कर्फ्यूबीच रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिदै, २१ गते आंशिक रथ तानिने

शनि शाक्य

ललितपुर

ललितपुरमा शुक्रबार बिहान ४ बजेबाट जारी भएको कर्फ्युका कारण महानगर क्षेत्र सुनसान छ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टका अनुसार सर्वसाधारण जनताले कर्फ्यु आदेशको पूर्ण रुपमा पालना गरिरहेका छन्। अप्रिय घटना नहोस् भनेर जारी गरिएको कर्फ्युको पालना गर्नु जनताको दायित्त्व भएकाले अहिलेसम्मम कर्फ्यु जारी गरिएको क्षेत्रमा उल्लंघन भएको सूचना प्राप्त भएको छैन।

बिहीबार मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाको आशंका गर्दै ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरिएको हो ।  

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार बिहानैदेखि कर्फ्यु लगाइएको क्षेत्रको अवस्था सामान्य छ। उनले  बिरामी र सञ्चारकर्मीलाई लाई सहजीकरण गरेको बताए। यसबाहेक आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध छन् । आदेशको उल्लंघन गरेमा कारवाही गर्ने उनले बताए। 

बिहान ४ बजेदेखि जारी कर्फ्यु राति १० बजेसम्म रहने छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ । 

कर्फ्यूबीच रातो मच्छिन्द्रनाथको क्षमापूजा गरिने, २१ गते आंशिक रथ तानिने

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ ।

निशेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडपपछि बिहीबार बसेको जात्रा व्यवस्थापन कार्यदल तथा ज्यापु समाजको मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय गरेको छ।

समाजको निर्णयलाई ललितपुर प्रशासनले सहमति दिएको छ।

बैठकले यसको निम्ति कार्यतालिका पनि सार्वजनिक गरेको छ। यसअनुसार भदौ १९ गते शुक्रबार क्षमापूजा गरिनेछ।

कर्फ्यूकै बीच क्षमापूजा सम्पन्न गरेपछि भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु विधि गरिनेछ। त्यसको भोलिपल्ट भदौ २२ गते भुज्या मनाइनेछ र साइत हेरिनेछ।

सम्भवत: भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ। त्यही साइतमा रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने निर्णय भएको विज्ञप्तिमा छ।

यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ। मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन। त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन। जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई हुँदैन।

बुगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक एवं पूर्व सांसाद चन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा बिहीबार भएको घटनाप्रति खेद पनि व्यक्त गरेको छ।

ने.सं ११४० यंलागा पार
२०७७ भाद्र १८

प्रेस-बिज्ञप्ति
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को कारणले उत्पन्न विषम परिस्थितिमा सरकारले स्थिति अझ भयावह नहोस् भन्नाका लागि जारी गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञाको अवज्ञा गर्दै कुनै आधिकारीक्ता बिना असम्बन्धित समूहबाट बर्षा र सहकालको देवता श्री रातो मच्छिन्द्रनाथको रथ तान्न प्रयास गरिएको र सो दौरान स्थिति अराजक बनेको प्रति ललितपुरका १९ वटा जातिय खलः पुचःहरुको ध्यानाकर्षण भएको र उक्त अवान्छनिय कार्यको घोर भत्र्साना गर्दै खेद व्यक्त गरीएको छ।

विश्वभरी नै कोभिड-१९को कारणले विविध समस्या आईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै श्री रातो मच्छिन्द्रनाथको रथ यात्रालाई सम्पन्न गर्न प्रयासरत रहने क्रममा २०७७ भाद्र ११ गते ज्यापु समाज यलमा रथसंग सम्बन्धित सरोकारवालाहरुको विशेष बैठकमा मलमास अगावै जात्रा सम्पन्न गर्ने र त्यसको लागि गुठि संस्थानको प्रधान कार्यालयबाट विज्ञहरुसंग परामर्श गरी आएको निचोड उपर जातिय खलः पुचःहरु, रकमीहरु लगायत अन्य सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोही अनुसार श्री रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न गर्ने भद्र सहमति भएको सम्बन्धित सबैमा जानकारी गराउँदछु।

सोही सहमति अनुसार द्रुत गतिमा कार्य भईरहेको समयमा अनियन्त्रित हुल आई अव्यवस्थित रुपमा स्थ तान्ने प्रयन्त भएकोमा पुनः एक पटक खेद प्रकट गर्दै श्री रातो मच्छिन्द्रनाथको जात्रालाई सुव्यवस्थित रुपमा सम्पन्न गर्ने कार्यमा सहयोग गरिदिनुहुन समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । 

साथै हाल कोरोना भाइरस (कोभिड १९)को कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी यो साल मात्र सम्बन्धित सबै सहमतिमा श्री रातो मच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने र पछिल्ला वर्षहरुमा विगतका बर्षहरुमा झै जात्रा सुसम्पन्न गर्ने पनि यसै प्रेस

बिज्ञप्ति मार्फत सम्पूर्ण जनसमुदायलाई जानकारी गराउन चाहन्छु ।

(क) २०७७ भाद्र १९ गते क्षमा पुजा गर्ने
(ख) २०७७ भाद्र २१ गते सोढ़ खुट्टेपाटी सम्म रथ तान्ने र छवयलाबु गर्ने
(ग) २०७७ भाद्र २२ गते
भुज्याय् मनाउने र साइत हेर्ने
(घ) साईट प्राप्त भएको दिन (सम्भवतः भाद्र २६ गते) श्री रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराउने
  
चन्द्र महर्जन
संयोजक
बुगद्यः जात्रा व्यवस्थापन कार्यदल
१९ मैं जातिय खलः पुचः

यो पनि हेर्नुहोस्

प्रकाशित मिति: : 2020-09-04 09:52:03

प्रतिकृया दिनुहोस्