अब आम्दानी गुम्ने मात्रै होइन, व्यवसाय नै ढल्ने स्थिति आउँदै छ

अर्थतन्त्रमा कोरोनाको असरबारे छलफल गर्दा सबैभन्दा पहिला केही आधारभूत कुरामा सहमति हुन आवश्यक छ । सबैभन्दा पहिलो कुरा अब कोभिड– १९ स्वास्थ्य महामारी मात्रै रहेन । यसले मुलुकका सबै क्षेत्रहरू– अर्थतन्त्र तथा व्यवसाय, रोजगारी, सामाजिक न्यायलगायतमा मात्रै होइन, मानिसहरूमा मनोवैज्ञानिक असरसमेत पारेको छ । अर्थात्, महामारी यी सबै क्षेत्रमा फैलिसकेको छ । त्यसो हुँदा यसबाट पार पाउन पनि यी सबै क्षेत्रका लागि एकीकृत पहल हुन आवश्यक छ । 

महामारीबाट जीवनको रक्षा अहिलेको प्रमुख प्राथमिकता हो, तर सँगसँगै अर्थतन्त्र एवं समाजको रक्षाका लागि पनि केन्द्रित हुनुपर्छ । तर, सरकारले कोरोना नियन्त्रणका लागि मूलतः लकडाउनको उपाय अवलम्बन गरिरहेको छ । तर, यो लकडाउन मात्रै संकट निवारणको उपाय होइन, मानवीय तथा आर्थिक जीवन रक्षाको एकीकृत रणनीति बनाउने विषयमा मुलुकले सोच्नुपर्छ । अहिले यो समस्याले सिर्जना गरेका चुनौती र अवसरलाई मध्यनजर गर्दै तत्कालै कसरी सुधार गर्न सकिन्छ, त्यो गर्नुपर्छ । यो काम सरकार एक्लैले मात्रै गर्न सक्दैन । यसमा सबैको उत्तरदायित्व र सहभागिताको आवश्यकता पर्छ । सरकार, राजनीतिक पार्टी, व्यवसायी तथा आमजनताको योगदान यसमा आवश्यक देखिन्छ । 

प्रकाशित मिति: : 2020-09-05 08:01:08

प्रतिकृया दिनुहोस्