दिल्लीस्थित नेपाली दूतावास कसका लागि हो?

राजदूत आचार्यबाट अब पनि नेपालीले आशा गर्ने ठाउँ छ कतै?

करन साउद

(मुम्बई)

विश्वका हरेक राष्ट्रमा रहेर श्रम तथा व्यवसाय गर्ने नेपालीका समस्या बुझ्न सहज होस् भनेर नेपाल सरकारले संसारका अधिकांश मुलुकमा नेपाली दूतावासको स्थापना गरेको हुन्छ। यसले वैदेशिक रोजगारीमा गएका नेपालीका दुःख पीडाबारे कटिबद्ध भएर सक्दो सहयोग तथा उद्वार गर्ने गर्छ।

जसमध्ये भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावास पनि एक हो। रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीमाथि आइपर्ने समस्याको समाधान गर्नुका साथै सहयोग गर्नु नेपाली दूतावासको दायित्व भए पनि दूतावासले आफ्नो कर्तव्य निभाएको देखिदैन।

सन् २०१९ डिसेम्बर अन्तिमबाट चीनदेखि सुरू भएको महामारी रोग कोभिड–१९ ले भारतमा पछिल्लो समय ठूलै समस्या उत्पन्न गराइरहेको छ।

लाखौंको संख्यामा भारतमा रहेका नेपाली पनि कोराेनाबाट अछुतो रहेनन्। दिनप्रतिदिन भारतमा काेराेना संक्रमितको संख्या बढ्दै गएपछि नियन्त्रण तथा रोकथामको लागि भारत सरकारले मार्च २०२० बाट लकडाउन गरेको थियो। उक्त लकडाउनका कारण भारतमा सञ्चालित होटेल, व्यापारीक महल, कम्पनी, बार तथा रेस्टुरेन्ट बन्द भएर थुप्रै नेपाली बेरोजगार बन्नु परेको थियो।

आफूले काम गर्दै आएका ठाउँ बन्द भएको र अर्को कुनै पनि विकल्प नभएकाले अधिकांश नेपालीलाई स्वदेश फर्कनुको विकल्प थिएन। भारतमा तिब्र रूपमा बढिरहेको कोरोनाको डर र त्रासले कयौं नेपाली स्वदेश फर्किन चाहन्थे। त्यसबेला अधिकतम् नेपालीमाथि अनेकौं समस्या आएका थिए।

मार्चदेखि लागेको लकडाउन मे महिनासम्म थप कडा भयो। काम बन्द भएपछि घर फर्कन चाहेर पनि अधिकांशले सकेनन्। खान लगाउनको समस्याले थप पिरोल्यो। यस्तो अवस्थामा भारतमा रहेको एक मात्र अभिभावक नेपाली दूतावाससमक्ष कयौंले हारगुहार गरे तर राजदूतले नसुने न त त्यहाँका कुनै कर्मचारीले चासो नै देखाए।

संकट पर्दा दूतावासको शरणमा परेकालाई राहत र उचित सल्लाह र सुझाव दिनुको सट्टा दूतावास कानमा तेल हालेर बसिरह्यो।

भारतमा रहेका नेपाली नागरिकले मात्र नभएर यहाँ क्रियाशिल विभिन्न संघसंस्था र संगठनले पटकपटक आग्रह र अनुनय विनय गर्नसमेत दूतावास कसैका समस्या दुःख र पीडा सुन्न तयार थिएन।

उक्त समयमा नेपालीमाथि आइपरेका समस्याबारे चुईक्क नबोल्ने र अफ्ठेरो परेको बेला कुनै चासो नदेखाउने दूतावासप्रति सर्वसाधरणले ठूलो गुनासो गरेका थिए।

मे अन्तिम तिर भारत सरकारले राज्यको अनुमति लिएर स्वदेश तथा घर जान पाउने प्रावधान ल्याएपछि लाखौं नेपालीले चर्को भाडा तिरेर स्वदेश फर्किन बाध्य भए। उक्त समयमा पनि दूतावास दिल्लीले घर फर्किने नेपालीलाई अनुमति पत्रबाहेक अरू केहीमा सहयोग गरेन।

