ठकुरी कान्छाको जेठो छोरो 

वाहुन क्षेत्रीको बाहुल्यता भएको गाउँमा एक घर ठकुरीको पनि थियो। दैलो अगाडि बडहरको रुख अनि बायाँ पट्टी बाँस र बेलाउतीका रुखहरु थिए। बेलाउती फल्ने मौसममा सोही बाटो स्कुल जाने केटाकेटीहरु बेलाउती भन्दापनि धेरै रुखमा झुन्डिएका देखिन्थे।

समय अहिले जस्तो सुविधाजनक थिएन। फलेकले बारेको अनि खरले छाएकै भए पनि आटि भएको घर थियो। आटिमा दक्षिण पट्टी साना केटाकेटी नखसुन भनेर केही भाटाले बारीएको थियो। जहाँबाट सुसाउदै बगेको नारायणी नदिको मनमोहक दृश्य नियाल्न पाईन्थ्यो। बर्षात्को समय भने बाछिटो पानीले हान्ने हुदाँ सरसामानहरु यताउता सार्नै हैरान हुन्थ्यो कति सामान जोगिन्थे त कति सामान भिज्थे। तर हिउँदमा भने हावा चल्ने भएकोले गुन्द्री बिच्छाई दिनभरीको थकाइ मेटाउन अनि मिठो निदरीमा पर्न भने निकै सहज हुन्थ्यो। भलै घर सानो थियो तर सपनाहरु ठूला सजिएका थिए। 

उबेलामा जनसंख्याको कमी भएकाले होला मान्यजनहरुले सन्तानले डाडा काँडा ढाकून भनेर आशिष दिन्थे। त्यसैले होला ठकुरीको घरमा चार बहिनी छोरी अनि दुई दाजुभाइ थिए। छोराहरु मध्ये कान्छो चाहि छोरालाई गाउलेहरुले ठकुरी कान्छा भनी बोलाउथ्ये। मलाई लाग्छ त्यतिबेलाको अर्धशिक्षित मान्छे अहिलेको विद्वान जास्तो मूर्ख थिएनन् किनकि जातियगत हिसाबले कान्छा, जेठा, कान्छी, जेठी जस्ता शब्द जोडेर बोलाउदा पनि कसैले कसै माथी बैरभाव राखेको देख्न वा सुन्न पाईन्थेन।

अझ चार बर्ण छ्त्तिस जातको फुलबारी भनेर गर्व गर्दथे। मानिसहरुमा यति सम्म मानवता थियो कि बाहुनको घरको धुरी ठकुरीले छाउथ्यो अनि ठकुरीको घरमा बाहुनले खाना खान्थे। यसरी नै अर्म पर्म सर सापट अइचो पैचो साथ सहयोगले जीवन चलेको थियो। अक्षर सम्म चिनेका ठकुरी कान्छा गाउँमा सबैको प्यारा थिए। मानिसले कि परेर जान्छ कि पढेर जान्छ भने जस्तै गरीबीको कारण स्कुलको चार दिवाल भित्र बसी ज्ञान आर्जन गर्न नसके पनि अभावमा हुर्केको कान्छालाई समय अनि जिन्दगी सबै कुराको ज्ञान र बोध गराएको थियो। आफ्नो कामलाई धर्म मान्न उनको काम प्रतिको लगन र मोहले सबैको मन जितेको थियो। साधारण जिवन बिताई उच्च बिचार राख्ने उनले जिवनमा कसैलाई पनि दुख कष्ट पीडा धोका दिएका छैनन्। 

