२० वर्षे जवानी। आँटिलो र जोसिलो उमेर। साथ जिम्मेवारीका खात (चाङ) थिए। तर, एउटै सपना थियो, सहरमा घर बनाउने । सिंगो परिवारलाई खुसीका साथ पाल्ने । १४ जनाको परिवारको भार उनकै काँधमा थियो ।
दुई चार अक्षर पढेको भए पनि रोजगारी थिएन। घरको गरिबीलाई चिर्नु थियो। अभावबाट छुटकारा पाउनु थियो उनलाई। धन कमाउने अभिलासा बोकेर ३ वर्ष अघि साउदी अरब उडे ।
साउदी अरब उड्नु अघि धेरै सपना बुने। जब बिरानो देशमा पुगे। त्यहाँ पुगेपछि सोचे जस्तो भएन। उनलाई लाग्यो,‘सोचे झै जिन्दगी रैऽनछ।’
दैलेखका देवानन्द जैशी, सन्ज्याल घरका जेठो छोरा हुन्। त्यहीँ भएर उनलाई घरको जिम्मेवारी धेरै थियो। एकातिर धन कमाउने सपना, अर्कातिर घर परिवारको जिम्मेवारी, उनलाई निकै नै समस्या थियो।
साउदी अरबको प्रचण्ड गर्मीमा पसिना चुहाउनु पर्दाका दुःख सम्झिँदै जैशी भन्छन्, ‘पहिला त न काम सिकेको न भाषा। विभिन्न कारणले लामो समय निकै समस्या झेल्नुपर्यो। समय मै काम अनुसारको दाम पनि पाइन्थेन।’
उनलाई जसरी पनि धन कमाउनु थियो। साउदी अरबको घाम, पानी, दिनरात अनि भोक प्यास केही पनि भनेनन्। १८ घण्टामा होटलमा ड्युटी गर्नुपर्थ्यो। परिश्रम अनुसारको फल नआउने भने उनी निकै निरास हुन्थे। कहिले काँही त छोडेर हिड्दिउँ जस्तो लाग्थ्यो।
उनी होटलमा काम गर्थे। ३ महिला क्लीनरको काम गरे। दुई महिना फुड पिकपको काम । फुड पिकप गर्दाको त्यति बेलाको क्षण सम्झिदै उनी भन्छन्, ‘ग्राहकलाई तीन औंलामा अड्याएर कोठामा खाना, नास्ता लगिदिनु पर्थ्यो। मैले केही पनि जानेको थिइन। पहिला पहिला निकै समस्या भयो। दुई पटक खलासेको थिए।’
सुपर भाइजरले निकै गाली गरेको थियो । वार्निङ दियो, १ महिनाको तलब नै काटिदियो। पछि जिम्मेवारी परिवर्तन गरिदियो। अर्डर टेकरको काम गरे। जुन पहिलाको भन्दा अलि सजिलो थियो। तर घण्टा बढ्यो। दैनिक ५ सय १ हजार जनासम्मको अर्डर लिनुपर्ने हुन्थ्यो। जहाँ उनले आठ महिना काम गरे। १ वर्षपछि उनी रूम क्याप्टेन भए। अर्कोको देशमा महिने पिच्छे भूमिका परिवर्तन हुँदा दुःख त हुन्थ्यो, त्यसले नै सिकायो उनलाई दुःख के हो, संघर्ष के हो ,लाग्यो, गरे कुने रहेनछ।
पराईको देश। आफ्ना भन्ने कोही पनि थिएनन्। काम गर्दा शारीरिक पीडा त थियो नै, त्यो भन्दा मानसिक पीडाले पोल्थ्यो घरीघरी।
उनको भौतिक शरीर मात्रै त्यहाँ थियो। तर उनको तन, मनमापाखा पखेरा, आमा बाबा, आफन्त अनि आफू जन्मेको बाटो मै हुन्थ्यो।
