सर्पका राजालाई जोगाउनै गाह्रो, देख्यो कि मार्न तम्सिहाल्छन्!

  • राजु आचार्य -

हृदय छुने तस्बिर

यही भाद्र ६ गते सर्पको एउटा हृदय विदारक तस्बिर फेसबुकमा राखियो। शरीरभरि घाउ। माथिल्लो घाउबाट हड्डी समेत बाहिरिएको प्रस्ट देखिएको थियो। शरीरका काँचुली ठाउँ ठाउँमा च्यात्तिएका। गुँड कुरेर बस्ने बेलामा सो घटना मानिसले गराएका थिए। सर्पले आफ्नो गुँड र गुँडमा रहेका फुलहरू जोगाउन गरेको सङ्घर्ष उसको शरीरको हालबाट प्रस्ट देखिन्थ्यो। नजिकै गुँडमा रहेको फुल पनि मानिसले पूर्ण रूपमा फुटालेका थिए। ढुङ्गाले गुँडलाई क्षतविक्षत पारिएको थियो।

त्यही घम्साघम्सीमा सर्प नराम्ररी घाइते भयो। मानिसले जिते, सर्पले हार्‍यो। सर्प पनि चानेचुने थिएन, सर्पको राजा पो थियो। तर, के गरोस्, ज्याद्रा मानिससँग सके पो! सबै मानिसहरू पापी पनि काहाँ हुन्छन् र? घाइते सर्पलाई प्रकृतिमा रुचि राख्नेहरूले देखेपछि उद्धारका लागि फोन गरे। त्यो सर्पलाई ‘सर्प संरक्षण समाज नेपाल’ का स्वयम सेवकहरूले उद्धार गरी पचभैया स्थित ‘उद्धार केन्द्र’मा बुझाए। सो केन्द्रले पनि गर्न सक्ने केही थिएन।

चितवन र काठमाडौँ बाहेक नेपालमा वन्यजन्तुको उपचार राम भरोसेमै चल्दै आएको छ। सर्प समेत सबै वन्यजन्तु बाँच्यो भने, उद्धार गर्‍यो भनेर सामाजिक सञ्जालमा हिरो हुने, मर्‍यो भने कसैलाई खबरै नगर्ने परिपाटी आजभोलि सामान्य हुन थालेको छ। उद्धार गरिएको त्यो सर्प मर्‍यो। गहिरो घाउमा लगाइएको बेटाडिनले निको पारोस् कसरी?

मरेको सर्प काली नाग थियो। यसलाई राज गोमन भनेर पनि चिनिन्छ। अङ्ग्रेजीमा किङ्ग कोब्रा। सर्पको राजा। यही सर्पको तस्बिर अनुसन्धानकर्मी तथा संरक्षणकर्मी ऋषि बरालले आफ्नो फेसबुकमा राखेपछि त्यो भाइरल बन्यो। दु:खका प्रतिक्रियाहरू आइरहेका थिएl उनी आफैँ पनि भावुक बनेर सामाजिक सञ्जालमा पोष्टाएका थिए फोटो।

सर्पका विज्ञ तथा प्राध्यापक करनबहादुर शाहले प्रतिक्रिया लेखे- ‘असाध्यै लाजमर्दो, नाग देवताले अपराधीलाई सजाय दिउन्।’

जीवनमा पहिलो पटक सर्प बचाउन हिँड्दा ‘किङ्ग कोब्रा’कै उद्धार गरेका पोखरा ह्याग्जाका केशव सापकोटाले लेखे - ‘रानीलाई श्रद्धान्जली।’

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले लेखे - ‘कृपया सर्प नमारौँ... प्रत्येक जिवित प्राणीलाई संरक्षण गर्नैपर्छ।’

वन्यजन्तुमा रुचि राख्ने विनय घिमिरेले आक्रोश यसरी पोखे - ‘जनावरभन्दा बढी हिंस्रक र अराजक भएर लाज पचाउने काम नगर। मान्छे हुँ भन्ने दम्भ होला तर अलि लाज पनि मान्ने गर।’

पोथी राज गोमन मरेपछि सधैँ झैँ प्रश्नहरू उठ्यो - ‘मानिसले सर्प देखिने बित्तिकै मार्ने हो भने, यसको संरक्षण कसरी हुन् सक्छ?

प्रकाशित मिति: : 2020-09-09 14:25:09

प्रतिकृया दिनुहोस्