चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता

एजेन्सी

बेइजिङ

चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसीको राजधानी मस्कोमा भेटवार्ता भएको छ। चीन र भारतबीच सिमाना समस्याका कारण सम्बन्धमा तनाव देखिएका समय दुई देशका रक्षा मन्त्रीले प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको छ। वार्तामा दुई पक्षले राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारेर वार्ता तथा परामर्शद्वारा समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको बताइएको छ।

भेटमा दुई देशका सन्धि तथा सम्झौताको पालना गर्दै अग्रक्षेत्रमा फौजको नियन्त्रणलाई सबल पारेर वर्तमान वास्तविक नियन्त्रण लाइन पार गरी नचिढाउने, परिस्थितिलाई चर्को पार्ने गतिविधि नचाल्ने र नकारात्मक सूचना प्रचार नगर्ने र नफैलाउने विषयमा छलफल भएको मन्त्री वैले बताए।

दुबै पक्षले दुई देश र क्षेत्रको शान्ति तथा स्थिरताका लागि साझा प्रयासमा वर्तमान घटनालाई कम गर्दै सिमानाको शान्ति तथा स्थिरताको पक्षमा कुरा राखेका बताइएको छ।

वर्तमान अवस्थामा सिमानाको शान्ति तथा स्थिरता द्विपक्षीय सम्बन्धका लागि ज्यादै महत्वपूर्ण रहेको भारतीय रक्षामन्त्री सिंहले जोड दिएका थिए। चीन र भारतले सैन्य तथा कूटनीतिलगायत वार्ता मञ्चको संचालनलाई कायम राखेर वार्ता तथा परामर्शद्वारा शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्नुपर्ने उनले बताएको चिनियाँ स्रोतले उल्लेख गरेको छ।

के भने सिंहले?

भारतीय रक्षामन्त्री सिंहले सीमामा स्थितिलाई सामान्य राख्नका लागि भारतीय सैनिकको भूमिका जिम्मेवारपूर्ण रहेको चिनियाँ रक्षा मन्त्रीलई बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। साथै उनले यो पनि भनेका छन, ‘आफ्नो सम्प्रभुता तथा सीमा रक्षाका लागि हाम्रो प्रतिबद्धतामाथि कुनै सन्देह हुन जरुरी छैन।’

नियन्त्रण रेखा नजिक ठूलो संख्यामा चिनियाँ सैनिकको तैनाथी दुई देशबीच बनेको सहमतिको उल्लंघन भएको सिंहको भनाइ थियो। दुई देशका शीर्ष नेताले उक्त क्षेत्रमा शान्ति स्थापित गर्न सहमति जनाएकामा जोड दिँदै सिंहले यो दुवै देशको आपसी सम्बन्धलाई बढाउनका लागि जरुरी रहेको र यसका लागि कुनै पनि मतभेदलाई विवादसम्म बढाउन नहुने भनाइ चिनियाँ समकक्षीसँग राखेका थिए।

चीनले भारतसँग मिलेर तनावपूर्ण अवस्थालाई छिटोभन्दा छिटो समान्य बनाउन आवश्यक रहेको र विवादित क्षेत्रमा तैनाथ रहेका सैन्य संख्या कम गर्नुपर्ने सिंहको भनाइ थियो। वर्तमान अवस्थालाई समझदारीपूर्वक सम्हाल्नुपर्ने आवश्यक रहेको बताउँदै मन्त्री सिंहले कुनै पनि पक्षले स्थितिलाई थप जटिलब बनाउने गरि कारबाही गर्न नहुने भनाइ वार्तामा राखेका थिए। 

चिनियाँ रक्षा मन्त्रीले के भने?

चिनियाँ अखबार साउथ चाइना मर्निङ पोष्टले चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै वार्तामा चिनियाँ रक्षा मन्त्री वी फेङ्हेले अघिल्लो महिना सीमामा भएको तनावका लागि भारतलाई जिम्मेवार ठहर्‍याउँदै तनाव कम गर्न अपील गरेको बताएको छ।

दुई देशका रक्षा मन्त्रीबीच करिब दुई घण्टा चलेको वार्तामा चिनियाँ रक्षा मन्त्रीले सीमामा सिर्जना भएको तनावको कारण र वास्तविकता स्पष्ट भएको भन्दै यसको सम्पूर्ण जिम्मेवारी भारतको भएको बताएका थिए।

चिनियाँ रक्षामन्त्रीले चीन आफ्नो क्षेत्रका एक इन्च जीमन छोड्न नसक्ने र राष्ट्रिय सम्प्रभुता तथा आफ्नो सीमाको रक्षाका लागि चीनको सेना पूर्णरुपमा प्रतिबद्ध, सक्षम र निश्चित भएको बताएका थिए।

विवादित क्षेत्रमा शान्ति कायम राख्न दुई देशको शीर्ष स्तरमा सहमति बनेको भन्दै चिनियाँ रक्षामन्त्रीले भारतले तनाव बढाउन नहुने र गलत तथ्यलाई प्रचार नहुने बताएका थिए।

प्रकाशित मिति: : 2020-09-05 22:34:30

प्रतिकृया दिनुहोस्