अभिनेता सुशान्त सिंह राजपूतलाई बिष सेवन गराएर मारेको आरोप भारतीय जनता पार्टी (बिजेपी) का नेता सुब्रमण्यम स्वामीले लगाएका छन्।सुशान्तको आत्महत्यालाई पहिलेदेखि नै हत्याको दावी गर्दै आएका स्वामीले सबै कुरा थाहा पाएर उनको अटोप्सी ढिलो गरिएको जानकारी दिए।
उनले विष पेटमा घुलोस् र रिपोर्टमा देखा नपरोस् भनेर जानीबुझी अटोप्सी ढिलो गरिएको दावी गरे। सुशान्तको आत्महत्या प्रकरणमा स्वामीले बेलाबेलामा विभिन्न तथ्य सार्वजनिक गरिरहेका छन्।
उनले सोमबार मात्र सुशान्तको हत्यामा दुबई कनेक्सन रहेको बताएका थिए। उनले सोमबार गरेको दोस्रो ट्वीटमा भनेका छन्, ‘जसरी एम्सको डाक्टरहरूले सुनन्दा पुस्करको हत्यामा पेटमा विष भेटाएका थिए, यस्तो श्रीदेवी र सुशान्तको मुद्धामा भएन।’ उनले लेखेका छन्, ‘सुशान्तले निधनको दिन दुबईका ड्रग डिलर अयाश खानसँग भेटेका थिए? किन?’
सुनन्दा पुस्करको मुद्धालाई पनि पहिले प्रहरीले आत्महत्या भनेको थियो तर सीबीआई छानवीन पछि त्यो हत्या सावित भयो। स्वामीले यो मुद्धामा पनि आवाज उठाएका थिए।
यसअघि स्वामीले सुशान्तको प्रेमिका रिया चक्रवर्ती र महेश भट्टको कुराकानीलाई लिएर पनि प्रतिक्रिया दिएका थिए। उनले रियाले दिएको बयान र महेश भट्टसँगको वाट्सऐप च्याटको कुरा नमिलेको भन्दै दुबैलाई पक्राउ गरेर सोधपुछ गर्नुपर्ने बताएका छन्।
स्वामीले सुशान्तको निधनलाई बलिउडको ‘वाटरगेट’ र ‘वाटर लू’ काण्डसँग तुलना गरेका छन्। उनले बलिउड, मुम्बई पुलिस र महाराष्ट्र सरकार यस काण्डमा समावेश रहेको आरोप लगाएका थिए। ७० को दशकमा अमेरिकामा भएको वाटरगेट काण्डमा राष्ट्रपति रिचर्ड निक्सनले राजिनामा दिनुपरेको थियो।