ड्रग्स कारोबारमा सैफ अलिको छोरीको नाम बाहिरियो

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीले ड्रग्स कारोबारमा चर्चित अभिनेता सैफ अलि खान पटौदीकी छोरी सारा अलि खानको नाम बताएकी छिन्। 

रिया र सारा अलि मिल्ने साथी हुन्। सुशान्तको जीवनमा रिया आउनुअघि सारासँग उनको सम्बन्ध भएको भारतीय मिडियाले बताएका छन्। सुशान्त र साराले फिल्म ‘केदारनाथ’ मा काम गरेका थिए। यिनीहरू घुम्न थाइल्याण्ड पनि गएका थिए। तर, केही समयपछि नै उनीहरूको ‘ब्रेक–अप’ भएको थियो। 

ड्रग्स कारोबारमा रिया विगत ४ दिनदेखि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को हिरासतमा छिन्। सोधपुछका क्रममा उनले २५ जना बलिउड सेलिब्रिटीको नाम बताएको मिडियाले उल्लेख गरेको छ। तर, यसमा श्रोत उल्लेख गर्दै सारा अलि खानको नाम सार्वजनिक भएको हो। 

रियाले एनसीबीलाई बताएको नाममा दक्षिण भारतकी पूर्व नायिका रकुलप्रित सिंहको नाम पनि छ। बलिउडमा त्यति जम्न नसकेकी रकुलप्रित रियाको जिम पार्टनर पनि हुन्। उनलाई हैदराबाद सरकारले ‘बेटी बचाओ। बेटी पढाओ’ अभियानको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको थियो। 

यस्तै, फेसन डिजाइनर सिमोन खम्बाटा, सुशान्तको साथी रोहणी ऐय्यर तथा निर्देशक महेश छावडाको नाम पनि रियाले ओकलेकी छिन्। एनसीबीले यिनीहरू लगायत ठूला कलाकारलाई ड्रग्सको अनुसन्धान गर्न छिटो बोलाउन सक्ने सम्भावना प्रबल छ।

प्रकाशित मिति: : 2020-09-13 08:52:01

प्रतिकृया दिनुहोस्