क्रियाकलापमा आधारित लेखा प्रणाली : अभ्यस्त नहुँदा तलब खुवाउनसमेत समस्या

बाह्रखरी

काठमाडौँ

रोविन पौडेल

 ६० वर्षीय लेखा प्रणालीलाई क्रियाकलापमा आधारित बनाउने क्रममा सुरुमै समस्या देखिएको छ । लेखा विवरण राख्‍ने तथा भुक्तानी गर्ने सरकारी कार्यालयका कर्मचारी नयाँ प्रणालीमा अभ्यस्त हुन नसक्दा तलब खुवाउनसमेत समस्या देखिएको हो ।

क्रियाकलापमा आधारित लेखाप्रणाली कार्यान्वयन गर्ने क्रममा आवश्यक तीनवटा प्रणालीबीच अन्तक्रिया स्थापित गर्नुपर्ने प्राविधिक समस्याका माझ कर्मचारीको अभ्यस्तता अभावले समस्या देखिएको हो । जसअनुसार केही सरकारी निकायका कर्मचारीले आइतबार दिउँसो ३ बजेसम्म तलब पाएनन् ।

पुरानो व्यवस्थामा भिजेका सरकारी भुक्तानी कार्यालयका कर्मचारीलाई सुरुमा अभिलेख प्रविष्टिमै समस्या आउँदा सरकारी निकायका कार्यालयको डिजिटल पेरोलसमेत ढिलाइ भएको थियो ।

महालेखा नियन्त्रकको कार्यालयले भदौ ३ गते संघीय निकायका लागि तयार पारेको क्रियाकलापमा आधारित लेखा प्रणाली प्रदेशमा समेत कार्यान्वयन भइसकेको छ । कम्प्युटरमा आधारित सरकारी लेखाप्रणाली (सी-गास) भनिने नयाँ लेखा प्रणालीअनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) र प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) ले अख्तियारी दिएको काममा खर्च गर्न र सोहीअनुसार विद्युतीय भुक्तानी गर्न मिल्छ ।

प्रकाशित मिति: : 2020-08-30 18:46:20

प्रतिकृया दिनुहोस्