विश्वेश्वरप्रसाद कोइराला
कोसीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोग व्याधि फिँजियो । ती असहायका सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा पुगेँ । साथमा कुइनेन्, क्लोरोडाइन, पोटास पर्मेगनेट इत्यादि औषधि थिए ।
बनारसबाट हिँड्दा हामीहरूले सारा प्लान छलफल गरिसकेका थियौँ । एउटा इलाकामा पुगेर त्यहाँका गाउँगाउँमा गई औषधि बाँड्ने, प्रत्येकले आफूलाई चाहिने कुरा लिएर हिँड्नुपथ्र्यो । मैले औषधि त लिएँ, झुल पनि बोकेँ तर दुर्भाग्यवश पुस्तक लिन बिर्सेछु ।
इलाकाका इलाका पानीमा थियो । पानीबाट माथि उठेका झारहरूमा फट्याङ्ग्रा, कमिला र अरू सानासाना कीराले आश्रय लिएका थिए । एक–दुई नडुबेका अग्ला ठाउँमा लोग्नेमानिस, स्वास्नीमानिस, बाल, बालिकाहरू कमिलैसरह स्याउँस्याउँती थिए । रोग र भोकले व्याकुल ती किसानहरू उभिन नसकेर त्यसै जथाभावी लडिरहेका थिए, चितामा सुतेका जस्ता । तिनीहरूमध्ये कतिले सुत्तासुत्तै अन्तिम सास फेरिसकेका थिए तर नजिकै टाँसिएर सुतेका अरू अझै बाँचिरहेकालाई यो कुरा थाहै थिएन । एउटा बान्ता गर्दागर्दै पानीनेर मुन्टो गाडेर पछारियो । बेलाबेलामा मर्नुभन्दा पहिले निर्धक्क भएर चिच्याएको कुकुरजस्तो क्रन्दन सुनिन्थ्यो । यो त मैले त्यो ठाउँको वर्णन गरेँ, जुन ठाउँ बाढीको सबभन्दा ठूलो प्रकोपमा परेको थियो । सरकारको विज्ञप्तिमा यो ठाउँमा प्रायः १० हजार मान्छे मरेको सूचना थियो ।