बलिउडका २५ स्टार कलाकारमाथि ड्रग्स कारोबारको आशंका

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको छानवीन गरिरहेको नारकोटिक्स कन्ट्रोल एजेन्सी (एनसीबी) ले ड्रग्सको कारोबारमा जोडिएका बलिउडका २५ सुपरस्टारको नाम फेला पारेको छ। 

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती तथा उनका भाई शौविकबाट यसको जानकारी प्राप्त गरेको हो। अभिनेता सुशान्तको निधनको घटना अहिले केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले हेरिरहेको छ। 

गत जुन १४ मा सुशान्त मुम्बईस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए। मुम्बई प्रहरीले उनले आत्महत्या गरेको घोषणा गरेपनि फोटो र भिडियो फुटेजले यसलाई पुष्टी नगरेपछि सीबीआईले हत्याको एंगलबाट यसको छानवीन गरिरहेको छ। 

सीबीआईको छानवीनकै क्रममा ड्रग्सको मुद्धा बाहिरिएको हो। एनसीबीले सुशान्तकी प्रेमिका रियासँग लगातार तीन दिन अनुसन्धान गरेपछि उनले २४ जना बलिउड स्टारहरू ड्रग्सको खरिद विक्रीमा संलग्न रहेको जानकारी दिएकी थिइन। 

यसअघि अभिनेत्री कंगना रनौटले रणवीर कपुरलगायत ३–४ जनाका स्टार कलाकारको नाम सार्वजनिक गर्दै उनीहरूको डोपिङ टेस्ट गर्न आग्रह गरेकी थिइन। 

एनसीबी श्रोतका अनुसार बलिउडका सुपरस्टारदेखि अभिनेत्री, फिल्म निर्माता–निर्देशक पनि ड्रग्स कारोबारमा जोडिएका छन्। एनसीबीले २५ जनाको नाम समावेश गरेपछि कुनै पनि बेला उनीहरूको घरमा छापा पर्ने वा बयानका लागि बोलाउन सक्ने बताइएको छ। 

गत सेप्टेम्बरमा अमेरिकामा ड्रग्सका कारोबारी पक्राउ परेका थिए। पक्राउ परेका कारोबारीले पनि भारतीय फिल्म उद्योगका केही हस्तिहरू संगठित रूपमा ड्रग्सको कारोबारमा संलग्न रहेको खुलासा गरेका थिए। 

छानवीनकै क्रममा भारतको एउटा औषधी कम्पनीमा प्रतिबन्धित मेन्ड्रेक्स र एफेड्रिनको उत्पादन हुने गरेको तथ्य उजागर भएको थियो।

प्रकाशित मिति: : 2020-09-09 09:21:42

प्रतिकृया दिनुहोस्