अक्सर हामीले देखेका छौ जो अरुको दुख पिडालाई हरण गर्छ उसैलाई विभिन्न समस्या आईलाग्छ  । वैवाहिक जीवनकाल एक दशक भन्दा बढी समय उनले सन्तान सुख पाउन सकेन्न। कमजोरी केमा थियो ठम्याउन सकिएको थिएन। प्राचीनकाल देखिनै सन्तान सुख नपाउने दम्पतीमा प्राय नारीलाई दोस लगाउने चलन थियो। त्यसैले कान्छालाई पनि घर परीवार अनि गाउलेहरुले कान्छीमा पो खराबी छ कि दोस्रो घरजम गर  भन्ने गर्थे। तर जिवनलाई नजिकबाट नियालेका कान्छामा भने मनमा विश्वास थियो कुनै दिन कालो बादल फाटेर गरीबको झुपडीमा पनि घाम लाग्छ भनेर। सबैको कुरालाई नजरअन्दाज गर्दै मनमा पिडा भए पनि मुस्कुराउदै जिवन रुप रथ गाडी धकेल्दै थिए।

वाल्यकालमै पितालाई गुमाएका कान्छाको घरमा फेरि आर्को ठुलो बज्रपात पर्यो। बिरामी आमालाई आफ्नो रगत पसीना बेचेर कमायो धनले धैरे समय सम्म बचाउन सकेन्न। आफ्नो ज्ञान् ज्यान र धनले भ्याएको अटुट प्रयासको बाबुजुद पनि कान्छाको परिवारमा मातृशोक पर्यो। प्राकृतिको नियम नै हो केही समय सबैको मनमा पीडाको ज्वारभाट फुट्यो तर गतिशील समय सगै सबै कुरा सामान्य हुँदै गयो। दैबको खेल भनुँ या भाग्यको लिला मातृशोकको एक बर्ष पछि अन्धकारलाई छिचोल्दै कान्छोको घरमा आशाको दियो बल्यो। सायद कसैको कोही नभए उसको भगवान हुन्छन् भन्ने भनाई सार्थक भएको थियो।

सन्तानलाई भगवानको प्रसाद ठान्ने हामी नेपाली, हो कान्छालाई पनि भगवानको प्रसाद स्वरुप पुत्रलाभ भयो। अब भने सबै आशाको मुना मरेको ठकुरी परीवारमा फेरि हाँसो खुशी अनि आशाको पालुवा पलाएको थियो। गाउँले सबै खुशी थिए। गाउँमा खुशी मनाउने छुटै चलन थियो। भोज भतेर खुवाउने अनि आत्मीय साट्ने। गरीबीले पछारे थिचेको कान्छाले पनि जनतन गरेर सबै गाउँलाई खुवाउन नसके पनि छरछिमेक र ईष्टमित्रको मन भने बुझाए। हुन पनि कान्छाको विश्वासले सार्थकता पाएको थियो।

एकातिर सन्तान प्राप्तिको हर्ष त थियो अर्को तर्फ पालनपोषणको चिन्ता पनि थियो। गाउँ घरमा निमेक गरेर बिहान बेलुका छाक टार्ने कान्छाको काधमा सन्तानको जिम्मेवारी सगै विभिन्न कर्तव्य पनि थपिएको थियो। काम कर्तव्यले मान्छेलाई परिपक्क बनाउछ भन्ने विश्वास बोकेका कान्छाले अब आफ्नो महेनतलाई झन् गति दिदै गए। दैवले नि ‘तँ आट म पुर्याउछ’ु भन्छ। कान्छाको आँट र हिम्मतले परीवारमा अझ खुशी थपिदै थियो।

हिजोसम्म टुकीमा बस्ने परीवार आज बिजुली बत्तीमा बस्दा दङ्ग थिए परिवार मात्रै नभई घरका मुसाहरु समेत दङ्गदास थिए। जब बिजुली बत्तीको तेज प्रकाश घरमा पथ्र्यो तब घरको नाल बाट मुसाहरुले बाहिर चिहाउने गर्थे। यस्तो मनोरञ्जनात्मक दृश्य कान्छाले आफ्नो छोरालाई देखाउदै भन्थे, बाबू “सफा र उज्यालो चिज सबैलाई मन पर्छ त्यसैले तिमीले आफ्नो मन सधै सफा र उज्यालो राख्नु पर्छ है।” छोरा पनि बावाको कुराको गहिराइलाई नबुझे पनि बुवाको सम्मानमा हस् भन्दै टाउको हालाउदै बुवाको अनुहारमा खुसी खोज्थ्यो। गतिशील समय सगै सबै कुरा बगिरहेको थियो। बिस्तारै ठकुरी परिवारमा फेरि एक पुत्र अनि एक पुत्रीको आगमन भयो। परिवारले ठुलो रुप लिए सगै विभिन्न आभास र समस्याको पनि आकार बढेको थियो।

