कोभिड-१९ को विश्वव्यापी प्रभावले सबैभन्दा बढी असर परेको र एकदमै कम सम्बोधन भएको क्षेत्र ‘बालबालिका’ हुन्। नेपालको सन्दर्भमा त झन् कोभिड-१९ ले बालबालिकामाथि परेको प्रभावबारे शून्य अध्ययन भएको छ, शून्य योजना आएको छ, शून्य काम भएको छ। हो, शून्य!
शिक्षामन्त्री गिरिराजमणि पोखरेल मूलत: प्रवचनमुखी देखिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश समय निर्देशनमुखी र भाषणमुखी देखिन्छन्। बालबालिकाको रोकावटरहित विकास अहिलेको सरकारको प्राथमिकता होइन। कम्तीमा व्यवहारमा त्यो देखिएको छैन।
सबै बालबालिकाहरु अहिले घरमा छन्। स्कुल जान पाएका छैनन्। खेल्न जान पाएका छैनन्। प्रकृतिमा निस्कन पाएका छैनन्। जीउ तन्काउन पाएका छैनन्। मन तन्काउन पाएका छैनन्। उनीहरुको बृद्धिमा बाधा पुगेको छ। उनीहरु आफ्नो विकासमा समग्र रुपमा परिवार वा अभिभावकको भर पर्नुपरेको छ। राज्य वा राज्यका अंगहरुले यसमा कुनै भूमिका खेल्न सकेका छैनन्।