लद्दाखमा दोहोरो फायरिङ, चीन र भारतका सैनिकबीच पुन: भिडन्तको खतरा

चीन– भारत सीमा क्षेत्रमा दुई देशका सैनिकबीच दोहोरो फायरिङ भएको छ। 

भारतीय समाचार एजेन्सी एएनआईले पूर्वी लद्दाखमा फायरिङ भएको उल्लेख गरेको छ।

चिनियाँ सैनिकले भारतीय सैनिकले पहिले वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ। 

तर, चिनियाँ सेनाले भने यो कुरा अस्वीकार गर्दै भारतले पहिला फायरिङ सुरु गरेको दावी गरेको छ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ सेनाका प्रवक्ताको भनाइ उधृत गर्दै भनेको छ, ‘स्थिति नियन्त्रणमा लिन चिनियाँ सेना पनि फायरिङ गर्न बाध्य भयो।’

कतिपय भारतीय सञ्चारमाध्यमले भने पहिले चिनियाँ सैनिकले फायरिङ गरेपछि आफ्नाे सैनिक बाध्य भएर त्यसको जवाफ दिएकाे दावी गरेका छन्। 

सन् १९७५ पछि सीमामा भारत र चीनका सैनिकबीच यो पहिलोपटक फायरिङ भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यसअघि गत शनिबार र आइतबार राति प्याङगोङ ताल क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको थियो। जसमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दावी गरिएको छ। तर, यस क्रममा के कति हताहती भयो भन्नेबारे दुवै देशका अधिकारीलेहरुले अहिलेसम्म केही बताएका छैनन्।

दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए। त्यसपछि दुई देशका सैनिकबीच पटपटक वार्ता गरी सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भए पनि पुनः तनाव सुरु भएको छ। 

चार हजार ५६ किमि लामो सिमाना जोडिएका भारत र चीनबीच अधिकांश क्षेत्रमा निर्धारित स्थायी सिमाना छैन र प्रायजसो ठाउँमा लाइन अफ कन्ट्रोल (एलएसी) अर्थात् वास्तविक नियन्त्रण रेखालाई नै सीमा रेखा मानिएको छ। जसका कारण बेलाबेलामा झडप हुने गरेको छ।

प्रकाशित मिति: : 2020-09-08 07:15:02

प्रतिकृया दिनुहोस्