सन्तानको जिम्मेवारीले च्यापेको कान्छालाई अब बिस्तारै उमेरले पनि च्याप्दै थियो। तर पनि पहाडको हावापानीमा जन्मेको कान्छा शहरिया भन्दा निकै बुलन्द थिए। आफ्नो सन्तानको राजा थिए। आमा बुवाको मन न हो आफ्नो सन्ततीलाई हर खुशी दिउँ भन्ने चाहना हुन्छ। तर कतिपय चाहना चाहनामै सिमित हुन्छ। अझ गरीबको झुपडीमा त धेरै सपना र चाहनाले देह त्याग गरेको हुन्छ। हिम्मतीला कान्छाको भाग्य भावीले लेखेको भए पनि भविष्य चाहिँ आफुले बनाउन सकिन्छ भन्दै आफ्नो सन्ततीलाई हौसला दिदै संस्कार सिकाउँथे।

सायद सानै देखि अभावमा अनि गरीबीले थिचेर हुर्केका सन्तान पनि अब स्वार्थी संसार र समयलाई चिन्ने भईसकेका थिए। त्यसैले बाबा आमाको हरेक पिडालाई आत्मसात राखी अगाडि बढेका थिए। आमा बुवाको हर दुखको मुल्य चुकाउने अठोट उनीहरुमा थियो। 

गाउँमा विकास मुहानहरु फुट्न थालेका थिए। बिस्तारै रुप फेरिदैं थियो। कान्छा आफू शिक्षाको ज्योतिबाट बञ्चित भएपनि आफ्नो सन्ततिलाई भने आफ्नो सास चलुन्जेल सम्म भएपनि रगत पसिना एक गरी ज्ञानको ज्योति देखाउन अठोट लिएका थिए। त्यसैले आफ्नो जेठो छोरोलाई बिद्यालय भर्ना गरीदिए। दिन भरी साहुको मेलापात गरेर घर फर्किएर साझ विहान छोरोलाई कपुरी क खरायो ख सिकाउथे। कहिले काहीँ त आफू नै खरायो बनेर छोराछोरीलाई हसाउँथे। बुवाले भनेको हरेक शब्दलाई छोराले तोते बोलीमा “क पुली क” भन्दै दोहोराउदा कान्छा खुशीले गदगद हुँदै आफ्नो श्रीमतीलाई सुनाउदै “हेर त ठुले ले क भन्दैछ।” भनेर देखाउथे। 

आमाको मन न हो छोरोको बोली सुन्नासाथ आँखा टिलपिल हुन्थ्यो। आफ्नो सन्तानमा आफ्नो भविष्य अनि सुख खोजेकी आमा कुहिरो मन्डल धुवाँमा आटो पकाउथिन् र “अब खाना खाने अनि क क गर्नी ल।” भन्दै खाना खान बोलाउथिन्। सबै जना खाना खानको लागि बसिरहँदा कान्छाको कान्छो छोराले “आटो नखाने माम खाने म त।” भन्दै कनकन गर्दा कान्छाको आँखा भरी आँसु हुन्थे तर पनि सम्हालिदै “भोलि चिची माम खाने आज सुनको माम खाने ल बाबु।” भन्दै आफूले चपाएर सेतो भात जस्तै भएको आटो खुवाई दिन्थे।

हुन पनि अमिलो मोही संग मुछिएका ती मकैका चामल थिचिए पछि खिर जस्तै मिठा हुन्थे। यसरी कोशी भुईमा कोही चुलोको छेउमा कोही काखमा बसी खाना खाईसके पछि कान्छाले आफ्ना बाबु नानीहरुलाई फेरि कखरा सिकाउथे। छोराछोरीहरु बाबाको काखमै ‘क क’ भन्दा भन्दै निदाउथे। कान्छा खुशी हुँदै “आज धेरै पढ्यो जेठोले” भन्दै नानी बाबुलाई कोही भुइँमा त कोहीलाई झलुङ्गोमा सुताई आफू पनि भुइँमा पल्टिन्थे।

