फराकिलो सडक, साँघुरो फुटपाथ, त्यसैमा हुर्किरहेको रूख। त्यसैको फेदमुनि बित्छन् ३० वर्षीया प्रेमा सार्कीका दिन।
बाँकेको कोहलपुर– ११ को रेडक्रस मार्गको खाली ठाउँमा बसेर उनले ‘जुत्ता सिलाउन’ थालेको पन्ध्र महिना पुगिसकेको छ।
झट्ट हेर्दा मगरजस्तो देखिने अधवैंशे यी महिलाका अगाडि केही थान तुना, धाँगोका नली छरपस्टै राखिएका छन्। उता जुत्ता सिलाउन प्रयोग गरिने सियो, सफा गर्न प्रयोग हुने पोलिस, ब्रस र पछि च्यातिएको झोलाको बीचमा बसेर यताउता हेरिरहेको उनलाई देख्न सकिन्छ– रेडक्रस मार्ग नजिकैको रुखको फेदैमा।
३० वर्षे जवानीमा सडक छेउमा जुत्ता सिलाउनु उनको रहर होइन, आफ्नो र परिवारको पेट पाल्न गर्नु परेको संघर्ष हो।
२ छोराकी आमा उनले जीवन जिउन फुटपाथमा जुत्ता सिलाउनुपर्ला भनेर कहिल्यै कल्पना समेत गरेकी थिइनन्, तर सबैले सोचेजस्तो जिन्दगी कहाँ हुने रहेछ र ?
१५ वर्षको कलिलो उमेर मै विवाह गरेर आमा बनेकी उनी छोराहरूको उज्जवल भविश्यको लागि संघर्षरत छन्। उनमा जति जिम्मेवारी छ, उत्तिकै निडरपना पनि।
प्रेमा भन्छिन्, ‘राम्रो काम गर्न के को लाज? नराम्रो काम गर्नु भएन। जुत्ता सिलाउने त मेरो पुर्खाले गर्दै आएको काम हो। ढुक्कका साथ काम गर्छु म। यसैमा गर्व छ मलाई।’
मिठो खाउला, राम्रो लाउला र सुख र खुसीका साथ बाँचौला भन्ने सपना थिए प्रेमाका पनि। मुगु माइती भएकी उनको बाजुराका साउने सार्कीसँग विवाह भएको थियो।
विवाहपछि सबै ठिकठाक चलिरहेको थियो। जब पहिलो सन्तानको जन्म भयो, त्यसपछि सार्की दम्पतिका संघर्षका दिन शुरू भए। धेरै जग्गाजमिन पनि थिएन। श्रीमानको जागिर पनि छैन। श्रीमानले अर्काको काम गरेर ल्याएको पैसाले कति दिन पुग्थ्यो र? घर खर्चदेखि लत्ताकपडा किन्ने र भान्सासम्म एकैजनाको भर। जति समय बित्दै गयो उनको घरपरिवारमा समस्याहरु बढ्न थाले।
श्रीमान श्रीमती मिलेर दिनरात नभनि दुःख गर्दा समेत मुस्किल भयो परिवार चलाउन।
त्यसपछि श्रीमान गाउँमै जुत्ता सिलाउन थाले। उनी मेलापात। त्यहीँ बेला अर्को छोरा जन्मिए।
अर्मपर्म, ज्याला, मजदुरी सबै गरे। झन् झन् दुःख थपिनु बाहेक अरु प्रगति नै भएन।
आफ्ना विगत सम्झदै उनले बिएल नेपाली सेवासँग भनिन्, ‘जति काम गरे पनि नपुग्ने। जेनतेन गुजारा चलायौं। छोराहरू हुर्काउन पढाउन गाउँमा राम्रो वातावरण भएन।’
आफूले जति दुःख र कष्ट भोगे पनि छोराहरुले दुःख नपाउन र राम्रो शिक्षा आर्जन गराउने उद्देश्य बोकेर २ वर्ष अघि सार्की दम्पति कोहलपुर झरे।
