टेम्पो चालक विष्णुमाया ब्लोनलाई हामीले बिहीबार बिहानै फोन सम्पर्क गर्यौं।
फोन उठ्नुअघि कलर ट्युनमा एउटा गीत बज्यो-
रोए पनि बित्छ जीवन, हाँसे पनि बित्छ
खुसी–खुसी जल्ले बाँच्छ, तेल्ले संसार जित्छ
गायक प्रकाश सपुतको स्वरमा रहेको यो गीत अहिले उनलाई ठ्याक्कै मिल्दो भएको छ। विष्णुमायाको मात्र होइन, यातयात मजदुरहरूको समान समस्या र समस्या जित्ने आकांक्षा हो यो।
बिहीबारबाट निषेधाज्ञा खुकुलो भयो। सार्वजनिक सवारी जोरविजोर मापदण्डमा चल्न थाले। तर माइक्रो र टेम्पो चल्न नपाउने भएपछि विष्णुमायाका हातखुट्टा झनै गलेका छन्।
'खोलेपछि त हाम्रो टेम्पो पनि चलाउन दिनु पर्ने हो नि, हामीले चाहिँ भात खानै नपर्ने हो र? कसैलाई काखा, कसैलाई पाखा गरेजस्तो भएन र,' विष्णुमायाले भनिन्।
लकडाउनअघि विष्णुमायाको जीवन सामान्य थियो। गल्फुटार बस्ने उनी बिहानै सार्वजनिक गाडी चढेर चाबहिल आउँथिन्। त्यहाँबाट सिफलस्थित टेम्पो चार्ज गर्ने स्टेसन पुग्थिन्।
त्यसपछि दिनभरी अनामनगर-सुन्धारा रूटमा टेम्पो चलाउनु उनको दैनिकी थियो। उनका श्रीमान पनि निजी गाडी चलाउँथे। सासू–सुसुरा, जेठाजु –जेठानी र बच्चाहरू सहितको उनको ठूलो परिवारमा त्यति ठूलो समस्या केही थिएन।