बिहान भालेको डाको संगै उठेर आफ्नो नित्यकर्म सकी साहुको काममा लाग्थे। आज भने कान्छालाई भाग्यले साथ दिएको भन्नू पर्छ आज अरनिको नाममा उनलाई साहुले चिचीमाम परेको छ। खानाको लागि मुख आ मात्रै के गरेका थिए कान्छोले म आटो नखाने भनेको कुरा याद आउँछ र खानालाई पोको पारी छोराछोरीको लागि साँची राख्छन्। सबै काम र मेलो सकेर घर फर्कदा झमक्क साँझ परिसकेको हुन्छ। बाबाको बाटो हेरेर बसेका केटाकेटीहरु निदाई सकेका हुन्छन्। कान्छाले अरनिको पोको श्रीमतीको हातमा थमाउदै “दाउरी ल त यो केटा केटिलाई दे कान्छो छोरेले साह्रै रहर गरेर मेरो भागको खाजा ल्याईदिएको छु।” श्रीमती खुसी हुँदै “हस हुन्छ हजुर नि हलो जुवा थन्काएर हात गोडा धोई भुजा लिन आईस्यो।” भन्दै भित्र पसेर सबै नानी बाबुलाई उठाउछिन। सबै उठेर खाना खान बस्दा कान्छो छोरो भने निन्द्रैमा खान खाइरहेको हुन्छ। निन्द्रामा कुनै बेला कान्छो छोराले थाल बाहिरबाट माटो कोपारी मुखमा हात लग्दा कान्छो हास्दै “कान्छो छोरालाई खाना खुवा त” भन्दै श्रीमतीलाई इसारा गर्छन्। 

यसरी कहिले आटो कहिले माटो खाएकै भरमा छोराछोरी अब त बुझ्ने अनि कुद्ने भइसकेका हुन्छन्। कहिले काहीँ जेठो छोरोले बोराको झोला बोकेर कट्टु लगाई स्कुल जाँदा साथीहरुले बोराको झोला भनी जिस्काउछन्। म स्कुल जान्न भन्दा कान्छाले छोरालाई सम्झाउदै “बोरा होइन नि बाबू यो त झोला नै हो बोरा त उ हेर त कती ठूलो  हुन्छ। तिम्रो साथीहरूले नचिनेर होला। हुन्छ अब तिमी ठूलो भयौ अब झोलामा होइन हातै बोकेर जाउ न हस् अनि दशैमा नयाँ झोला किन्ने नि हस्।” भन्दै मनाउँछन् तर बाध्यता र विवस्तामा दशै आउँछ झोला आउदैन केबल बहाना मात्रै आउँछ।

गाउँमा बिस्तारै अधिया गर्ने चलन आउँछ अब कान्छोले पनि साहुकै खेतमा भएपनि धान फलाई घरमा खाना खाने माहोल मिलाई सकेको हुन्छ। छोराछोरी पनि सबै ठूलो ठूलो कक्षामा पढ्ने भइसकेका हुन्छन्। कान्छाको जिन्दगीमा खुशीका पालुवाले अब बिरुवाको रुप लिदै गरेको हुन्छ। गरीवीलाई नजिक बाट नियालेर हुर्किएका छोराछोरीले सबै कुरा बुझेका हुन्छन। उनीहरुले कहिले पनि आफ्नो अभाव आफ्नो बाबा आमालाई महसुस गर्द दिदैन्न। 