उनीहरू कोहलपुर आएको पनि भदौमा ठ्याक्कै तीन वर्ष भयो। शुरुमा दुवैजनाले ज्यालामजदुरी गरे। दुवै छोरालाई बोर्डिङमा हाले। सबै ठिकै चलिरहेको थियो। यो बीचमा बाजुरामा रहेकी सासुलाई समेत कोहलपुर ल्याइन् प्रेमाले।
७० कटेकी बृद्धा आमालाई सार्की दम्पतिका नै पाल्ने भए। त्यसअघि बाजुरा मै माहिला छोरा बुहारीसँगै बस्दै आएकी थिइन्। आमालाई आफूले दुःख गरेर सुखसयलमा राखौंला भन्ने सोचेका छोरा (प्रेमाका श्रीमान) साउने नै बिरामी परे।
यो २०७४ को दशैँतिरको कुरा हो। साउनेको एक्कासी फोक्सोमा समस्या देखियो। अस्पतालमा जाँच गराउँदा अप्रेसन नै गर्नुपर्ने भयो। उपचारको लागि पाँच लाख लाग्ने भयो। श्रीमानको उपचारको लागि बाजुरामा रहेको पुख्यौली घर बेच्नु परेको उनी बताउँछिन्। घर बेचेर आएको तीन लाख सहित थप दुई लाख सापटी गरिन्। चार महिनामा अप्रेसन सफल पनि भयो।
उपचारपछि श्रीमान त बाँचे तर उनको काँधमा ऋणको भारी थुपरियो। साउनेले पहिलाको जस्तो काम गर्न सक्ने भएनन्। बढी वजन हुने काम गर्न उनी असमर्थ हुँदै गए। छोराहरुको पढाईदेखि दैनिक घर खर्च प्रेमाको काँधमा आइपुग्यो। उनी परिवारमा आइपरेको समस्यादेखि डराइनन्। बरु साहसका साथ सडकमा आइन्।
त्यसपछि मात्रै हो, उनले फुटपाथमा बसेर जुत्ता सिलाउन थालेको। श्रीमानको उपचार गर्दा लागेको ऋण तिर्न आफूले १५ महिना अघि जुत्ता सिलाउन शुरु गरेको उनले बताइन्।
‘पहिलो दिन नै यही ठाउँमा बसेकी थिएँ। एक–दुई दिन त मान्छे कोही पनि आएनन्। पछि विस्तारै महिलाहरू आउन थाले। सबैले राम्रै प्रतिक्रिया दिए। पुरूषहरु आउन थालेको त निकै पछि हो। अहिले पनि यहीँ बसेकी छु,’ संघर्षका शुरुवाती दिन सम्झिदै उनले भनिन्, ‘ग्राहकको हौसलाले थप उर्जा मिल्यो। पछि त ढुक्कले काम गरेँ। कमाइँ पनि राम्रो हुन्थ्यो। केही समयमा आधा ऋण तिरियो। अझै ऋण तिर्न बाँकी रहेको छ।’
तर कोरोना कहरले उनको अविरल यात्रामा ब्रेक लाग्यो। ६ महिनायता उनको व्यापार ठप्प भएको छ। पाँच महिना कोठाभित्रै थुनिनुपर्यो। पहिला कमाएको पैसाले जेनतेन चल्यो। अहिले भने निकै समस्या भएको उनले बताइन्।
साह्रै समस्या भएपछि दुई साता यता फेरि जुत्ता सिलाउने काम शुरु गरेकी छन्। कोरोना कहरले होला ग्राहक आउँदैनन्। व्यापार शून्य छ भने पनि हुन्छ। पहिला दैनिक कम्तिमा १५ सय रुपैयाँ कमाइँ हुन्थ्यो। अहिले दिनमा १ सय रूपैयाँ समेत कमाइँ हुँदैन।
‘आफूले अहिले जति दुःख गरे पनि भविश्यमा छोराहरुले आफूजस्तै दुःख नपाउन भन्ने लक्ष्य छ। बाँचुञ्जेल जुत्ता सिलाउने काम गर्छु,’ प्रेमा भन्छिन्, ‘पछिल्लो समय यहीँ कामले मलाई जीवन दिएको छ। यसैले त मेरो प्राण धानको छ।’