सुरक्षित हुनुपर्ने अस्पतालमै कोरोना संक्रमणको उच्च जोखिम

तीर्थराज बस्नेत

उपत्यका लगायत मुलुकभरका सरकारी र निजी अस्पतालले कोरोना रोकथामका लागि आवश्यक तयारी नगर्दा अस्पतालमा परीक्षण गर्न जाने, बिरामी कुरुवा र अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्न थालेको छ। जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे सरकारले कोभिड र ननकोभिडको उपचार एकै अस्पतालमा गर्ने नीति लिँदा अस्पतालबाट संक्रमणको जोखिम बढी हुन थालेको बताउँछन्।  ‘अस्पतालमा जोखिम छ। सोही कारण अहिले हरेक अस्पताल सुनसान छन्। बरु मानिसले मेडिकलबाट औषधि किनेर खाइरहेका छन्। तर, अस्पताल गए कोरोना संक्रमण हुन्छ कि भनेर ठराएका छन्,’ डा. पाण्डेले भने, ‘कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने अस्पताल छुट्टा–छुट्टै बनाएको भए यो समस्या आउँदैन थियो। अब कोरोना फ्रि अस्पताल भनेर विश्वास दिलाउन सक्नुपर्छ।’ मुलुककै ठूलो त्रिवि शिक्षण अस्पतालले कोभिड र ननकोभिड बिरामीलाई फरक–फरक भवनमा उपचार गरिरहेको छ। ‘कोभिडका बिरामीका लागि छुट्टै भवनको व्यवस्था गरेका छौँ। कोरोना संक्रमितको उपचारका लागि उनीहरुलाई गणेशमान सिंह भवनमा राख्ने गरेका छौँ। अन्य रोगका बिरामीका लागि पहिला जस्तै विभिन्न भवनमा उपचार भइरहेको छ,’ शिक्षण अस्पतालका कोभिड संयोजन समितिका संयोजक डा. सन्तकुमार दासले काठमाडौं प्रेससँग भने, ‘अहिले कोरोनाको जोखिम बढेको हुँदा सावधानीका लागि प्रत्येक २÷३ घण्टामा सबै वार्डहरुलाई क्लोरिन झोलले सफा गर्ने गरेका छौँ।’

प्रकाशित मिति: : 2020-08-26 16:10:19

प्रतिकृया दिनुहोस्