एक दिन पल्लो गाउका एक जना बाजे ठकुरी कान्छाको घर खोज्दै आइपुग्छन। अनि बाटोमा ठकुरी कान्छााको घर कुन हो भनी ठकुरी कान्छको जेठो छोरालाई सोध्छन्। अनि उसले “किन र बाजे केहि काम थियो कि” भन्दै बाजेलाई प्रश्न गर्छ। बाजेले “हो बाबू उनले बिजुलीको काम जानेका छन् रे मेरो घरमा बात्ती नबलेको धेरै भयो बुढी बिरामी छिन उनलाई ओखती मुलो खुवाउन नि मेरो आखाले ठम्याउन गाह्रो भयो त्यसैले बत्ती बनाईदिन्थे कि भनेर आएको।” अनि ठकुरी कान्छाको जेठो छोरो हास्दै “घर नै खोज्नु भयो भने उ त्यो हो अनि उहाँको छोरो चाहिँ म हो” भन्छ।

बाजेले घर त सानो रैछ नि बाबू अनि को को बस्छौ भन्छ्न। अनि उसले भन्छ “हो बाजे घर सानो नै छ घर ठूलो भएर छिमेकीले मात्रै चिन्छ्न तर मन ठूलो भए संसारले चिन्छन्। जस्तै कि हजुरले ठकुरी कान्छालाई चिन्नु भएको छ। बाजेले “हो बाबू हो” भनी टाउको हल्लाउँदै सहमति जनाउँछन्। अनि दुबै जाना कान्छाको घर तिर लाग्छन्। घर पुगेपछि “बाजे हजुर पानी पिउँदै गर्नुहोस म काम गर्ने औजार लिएर आउछु अनि संगै जाम्ला।” भनेर पानी दिई औजार लिन जान्छ। केही बेर पछि “ल बाजे अब लागौ” भन्दै दुबै जना बाजेको घर तर्फ लाग्छ्न। बाटोमा हिड्दै गर्दा ठकुरी कान्छाको जेठो छोरोलाई प्रश्न गर्छ।

अनि बाजेको घरमा को को हुनुहुन्छ ? बाजेले लामो सुसकेरा हाल्दै “घरमा त म र बुढी मात्रै हो तर वरपर छोरा नाति छ्न। छुट्टीएर बसेका अनि छोराहरु बिदेशी गएर आएका हुन्। नातिहरु साईन्स विषय पढ्छ्न। काम त नाति केटोले नि जानेको छ अलि मेसो पाएन। बल्ब गायो बाजे ७० पर्छ भनेर १ सय रुपैया लगेको बत्ती बलेन। खोइ बल्ब नै कस्तो ल्यायो।” गनथन गर्दा गर्दै उनीहरुको बाजेको घर पुग्छ्न। घरमा बुढी बज्यै कुनामा बसेर खोकी रहेकी हुन्छिन। बाजेले “ल आज ठकुरी कान्छको जेठो छोरालाई ल्याएको छु। अब बत्ती बन्छ राती पंखा पनि चल्छ र आरामले सुत्लिस् अलि उता सर।” भन्छ्न। केही बेरको मेहेनत पछि घरको बिजुलीको समस्याको समाधान हुन्छ। बाजे खुशी हुदैं गोजी बाट २० रुपैयाँ निकाली “ल बाबू चिया खाउ।” भनी दिन्छन्।

पसिनाले भिजेको केटोले त्यसैमा ३० रुपैयाँ थपिदिएर “होइन बाजे बज्यैलाई एक लिटर भए पनि दुध किनेर खुवाउनुस भनी बिन्ती गर्दै हातमा थमाई दिन्छ। बाजे आँखा भरी आँसु पर्दै ”बाबुको भलो होस्” भनी आशिर्वाद दिन्छ्न। केटोले मनमा कुरा खेलाउदै त्यहाँबाट निस्किन्छ साइन्स पढेको नातिले बाजेले भत्ता बुझी ल्याएको पैसामा २५ रुपैंया पर्ने बल्ब को मुल्य ७० पर्छ भनी १०० किन लिएको होला? बल्ब त नातिले हाल्दिदा नी हुन्थ्यो त। खैर लेटेराको देश नातिले बाजे नि छोडेन।” भन्दै घर पुग्छ।

