कोरोना भाइरसबाट संक्रमित भएका धेरै स्वास्थ्यकर्मी र डाक्टरहरूले आफ्नो अनुभव सुनाउँदै गरेको देख्दा हामीलाई पनि सुनाउन मन लाग्यो।
कोरोना संक्रमण नेपाल भित्रिएपछि मात्र सबैले कोरोना भाइरसबारे थाहा पाए। तर हामीहरू भने जतिबेला चीनमा कोरोनाको महामारी फैलिएको थियो, त्यो बेला राजधानी बेइजिङमा थियौं हामी दुवै।
त्यतिबेला त्यहा“ जाडो महिनाको बिदा भइरहेको थियो। वुहानमा कोरोना संक्रमित भएसँगै हामी बसेको ठाउँमा पनि लकडाउनजस्तै भयो।
हाम्रो कलेजको गेटमा पिपिई लगाएर, ज्वरो नापेर मात्र सामान किन्न पठाउने र फेरि फर्कंदा पनि ज्वरो नापेर मात्र कलेज भित्र पस्न दिने गरिरहेको थियो।
त्यहाँ नजिकै भएका विल्डिङहरूमा पनि त्यस्तै नियम बनाइएको थियो। कोरोना भाइरस फैलिएको थाहा हुनेबित्तिकै हामीले १५ दिनका लागि एकैचोटि अत्यावश्यक सामान किनेर ल्याएका थियौं।
हामी दुवैजना छात्रवृत्तिमा चाइनिज भाषामा अध्ययनरत थियौं। हाम्रो ५ वर्षको समयावधि थियो। हाम्रो पढाइ सकिन केही महिनामात्र बाँकी थियो। कोरोना कहरले सताइहाल्यो। श्रीमानभन्दा पनि म धेरै आत्तिएको थिएँ।
यहि पो मरिने हो कि कोरोनाले भन्ने लागिरहन्थ्यो? घर जान पाइँदैन कि भन्ने कुराले पिरोल्थ्यो। म टेन्सनमा थिएँ। घरबाट फोन गर्दा सबैले घर फर्केर आऊ भने। हामी दोधारमा परेका थियौं। जाउँ भने पढाइ सकिएको थिएन। नजाउँ भने मर्ने हो कि बाँचिने हो केही थाहा छैन।