कयौं नेपाली घरसम्म पुग्ने भाडा नभएर हारगुहार गरे। खान समस्या भएका तथा भाडा अपुग भएर घर जान नसकेकाले सहयोगको अपिल गरिरहे। तर, दूतावासले कुनै चासो देखाएन बरू भारतमा रहेका विभिन्न संघसंस्था र संगठनलगायत समाजसेवीले उनीहरूलाई ठूलो सहयोग गरे।

सरकारका विभिन्न सूचनाहरू ओहोर–दोहोर गर्ने मासिक अधिकतम तलब बुझ्दै चिल्लो रोडमा महंगो गाडी कुदाउँदै भारतमा हरेक नेपालीका समस्या नबुझ्ने दूतावासको कुनै अर्थ नरहेको प्रष्ट छ।

भारतमा अधिक संख्यामा रहेका नेपाली अहिलेसम्म पनि धेरै समस्यामा छन्। हरेक महिनामा प्रायः भारतमा बस्ने नेपालीमाथि समस्या आएकै हुन्छन्। दूतावासलाई हारगुहार गर्दा कुनै आशालाग्दो जानकारी तथा सूचना नै आउँदैन।

भारतका विभिन्न राज्यमा कार्यरत नेपालीमाथि समय समयमा अधिक घटना घटिरहेका हुन्छन्। तर, दूतावासमा कुनै रेकर्ड छैन। महिनाभरी काम गरेर पूरा तलब नपाउनु भारतीयबाट कुटिनुपिटिनु श्रम शोषणमा पर्नुलगायत केही महिला दिदीबहिनीलाई बन्दी बनाएर राखेका समेत खबरहरु बाहिर आए। तर, दूतावास बेखबर जस्तो बनेर त्यस्ता घटनाप्रतिको कुनै चासो देखाएको देखिदैन।

अतः आफ्ना नागरिकमाथिका समस्या समाधान गर्न नसक्ने र नेपालीमाथि भएका कुनै पनि घटनाको विवरण राख्न नसक्ने तथा समस्या भएर हारगुहार माग्दा पनि आनाकानी नगर्ने नेपाली दूतावासका राजदूतलाई केवल महंगो गाडी चढ्न ठूलो तलब दिएर राख्नुको कुनै अर्थ रहँदैन।

कोरोनाले नेपाली मजदूरहरु भारतका बिभिन्न शहरहरु रोइकराई गरिरहेका थिए। तर, राजदूत निलाम्बर आचार्यको कार्यालय निन्द्रामा थियो। मानौं प्रवासी मजदुरहरुका लागि यो दूतावासको होइन अर्कै दूतावास छ, कतै।

आरोप वा पूर्वाग्रह तपाईँका लागि जरूर छ। किनकि, तपाई भारतमा बसोबास गर्ने नेपाली र नेपाल–भारत कुटनीतिक सम्बन्ध बलियो वा सुमधुर बनाउन उपयोगी होइन?

कोरोना कहरमा आचार्यको कार्यले लाखौं जनताले दुःख पाए। पछिल्लो समय नेपालमा कोरोना त्रासले सीमा नै नाघ्यो। यो सबै दोषका लागि एक मात्र उपयुक्त पात्र – दिल्ली दूतावास भन्दा पटक्कै फरक पदैन। अब लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमिबाट भारतीय अतिक्रमण हटाउने निर्णायक वार्ताका लागि आचार्यले गरेको प्रयास महिनौं भयो। तर, सफलता शून्य। लैनचौरमा बस्ने तपाईकै हैसियत भएकाहरुले नेपालमा प्रधानमन्त्री नै फेर्ने हिम्मत राख्छन्। तपाईँ भने वार्तामा बस्ने वातावरण नै बनाउन सक्नुहुन्न। तपाईको क्षमता यति मात्रै देखेपछि पनि तपाईँको नाम मानिसको दिमागमा जीवन्त रहनेछ।

यो पनि हेर्नुहोस्

 

प्रकाशित मिति: : 2020-08-31 06:46:00

प्रतिकृया दिनुहोस्