‘चरी भए उडेर आउँथे,’ उनी भन्छन्, ‘घरको याद आउँदा निकै पीडा हुन्थ्यो ।एक्लै रून्थे अनि आफैंलाई सम्झाउँथे।’ एक मनले भन्थ्यो, तँ कमाउन आएको होस हरेक खान होइन।
अन्नतः३ वर्षपछि उनी घर फर्किए । नयाँ जोस र जाँगरका साथ। अब भने उनीसँग दुःख गरेर कमाएको केही पैसा थियो।
गाउँमा हल्ला भयो, फलानोको छोरा विदेशबाट आयो। लाखौँ कमाएको छ रे, घडेरी पनि किन्यो रे। थोरै पैसा कमाए पनि पराईको भूमिका दुःख गर्दाका कष्टकर दिन उनलाई मात्रै थाहा थियो।
आफ्नो र परिवारको सपना पुरा गर्न उनी दैलेखबाट तराईमा झरे। बाँकेको बैथनाथ गाउँपालिका ४ तिलकपुरमा बस्न थाले। सोचे जस्तो जिन्दगी नभए पनि हिम्मत हारेनन्। अठोट गरे, यहीँ अब केही गर्छु।
साउदी अरबमा बितेको ३ वर्ष, होटलमा गरेको काम र अनुभव। बाँकेमा झरेपछि पहिला परिवारलाई बस्नको लागि घर बनाए। आमा बाबा, श्रीमती, छोराहरू भाइ सबैलाई यति ल्याए। विदेशबाट दुःख गरी कमाएर ल्याएको अलिअलि रकम सकियो।
पछि घर व्यवहार चल्न समस्या भयो। भाइहरू बढि भएकाले पनि कोही कता, कोही कता थिए। देवानन्दले केही समय भारत जाने निधो गरे। विदेशबाट फर्किएको केही समय मै उनी भारत छिरे उनी। घरमा श्रीमती र बुढा आमा बाबालाई छोडेर। एनका माहिला भाइ भारतको उत्तर काँशीमा भाई व्यापार गर्थे। त्यहाँ उनले घरमा प्लस्टर गर्ने काम गरे। आठ महिना काम गरे। दुवै भाइ मिलेर केही रूपैयाँ कमाए र घर फर्किए। भारतमा छोटो समयमा ४ लाख रुपैयाँ कमाएको उनले बताए।
अब विदेश जान्न, आफ्नै देशमा केही गर्छु भन्ने हुटुहुटी थियो। नयाँ व्यापारका विकल्प बारेमा सोच्न थाले। सबै सँग सल्लाह पनि गरे। विदेशमा लामो समय होटल मै काम गरेको अनुभव उनीसँग थियो। कोहलपुरस्थित मेडिकल कलेज शिक्षण अस्पतालको पूर्वी गेट नजिकै होटल किने। उनी भन्छन्, केही महिना व्यापार ठिकै चल्यो। घरको एकक तला थपे। सबै परिवार यति बस्न थाल्यौं। तर सोचे जस्तो कमाई भने भएन।
उनले सोचेजस्तो होटल बेचेर नयाँ ठाउँमा सर्ने निधोमा पुगेको जानकारी दिए। होटल बेचेको एक महिनापछि कोरोना कहरका कारण लकडाउन भयो। चार महिना खाली बसे।
बिएल नेपाली सेवासँग उनले भने, ‘कोरोना कहरका बीच ठिकै चलिरहेको छ। हेर्दे जाउँ आगामी दिनमा के हुन्छ। दुःख गरे फल त पाइएला नि।’ अहिले गोलपार्क नजिकै ‘सन्ज्याल खाजा घर’ खोलेका छन्। बिहान र साँझ साइकलमा तरकारी बेच्छन्, दिउँसो खाजा घरमा ग्राहकको सेवामा व्यस्त हुन्छन्, देवानन्द।