वीरगञ्ज महानगरपालिका ३१ बेलवाका ३० वर्षीय सतन माझीको दैनिकी दुःख सुख चलेकै थियो। मजदुरी गरेर दुई नाबालक छोराछोरी, पत्नी र आमाको पेट पालिरहेका थिए।
वीरगञ्जमा लामो समयदेखि जारी लकडाउन र निषेधाज्ञाका कारण उनले रोजगारी गुमाए। उनले अन्य काम पाउन सकेनन्। आम्दानीको बाटो बन्द भयो, परिवारमा भोकमरी नै लाग्ने स्थिति आयो।
यता साउन १० देखि महानगरपालिका क्षेत्रभित्र तथा साउन १९ देखि पर्सा जिल्लाभरी लागु हुने गरी निषेधाज्ञा गरिएको थियो। भदौ १३ यता महानगरक्षेत्रभित्र मात्र निषेधाज्ञा लागू गरिएको छ। जुन निषेधज्ञा भदै २५ गते मध्यरातमा सकिँदै थियो।
उनले निषेधाज्ञा हुँदा परिवारलाई पेटभरि खुवाउने अन्य विकल्प पाउन सकेनन्, र उही पिडा सहन गर्न नसकेर उनी मृत्यु रोज्न बाध्य भए।
शुक्रबार उनले बिष सेवन गरे। विष सेवनपछि छटटवटाइरहेका माझीलाई उपचारको लागि नजिकै रहेको नेपाल इन्डो अस्पताल वीरगञ्जमा पुर्याए, तर उनी जिवित रहेनन्।
उपचारकै क्रममा उनले मृत्यु भएको परिवारले बताएका छन्।
लकडाउनको कारण दुई छाक खानाको जोहो गर्न नसकेपछि तनावमा उनले विष सेवन गरेको मृतकका परिवारजन बताउछ। ‘काम पनि थिएन र खाना पनि। सोही कारण उनले आत्महत्या रोजेका हुन्,’ एक परिवारका सदस्यले भने।
यता अस्पतालले माझीकाे उपचार गर्दा लागेको भन्दै ९ हजारभन्दा बढीको बिल हातमा थमाए, जुन रकम परिवारले तिर्न सकेनन्।
‘दुई छाक जोर्न नसक्ने दलित परिवारले ९ हजार शुल्क कसरी तिर्न सक्छन्,’ सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव दिलीप प्रधान भने, ‘खान पाउने भएको भए उनले मृत्यु रोज्ने थिएनन् होला।’
अहिले माझीको पारिवारिक अवस्था हेरेर सचिव प्रधानको पहलमा अस्पतालले बिल मिनाहा गरिएको छ।