएन। अब त पेट पाल्नै मुस्किल हुने भयो।’
उसो त कर्णालीको अर्को जिल्ला मुगुका स्याउ किसानको पीडा पनि फरक छैन। सडक पुगेपछि व्यावसायिक स्याउ खेतीमा लागेका उनीहरु जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छन्। छायाँनाथरारा नगरपालिका–४ ताल्चाका ८२ वर्षीय गोर्ख रावल पनि स्याउ बगैंचातिर हेरेर निराश हुन थालेका छन्। उनको बारीमा ४ सय बोट स्याउ छन्। तर यस वर्ष पहिलेजस्तो स्याउमा दाना लागेनन्। स्याउका दाना नलागेपछि मनमा घाम पनि लागेको छैन।
उनले अघिल्लो वर्ष ३ ट्रक स्याउ बाहिर पठाएर ४ लाख रूपैयाँ कमाएका थिए। यो वर्ष भने आम्दानी आधा भन्दा बढीले घट्यो।
‘अन्नबाली लाउन छोडेर सबै जग्गामा स्याउ रोपे। असिनाले एक दाना पनि स्याउ बाँकी राखेन,’ उनले निराश हुँदै भने, ‘पहिले त यतिबेला लटरम्म स्याउ फलेका हुन्थे। आजभोलि बोट हेर्दै उदेक लाग्छ।’
उनी जस्तै छायानाथरारा नगरपालिकाका झन्डै ५ सय किसानको समस्या एकनासको छ। निराशा र उदेकमा फरकपना छैन।
जेठ पहिलो साता परेको असिनाले फुल्दै गरेका स्याउमा क्षति पुर्याएपछि आसपासका स्याउ बगैंचा खाली छन्।
ताल्चाकै मायादेवी भामको बगैंचामा स्याउका १ सय ८० बोट छन्। तर ती बोट स्याउका रित्तिएका कोखजस्ता छन्।
‘छोराछोरी पढाउन र घरखर्च कसरी टार्ने भन्ने समस्या हुन्या भैगो,’ उनले भनिन्, ‘स्याउका बोट यस्ता नाङ्गा भएको कहिल्यै देखिनँ।’
स्याउ नफलेपछि ताल्चा गाउँका झन्डै २ सय परिवार समस्यामा परेको स्थानीय सुत्त भामले बताए। उनीसहित जगत भाम, हरि रोकाया, बिजुल्ली खत्री र बाँचे महतराका बारीमा झन्डै ५/५ सय स्याउका बोट छन्। सडक पुगेपछि किसानले स्याउ जिल्लाबाहिर पठाउन थालेका थिए।
‘भाउ र बजारको समस्या नभएपछि अन्नबाली छोडेर स्याउखेतीमा लागेका थियौं,’ उनले भने, ‘बारी उजाड भएपछि कसरी घरखर्च चलाउने भन्ने चिन्ता हुन थाल्यो।’
रोकायाले गत वर्ष २ ट्रक स्याउ सुर्खेत र नेपालगन्ज पठाएका थिए।
किसानका गुनासा र कृषि विकास कार्यालय जुम्लाका अनुसार यस वर्ष कर्णालीका जुम्ला र मुगुका स्याउ किसानको उत्पादन करिब ५० प्रतिशतले घटेको छ भने कोरोना महामारीको कारण उत्पादित स्याउ पनि बजार पुर्याउन नसकिएको किसानको दुखेको छ।
गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष घटेर करिब ५ हजार १ सय मेट्रिक टन फलेको कृषि विकास कार्यालयको अनुमान छ। स्याउ फुल्ने र फल लाग्ने बेला असिना परेपछि उत्पादनमा कमी आएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए।
उनका अनुसार यो वर्ष उत्तरी क्षेत्रमा मात्रै स्याउ फलेको छ। ‘जुम्ला सबैतिर स्याउ फल्ने जिल्ला भए पनि यस वर्ष चिस्यान बढी भएको ठाउँमा मात्रै फल्यो,’ उनले भने, ‘असिना र तुसारोले स्याउ उत्पादन घटाएको हो।’
