सुशान्तको निधन बिहान भएको अस्पतालको अर्को रिपोर्ट सार्वजनिक

युवा अभिनेता सुशान्त सिंह राजपूतको निधन १४ जुनको बिहान ११ देखि १२ बजेभित्र हुन सक्ने अस्पतालले बताएको छ। 

मुम्बईको कुपर अस्पतालले सोमबार यसको जानकारी दिँदै पोस्टमर्टम भएको समयभन्दा १० देखि १२ घण्टा अगाडि निधन भएको स्पष्ट पारेको छ।

यसअघि अस्पतालले सार्वजनिक गरेको सात पन्ना लामो रिपोर्टमा निधनको समय उल्लेख भएको थिएन। यसपछि सुशान्तका बुवाका वकिलले पोस्टमर्टम रिपोर्टको विषयमा प्रश्न उठाएका थिए। 

मुम्बई प्रहरीले सुशान्तको निधनको मुद्धामा छानवीन गर्नुअघि नै आत्महत्या घोषणा गरेको थियो। सुशान्तको मुद्धामा मुम्बई प्रहरीको भूमिकालाई लिएर प्रश्न उठेपछि बिहार सरकारको आग्रहमा सीबीआईले छानवीन गरिरहेको छ। 

सीबीआईले सुशान्तको बुवाका वकिलको भनाईप्रति चासो देखाउँदै अस्पतालका डाक्टरहरूसँग सोमबार मात्र सोधपुछ गरेको थियो। 

यसपछि अस्पतालले सप्लिमेन्ट्री पोस्टमर्टम रिपोर्ट सार्वजनिक गर्दै सुशान्तको निधन ११ देखि १२ बजेको बीचमा भएको बताएको हो। 

सुशान्तको पोस्टमर्टम र डाक्टरको भूमिकालाई लिएर पनि प्रश्न उठेको छ। साँझ ६ बजे बन्द हुने अटोप्सी डिपार्टमेन्ट कसरी त्यो दिन खुला भयो? र राती ११ बजे कसरी पोस्टमर्डम गरियो भन्दै सीबीआईको टिमले प्रश्न गरेका थिए। 

अस्पतालले पनि झुण्डिएर मरेको हुन सक्ने रिपोर्ट बनाएको थियो। कुपर अस्पताल पोस्टमर्डमको लागि पहिलेदेखि बदनाम मानिन्छ। 

यसअघि बलिउडमा भएको सबै हाइप्रोफाइल निधनको पोस्टमर्डम यही अस्पतालमा भएको थियो र सबैको रिपोर्ट आत्महत्याबाट भएको बनाइएको थियो। 

६ दिनअघि सुशान्तको मेनेजर दिसा साल्यानको १४ तल्लाबाट खसेर मृत्यु हुँदा पनि आत्महत्याको रिपोर्ट तयार पारिएको थियो। त्यतिबेला दिसाको पहिले कोरोना टेस्ट भएको थियो भने दुई दिनपछि पोस्टमर्डम गरिएको थियो। तर, सुशान्तको मुद्धामा कोरोना टेस्ट नै गरिएन। यसप्रति पनि प्रश्न उठेको छ।

प्रकाशित मिति: : 2020-08-24 16:56:24

प्रतिकृया दिनुहोस्