गाउँ घरमा रेडियो टिभी बिग्रिदा पनि मान्छेले “ठकुरी कान्छाको जेठो छोरोले गर्छ नि।” भन्दै खोज्दै आउँदा उसले आफूलाई आफ्नो नामले भन्दा बुवाको नामले चिनाउन पाउँदा गर्व गथ्र्यो र भन्थ्यो “काम छोराको होस सान बावाको अनि मज्जा आउँछ जिन्दगीमा”। 

बिस्तारै गाउँमा बिकासले अग्रता लियो अब त गाउँमा हातमा मोबाइल नहुने कोही भएन। एक दिन एक जाना युवतीलाई हातमा ‘एल जी’ कम्पनीको ट्याब लिएर ठकुरी कान्छाको जेठो छोरो लाई खोज्दै आइन् अनि भनिन् “कता छन् हजुरको छोरो” ? बुवाले हास्दै भन्नु भयो “कता जान्छ उ त्यहाँ ईनारको छेउमा केटा केटी बटुलेर खेल्दै छ।” युवती सरासर कान्छाको जेठो छोरो भएको ठाउँमा पुग्छिन र भन्छिन “दाई यो ट्याब हेर्दिनु न बिदेशबाट ल्याएको हो बजारको सबै पसलमा देखाउँदा बन्दैन भन्छ। हजुरले जान्नु भएको रे हेर्दिनु न प्लिज।” युवतीको कुरा सुने पछि “मैले जानेको छौन तर म कोसिस गर्छु  १÷२ दिन समय लाग्छ। के गर्नु हुन्छ छोडेर जानू हुन्छ कि लानु हुन्छ ?” हस हेर्नुन ७÷८  दिन नै राखे पनि केही हुन्न। युवती ट्याब हातामा थमाएर आफ्नो गन्तव्य तिर लाग्छिन। केटा ट्याब लिएर नजिकै को साईबर मा जान्छ र समस्याको समाधान खोज्न तर्फ लाग्छ।

साईबरमा बसेर खोज गरे पछि केटाले समस्याको समाधान गर्न सफल हुन्छ र खुशी हुँदै युवतीको घर छेउको उसको साथिलाई ट्याब दिदै “यो ट्याब उसको हो दे है।” भन्दै घर फर्किन्छ। भोलिपल्ट युवती फेरि ठकुरी कान्छाको घर आएर “थ्याक्यू सो मच कति लाग्यो ?” भन्छिन। केटाले हाँस्दै “साईबरमा बसेर नेट चलाएको १ सय २० रुपैंया” भन्छ। युवतीले “यति बनाईदिनु भयो यो पाँच सय” राख्नुस। अनि हजुरको नाम के हो नि दाइ ?” भनेर सोध्छिन्।  केटो हास्दै “ल बिर्सेको म ठकुरी कान्छको जेठो छोरो” भन्छ। अनि “दाईलाइ जे होस धन्यवाद” भन्दै युवती आफ्नो घर तर्फ लाग्छिन। केटो हातमा केही मिठाइ र बिस्कुट बोकेर आफ्नो केटाकेटी साथीहरूसंग खेल्न ईनारको छेउतिर लाग्छ।

अब गाउँ गाउँ रहेन शहर जस्तै भइसकेको थियो। सायद सवारी साधन र कम्प्यूटर नभएको घर बिरलै भेटिन्थो। आफ्नो रुचि चाहना अनुरुप ठकुरी कान्छाको जेठो छोराले पनि कम्प्यूटर र ल्यापटप संग मित्रता गाँसेको थियो। भलै कुनै राम्रो ठाउँमा गएर काम सिक्ने मौका अनि पारिवारिक अवस्था थिएन तर पनि गाउँ घरमा सबैको समस्याको हल गर्ने कोसिस गरिनै रहन्थ्यो। बुवा जस्तै सोच भएको सादा जिबन उच्च बिचार भएको उसलाई गाउमा बच्चा देखि बुढा सम्मले रुचाउँथे हुन पनि बाच्चा बुढाबुढीसंग खेल्न मन पराउथ्यो। गाउँमा सबैले आफ्नो छोराछोरीलाई “ठकुरी कान्छाको छोरा जस्तै हुनुपर्छ” भनी उदाहरण दिन्थे। एकदिन कुनै बंैकको ल्यापटपमा समस्या आयो। हाकिमले पासवर्ड के राखे भन्ने भुलेछन्।