जुम्लाका किसान थापाले स्याउका बिरुवाको बिमा गरेकाले त्यसबाट केही राहत पाइने आशा व्यक्त गरे। उसो त जुम्ली किसानले ४० हजार बिरूवाको बिमा गरेका छन्। त्यसबाहेकका किसानको क्षतिपूर्तिको बाटो लगभग बन्द भएको छ।
स्याउ नफलेपछि मुगुका किसान भने राहतका लागि नगरपालिका र कृषि विकास कार्यालयमा निवेदन दिन थालेका छन्।
दाना लाग्ने बेलामा स्याउबारी उजाड बनेको छायानाथरारा नगरपालिका प्रमुख हरिजंग शाहीले बताए। उनका अनुसार अहिले नगरपालिकाको मइतु, झापार्गाड, माथितुम, झयारीलगायत क्षेत्रमा पनि स्याउका रूख नाङ्गै छन्।
स्याउ टिप्ने समय र बजारिकरणमा पनि समस्या छन्। किसानमा चेतानाको अभावका कारण भनेको समय भन्दा अगाडि स्याउ टिपेर गुणस्तरमा ध्यान दिइँदैन भने कोरोना महामारीका कारण स्याउ बजारसम्म जान पाएन।
कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेभन्दाअघि स्याउ नटिप्न किसानलाई आग्रह गरेको थियो। १० गतेपछि मात्रै बिक्रीका लागि अनुमति दिने भएपछि अधिकांश किसानले स्याउ टिपेर संकलन केन्द्रसम्म पुर्याइसकेका छन्। तर स्याउ व्यापारी भने किसानका बगैचामा पुगेका छैनन्। विगतमा यति बेला काठमाडौं सहित देशका विभिन्न सहरबाट व्यापारी जुम्ला पुगिसकेका हुन्थे।
‘व्यापारीहरू स्याउ खरिद गर्न नपुगे पनि हामीले बगैंचाबाट टिपेर गोदाममा राखेका छौं,’ जुम्ला गुठीचौरका किसान तिलक न्यौपानेले भने, ‘व्यापारी नआएपछि हामीले बाहिर लगेर बेच्ने योजना बनाएका छौं।’
सबै किसानले बाहिर लगेर बेच्न नसक्ने भएकाले यस वर्ष स्याउको बजारीकरणमा समस्या हुने उनले बताए।
अघिल्लो वर्ष १० ट्रक स्याउ बेचेका जुम्ला चन्दननाथ -१० का बिस्ने नेपालीले यो वर्ष जम्मा ३ ट्रक स्याउ नेपालगन्ज र सुर्खेत लगेर बिक्री गरे। अरू पनि स्याउ बेच्ने चाहना भएका उनी स्याउ नपाएर समस्या भएको बताउँछन्।
‘अघिल्ला वर्ष कति पटक किसानको बगैचामा पुगेर स्याउ खरिद गरेको हुँ। एउटै बगैचामा दुई ट्रकसम्म स्याउ हुन्थ्यो,’ उनले भने, ‘यो वर्ष त्यस्तो छैन। बगैचामा गयो भने सोचेजति स्याउ पाइदैन। यस्तो बेला धेरे बगैंचा चहारेर सम्भव पनि भएन।’
जुम्ला र मुगुका स्याउको प्रमुख बजार सुर्खेत, नेपालगन्ज, बुटवल, धनगढी, महेन्द्रनगर, काठमाडौं हुन्। हवाई सेवा सञ्चालनमा नरहेको र कर्णाली राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएकाले थप समस्या भएको व्यापारीहरु बताउँछन्।
स्याउ निर्यातका लागि भदौ १० अगाडि कसैलाई पनि अनुमति नदिएको कृषि विकास कार्यालय प्रमुख देवकोटा बताउँछन्। ‘स्थानीय प्रशासनसँग समन्वय गरी बजारमा स्याउ र तरकारी पुर्याउन आग्रह गर्यौं,’ उनले भने, ‘कम्तीमा सुर्खेतसम्म पुर्याउन सकिएको खण्डमा पनि किसानलाई धेरै राहत हुनेछ भन्ने लाग्यो।’
जुम्लामा १० हजार हेक्टरमा स्याउ खेती गर्न सकिन्छ। अहिले ३ हजार हेक्टरमा मात्र खेती गरिएको छ। त्यसको पनि आधा भूभागमा लगाइएको स्याउ मात्र फल्न थालेको कृषि विकास कार्यालयको भनाइ छ।