अनि गाउँमा यताउता सोधपुछ गरेछन् कोही मान्छे छ र ल्यापटप हेर्ने ? अनि तिनै बाजेले भनेछन् “ठकुरी कान्छाको जेठो छोरोकोमा जानु उसले गरे गर्छ नत्र अरुले गर्दैन।” हाकिम साहेब घर खोज्दै आई पुगेछन्। घरमा सोधपुछ भएछ कता छन् हजुरको बाबु ? आमाले भन्नू भएछ “मामा घर हजुरमुमाको कोठाको पंखा बिग्रिएको छ रे भनेर फोन आउनसाथ बनाउन गएको हिजै हो आज आउछ होला। उसको मोबाईलमा फोन गर्नु न।” हाकिम साहेबले बहिनी संग नम्बर मगेर कल गर्छन्। फोनाम घन्टी बज्छ। उठाउदै भन्यो “हेल्लो हजुर नमस्कार कहाँबाट को बोल्नु भयो।”

हाकिमले भने “हजुर नमस्कार म  बंैकको हाकिम हजुरको सहयोग चहिएको थियो। मेरो ल्यापटपमा समस्या आयो। कति बेला आउनु हुन्छ मेरो घर यहाँ निर हो आउनुस् न भनी ठेगाना दिएर फोन राखे।” ३÷४ घन्टा पछि ठकुरी कान्छको जेठो छोरो हाकिम साहेब ले दिएको ठेगानामा पुग्छ्न र “नमस्कार हजुरकै हो ल्यापटप हेर्नुपर्ने ?” भन्छ। हाकिम छक्क परेर तलदेखि माथी सम्म हेर्छन् र भन्छन्। “हजुर हो ठकुरी कान्छको जेठो छोरो?” भनी प्रश्न गर्छन्। केटो मुस्कुराउदै “हजुर मै हो” भन्छ। डेढ दुई घन्टाको मेहनत पछि हाकिमको सबै डाटा सेभ हुने गरी काम सफल हुन्छ। अनि केटोले हाकिम तिर हेर्दै “ल सर अब हजुरले आफ्नो काम गर्न सक्नु हुन्छ।” भन्दै बिदा माग्छ। हाकिम तनाब मुक्त भइ खुशीहुँदै भन्छ “धन्न बर्बाद हुन बाट बचाउनु भयो।

अनि सर हजुरको फी कति ?” केटो हाँस्दै भन्छ “म अझै आफ्नो फी तोक्ने हैसियतमा पुगेको छैन सर धेरै सिक्नु अनि गर्नु बाकी छ।” हाकिमले फेरि भन्छ “तर पनि सर्भिस चार्ज त भन्नू।” केटोले मुस्कुराउँदै भन्छ “कुनै गरीब बाउको ऋणमा १ महिना को ब्याज नलिनुहोलो नै मेरो फी हुनेछ। हाकिम भावुक हुँदै भन्छन “सर एउटा कुरा भनँु ? हजुरले यतिका काम जान्नु भाछ तर लुगा पनि राम्रो लाउनु भएको छैन अनि चप्पलमा हिड्नु हुन्छ। किन सर ?  केटोले भन्छ “जुत्ता लगाएर म हिड्न जान्दिन काम गर्न अफिसको ड्रेस होइन लगन चहिन्छ। हाकिम हास्दै भन्छ “सकिएन बा हजुरलाई। उम्म चिया कफि लिउन त।” केटो भन्छ “हुन्छ कफि होइन चिया चाहिँ लिउ। चियापान पछि केटो आफ्नो घर तर्फ चप्पल पट्काउदै लाग्छ हाकिम पाईलन गन्दै बस्छ्न। आज भोलि पनि त्यो गाउमा ठकुरी कान्छाको जेठो छोरोको नाम ठकुरी कान्छको जेठो छोरो नै छ।

प्रकाशित मिति: : 2020-08-29 19:54:00

प्रतिकृया दिनुहोस्